मनोज यादव
चैत्र २६, २०७४
मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवाबाट छुट्ने लामो तथा छोटो दुरीको सार्वजनिक बस आइतबार एक दिनको लागि बन्द गरिएको छ । सर्लाही यातायात बस व्यवसायी संघका पदाधिकारीहरु बिच बसको टाइम टेबलको बिषयलाई लिएर उत्पन्न विवादका कारण संघले मलंगवाबाट छुट्ने लामो तथा छोटो दुरीको सम्पुर्ण दिवा बस सेवा ठप्प पारेका हुन् । यसअघि पनि संघका पदाधिकारीहरु बिच विवाद हुँदा कुनैपनि सुचना नै नदिइ यातायात ठप्प पार्ने गरेको यातायात मजदुरहरुले बताए । यसरी संघले मनोमानी रुपमा पटकपटक यातायात बन्द गर्न लगाउँदा हाम्रो कमाई गुम्नुका साथै हजारौं यात्रुलाई समस्या परेको यातायात मजदुरहरुले भने । यातायात मजदुरहरुले डेलिगेशन लिएर जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई जानकारी गराउँदा उहाँले “तपाईंहरु गाडी चलाउनुस् म यस विषयमा जिल्ला प्रहरी कार्यालयमा कुरा गर्छु भनी आश्वासन दिएर पठाएको बताए । “बिरगंजको एक प्राइभेट अस्पतालमा मेरी आमा भर्ना हुनुहुन्छ । उहाँको भोली पेटको पत्थरीको अपरेसन हुने वाला छ । उहाँको अपरेसनको लागि चाहिने रुपैया घटेको र अरु थप रुपैयाको आवश्यकता परेको भनी फोन आएपछि सोही घटेको पैसा लिएर बिरगंज जाँदै थिए । तर बसपार्कमा आइसके पछि आज बसको हडताल छ भन्ने थाहा पाए । मलाई जसरी भए पनि भोली अस्पतालमा पैसा जम्मा गराउनु छ । अब कसरी जाने होला“,मलंगवा नगरपालिका–५ भाँडसरका देवेन्द्र यादवले गुनासो गरे ।बस बन्द भएर देवेन्द्रलाई मात्र समस्या परेको छैन, यस्तो समस्या अरु यात्रुलाई पनि परेको छ । कसैलाई दुरदराजका आफन्त कहाँ जानुपर्ने छ, कसैलाई जागिर गरेको ठाउँमा जानू छ भने कसैलाई आफ्नो वा आफ्नो आफन्तलाई उपचारका लागि लानुपर्ने छ । आइतबार बिहानैदेखि यातायात सेवा बन्द रहेकाले आ आफ्नो गन्तव्य सम्म पुग्न भनि घरबाट हिंडेका यात्रुहरु मलंगवा र नवलपुर(मलंगवा रोड)को बसपार्कमा दिनभर अलपत्र परेका छन् भने नजिक घर भएका मानिसहरु पुनः घर फर्केका छन् । संघ भित्र विवादहरु बारम्बार भईरहने र सो विवादले सार्वजनिक यातायातको सेवालाई समेत प्रभावित पार्दै आइरहेकोले यसलाई तुरुन्त समाधान गर्नुपर्ने तर्क यात्रीहरुको थियो ।