नेपाली कांग्रेसले २००७ सालको क्रान्तिदेखि प्रजातन्त्रको पुनःस्थापनासम्म र तत्पश्चात् प्रजातन्त्रलाई सुदृढ गराउँदै आर्थिक विकासमा मुलुकलाई अग्रसर गराउने कार्यमा जुन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ, यसमा हजारौं, लाखौं कार्यकर्ताको बलिदानी, त्यागले अग्रणी भूमिका खेलेको छ ।
नेपाली राजनीति अहिले जुत्ता अर्थात् बुट पोलिसको सन्दर्भले तातिएको छ । देशको राजधानी काठमाडौमात्र होइन सम्पूर्ण देशभरि अहिले यो सन्दर्भ चर्चाको विषय बनेको छ । सन्दर्भ हो, नेपाली कांग्रेसका केही नेताले सार्वजनिकरुपमा जुत्ता पोलिस गरे । मंगलबार अपरान्ह राजधानीको नयाँ बानेश्वरमा अचानक एक दृश्य देखियो र निकै लामो समयसम्म निरन्तरता प्राप्त गर्दै पछिसम्म त्यो दृश्य स्थिर भइरह्यो । नेपाली कांग्रेसका युवा भनेर दावी गर्ने केन्द्रिय नेताहरु चन्द्र भण्डारी र धनराज गुरुगंलगायतका युवा समूहले सार्वजनिक स्थलमा सार्वजनिक रुपमा जुत्ता पोलिस गरेका थिए । यो एक घटना नै थियो जसको पूर्वानुमान गरिएको थिएन । अनियोजित र अनपेक्षित तर महत्वपूर्ण तथा चर्चित व्यक्तिहरु सम्मिलित भएकाले होला त्यस घट्नामा सम्भवतः समाचार मूल्य निहीत रहने आधारमा यो विषयलाई मिडियाले पनि निकै कभरेज गर्यो । मंगलबार अनलाइन र सामाजिक सञ्जालले त निरन्तर रुपमा यसलाई महत्व दिँदै यो घट्नासँग जोडिएका पलपलको गतिविधि सार्वजनिक गरे । अहिले वहसको विषय बनेको छ, जुत्ता पोलिसको कार्य ठीक थियो कि थिएन ? यो कस्तो अभियान हो ? अभियानमा संलग्नहरुले यसलाई प्रतिकात्मकरुपमा प्रस्तुत् गर्ने प्रयास गरेका छन् । उनको भनाई छ, राजनीतिमा देखिएको विकृतिलाई अन्त्य गरिनुपर्ने आग्रह गर्दै प्रतिकात्मकरुपमा यो अभियान सञ्चालन गरिएको हो । यस अभियानमा संलग्नहरुका अनुसार, मंगलबारको जुत्ता पोलिसबाट तीस हजार रुपैया नगद संकलन गरिएको थियो । यो रकम कहाँ कसरी खर्च गरिने भन्नेबारे आयोजकले स्पष्ट गरेका छैनन् । तर आशा गरौं जुन विकृति अन्त्यका लागि यो अभियान सञ्चालन गरिएको हो सम्भवतः यो रकम त्यसै अभियानको निरन्तरतामा खर्चिइने छ । सांकेतिकरुपमा जुत्ता पोलिसको अभियान स्वयंममा नयाँ होइन । २०३० को दशकमा नेपालमै पनि यो अभियान साहित्यको सन्दर्भमा सञ्चालन गरिएको थियो । त्यसवखतको अभियानको सारको विश्लेषण गर्ने हो भने त्यो अभियान पनि राजनीतिकै सन्दर्भमा सञ्चालन गरिएको थियो तर साहित्यलाई माध्यम बनाइएको थियो । त्यसवखत प्रतिवन्धित अवस्था थियो । राजनीतिक दललाई खुलेआम राजनीतिक गतिविधि सञ्चालन गर्न र जनताका बीच गएर संगठन गर्ने स्वतन्त्रता थिएन । यही कारण त्यसवेला यो अभियानलाई निकै सान्दर्भिक मानिएको थियो र अभियानलाई प्रजातन्त्र स्थापनाको संघर्षसँग जोडेर हेरिएको थियो । अहिले एकथरिले प्रश्न गरिरहेका छन्, आजको अवस्थामा यो अभियान किन हठात सञ्चालन गर्नु आवश्यक ठानियो ? अहिले राजनीति अलग धारमा निर्देशित छ । देशमा लोकतन्त्र छ । राजतन्त्र छैन, गणतन्त्र छ । एकात्मक शासन व्यवस्था छैन, संघीय शासन व्यवस्था छ । अर्कोथरिको मत छ, लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता सबैलाई छ । शीर्ष नेतादेखि सामान्य जनतालाई आफ्नो धारणा व्यक्त गर्ने अधिकार छ । भण्डारी र गुरुगंलगायतका नेताले पनि त्यही अधिकार प्रयोग गर्दै राजनीतिक विकृति अन्त्यको अभियानलाई श्वर प्रदान गर्ने प्रयत्न गरेका हुन् भने त्यसलाई अन्यथा किन मान्ने ? अभियानकर्ताहरुले अभियानमार्फत् जुत्ता सफा गरेजस्तै सांकेतिकरुपमा राजनीति पनि सफा गर्नुपर्ने आग्ह गरेका छन् । अभियानकर्ताहरु कांग्रेससँग आवद्ध भएको हुँदा यो अभियान कांग्रेसको शुद्धीकरणसँग पनि जोडिएको छ भन्दा अस्वाभाविक हुँदैन । तर सूक्ष्मरुपमा विश्लेषण गर्ने हो भने यो अभियान कुनै न कुनैरुपमा सबैजसो पार्टीसँग सम्बन्धित छ भन्ने निष्कर्ष निकाल्दा कुनै फरक नपर्ला । कुनै पनि पार्टीको जीवन्तता, गतिशीलता त्यस पार्टीले अवलम्बन गरेको सिद्धान्त एवं विचारमा निर्भर गर्दछ । जनसमर्थनविनाको पार्टी जीवन्त हुन सक्दैन । पार्टीप्रतिको जनसमर्थन जनविश्वासमा आधारित हुन्छ । पार्टीले जनताको विश्वास, त्यसले अंगीकार गर्ने सिद्धान्त र विचारमा भर पर्दछ । पार्टी एउटा संस्था हो, आफैमा चलायमान हुँदैन । त्यसको लागि मानव संशाधनको आवश्यकता पर्दछ । पार्टी भनेको एउटै विचार, सिद्धान्त र आस्था, विश्वासमा आबद्ध मानिसहरुको समूह हो । जब त्यस्तो समूहले राजनीतिक रुपमा संस्थागत रुप धारण गर्दछ, तब त्यो संस्था पार्टी हुन्छ । साधारणरुपमा भन्नुपर्दा पार्टी भन्नाले समान आस्था र विचारका मानिसहरुको राजनीतिक संस्था हो । पार्टीको जीवन, यसले अंगीकार गर्ने विचार र सिद्धान्तमा निहीत रहन्छ । पार्टीको विचार र सिद्धान्तले जनसमर्थन प्राप्त गर्न सक्दैन भने त्यो पार्टी पुनः जीवन्त हुन सक्दैन । तसर्थ विचार र सिद्धान्त पार्टीको प्राण हो । यही विचार र सिद्धान्तले कार्यक्रम तय गर्दछ । असल कार्यक्रमले पार्टीप्रतिको जनविश्वासमा बृद्धि गर्दछ । पार्टीको विचार, सिद्धान्त र कार्यक्रमलाई प्रभावकारीरुपमा जनतासमक्ष पु¥याई त्यसप्रति जनसमर्थन जुटाई पार्टी संगठन सुदृढ गर्नमा कार्यकर्ताको आवश्यकता पर्दछ । यस आलोकमा विश्लेषण गर्ने हो भने पछिल्ला दिनमा नेपाली कांग्रेसप्रति यस्ता थुप्रै प्रश्न लक्षित छन् जसको उत्तर अपेक्षित छ । पछिल्ला समयमा माथि उल्लेखित अवस्था नेपाली कांग्रेसमा प्रायः अनुभव गर्न सकिँदैन । यस अवस्थालाई विचार गरी भन्ने हो भने कांग्रेसको शीर्ष नेतृत्वमा रहेकाको ध्यानाकर्षण गर्न बुट पोलिस अभियान सञ्चालन गरिएको हो भने त्यसलाई अन्यथा मान्न मिल्दैन । तर सस्तो लोकप्रियतामात्र आर्जन गर्ने उद्देश्य अभियानको हो भने त्यसलाई नौटंकीको संज्ञा दिँदा कुनै फरक पर्दैन । अभियानका सञचालकहरुप्रति अरु प्रश्न पनि तेर्सिन्छन्, के यो अभियान सञ्चालन गर्नुभन्दा पहिले पार्टीमा यससम्बन्धमा कुरा राखिएको थियो ? राखिएको थियो भने त्यहाँ सम्बोधन हुन असम्भव थियो ? यो अभियानको आवश्यकता निर्वाचनमा पराजयपछिमात्र अनुभव गरियो कि त्यसअघि पनि सान्दर्भिक थियो ? पार्टीभित्रको अवसरप्राप्तिबाट अभियानकर्तामात्र वञ्चित हुन पुगेका हुन् कि जीवनमा कहिल्यै अवसर नपाएका अरु पनि छन् ? छन् भने अभियानकर्ताले तिनको सम्बोधनका लागि विगतमा कहिल्यै आवाज उठाए कि उठाएनन् ? जबसम्म यी प्रश्नका उत्तर सार्वजनिकरुपमा प्रवाहित हुँदैन तबसम्म यो अभियानको औचित्य पुष्टि गर्न सम्भव हुने छैन । कुनै पनि पार्टीको संगठन सुदृढ गर्न कार्यकर्ताको अहम् भूमिका रहनेमा कुनै पनि दुईमत छैन । पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म फैलाउन र पार्टीको राजनीतिक उद्देश्य प्राप्तिका लागि जनआकर्षण जुटाउने पार्टी सुदृढीकरण गर्ने कार्यकर्ताको कार्य हो । सुदृढ पार्टी संगठन निर्माण पार्टी कार्यकर्ताको दायित्व हो । पार्टी संगठनमा एउटै व्यक्ति, अवस्था विशेषअनुसार नेता र कार्यकर्ता दुबै हुने र पार्टी संगठनमा सबै नेता कार्यकर्ता हुने भएकाले पार्टीमा आबद्ध सबै व्यक्ति पार्टीको संगठनभित्र कार्यकर्ता नै हुन्छन् । नेता नै कार्यकर्ता हो र कार्यकर्ता नै नेता हो । पार्टीको उत्कृष्टता जति नेतृत्वको राजनीतिक ज्ञान, दृष्टिकोण, दूरदर्शिता र निर्णायक शक्तिमा निर्भर गर्दछ, त्यत्ति नै कार्यकर्ताको क्रियाशीलतामा पनि । कार्यकर्ताको असल राजनीतिक आचारण र व्यवहार पनि पार्टी संगठनका लागि अनिवार्य मानिन्छ । पार्टी कार्यकर्ताको सदाचार, पार्टी संगठनको अलंकार हो । कर्तव्यनिष्ठ, इमान्दार, अनुशासित, नैतिकवान् र सादा जीवन उच्च विचारको आदर्शबाट अभिप्रेरित कार्यकर्ताबाट मात्र पार्टीको संगठनको निर्माण हुन सक्छ । नेपाली कांग्रेस पार्टी लोकतन्त्रवादमा आधारित पार्टी हो । यो पार्टी नै नेपालको निकै लामो समयसम्म लोकतन्त्रका लागि लडाइँ लडेको पार्टी हो । तसर्थ नेपालमा लोकतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेस पार्टीको संगठन सुदृढ हुन जरुरी छ । जसका लागि नेपाली कांग्रेस पार्टीका कार्यकर्ता अपरिहार्य छन् । नेपाली कांग्रेसले २००७ सालको क्रान्तिदेखि प्रजातन्त्रको पुनःस्थापनासम्म र तत्पश्चात् प्रजातन्त्रलाई सुदृढ गराउँदै आर्थिक विकासमा मुलुकलाई अग्रसर गराउने कार्यमा जुन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ, यसमा हजारौं, लाखौं कार्यकर्ताको बलिदानी, त्यागले अग्रणी भूमिका खेलेको छ । भविष्यमा पनि नेपाली कांग्रेसको संगठनात्मक स्वरुपलाई मजबुद पार्न पार्टीका कार्यकर्ताहरुको राजनीतिक परिचालन सुव्यवस्थित हुनुपर्ने आवश्यकता छ । हेर्नु अपेक्षित छ, जुत्ता पोलिस अभियानले यी र यस्ता अन्य विषयप्रति कत्तिको ध्यानकर्षण गर्छ ? मुलुक संघीयतामा प्रवेश गरेसँगै कार्यान्वयनको चरण जारी छ । सात प्रदेश मध्ये सबै भन्दा पहिले प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन बिहीबार हेटौंडामा सुरु हुँदैछ । अरु प्रदेशका सभा पनि निकट भविष्यमै हुने छन् । अर्थात् संघीयताका लागि आवश्यक राजनीतिक संरचनाहरू करिब करिब तयार हुँदैछन् तर प्रशासनिक संरचना र त्यसका व्यवस्थापनहरू अझ पनि अलमलमै देखिन्छ । राजनीतिक दलहरू प्रदेशको राजधानी, प्रदेश प्रमुख, मुख्य मन्त्री जस्ता राजनीतिक विषयमा केन्द्रित छन् । प्रदेश प्रमुखहरूको कार्यालय र बस्ने बासको व्यवस्थापन यतिखेर चर्चाका विषय बनेका छन्