टुडे समाचारदाता
आश्वीन ५, २०७५
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवको सम्पती छानविन गर्नुपर्ने माग गरेका छन् ।
धनुषा जिल्लाको डुमरियामा बिहिवार आयोजित सहिद सूर्यनाथ रानको स्मृति दिवसमा बोल्दै नेता झाले भने, यादव र महासेठको सम्पति सरकारले छानविन गर्नुपर्छ, उनीहरुले अकुत सम्पती अवैध ढंगले आर्जन गरेका हुन् ।
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेता झाले भने, यादव र महासेठको कारण पार्टीको छवि धुमिल हुन थालेको छ । मातृकाको पैतृक सम्पती २ कठ्ठा जग्गा र महासेठको पैतृक सम्पती ४ कठ्ठा जग्गा मात्र भएको दावीगर्दै उनले भने, यिनीहरुको काठमाण्डु लगायत विभिन्न स्थानमा अर्बौको सम्पती कसरी भयो ?सरकारले छानविन गर्नुपर्छ ।
नेता यादव तीन पटक र नेता महासेठ दुई पटक मन्त्री बनेका हुन् ।‘सम्पती सुद्धिकरण आयोगले दुवैको सम्पती निष्पक्ष रुपमा छानविन गर्नुपर्छ ’नेता झाले भने, अबैध सम्पती थुपार्नेहरुमाथि पार्टीले पनि कार्वाहीको प्रकृयालाई सहज बनाईदिनु पर्छ ।’
कार्यक्रममा प्रदेश साँसद रामचन्द्र मण्डल, पूर्व राज्यमन्त्री रामसिंह यादव, केन्द्रिय सदस्य श्रवणकुमार वरवरिया, सहिदनगर नगरपालिकाका मेयर उदय वरवरिया लगायतका नेताहरुको सहभागिता थियो ।