दिपु मिश्र
पौष २८, २०७४
रौतहट । रौतहट जिल्लाका सहरी तथा ग्रामिण क्षेत्रमा दर्ता बिनानै औषधी पसल धमाधम खुलेको भएपनि सरोकारवाला निकायले कुनै चासो दिएको पाईदैन् । दर्ता नै नगरि औषधी पसलहरुले खुलेयाम औषधी विक्री वितरण गरिरहेका छन् । एकजनाको नाममा औषधी पसल दर्ता भएको भएपनि रौतहटका बजार क्षेत्रमा अर्को मान्छेले पसल चलाएर सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने गरेका छन् ।
औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालयले बेला बेलामा अनुगमन नगरेका कारण सर्बसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने औषधी पसल रौतहटमा छ्याप्छयाप्ती रहेको पाईन्छ । रौतहटको प्रमुख व्यापारीक बजार गौर ,गरुडा ,चन्द्रनिगाहपुर ,कटहरिया तथा अन्य साना बजारहरुमा झोले डाक्टर र अबैध तरिकाले खुलेका बिनादर्तामा औषधी पसलले मनोमानी तरिकाले औषधी बिक्रि बितरण गर्ने गरेका छन् । दर्ता नै नगरी संचालनमा आएका औषधी पसललाई तत्कालै बन्द गर्नुपर्ने सरकारी प्रावधान रहेको भएपनि रौतहटमा अनुगमननै हुन नसकेको चन्द्रनिगाहपुरमा रहेको अजय मेडिकलका संचालक अजय कुमार साहले बताए । अवैधानिकरुपमा खुलेका औषधी पसलहरुलाई कानुनी दायरामा ल्याउन कार्यालयले अनुगमन कार्यलाई तिब्रता दिन नसकेको ले सर्वसाधारण स्वास्थ्यमा खेलवाड गर्नेहरुको संख्यामा बृद्धी हुदै जान थालेको जानकारहरुको भनाई रहेको छ ।
चन्द्रनिगाहपुर देखी गौर सम्म राजमार्ग छेउमै दर्जनौको संख्यामा दर्तानै नगरेका मेडिकलहरु संचालनमा रहेको पाईन्छ । अनुगमन नभएका कारण औषधी पसल आधिकारीक व्यवसायी नरहने गरेको उदाहारण रौतहट जिल्लामा प्रशस्त रहेको छ । एकजनाको नाममा पसल दर्ता रहने र गैर व्यक्तिबाट औषधी विक्री वितरण भइरहेको भएपनि उनीहरु कानुनी दायरामा आउन सकेका छैनन् । अबैध रुपमा जिल्लाका बिभिन्न स्थानमा संचालित औषधी पसलमा म्याद गुज्रेका औषधीसँगै अन्य औषधी पनि राखिने गरेको जानकारहरुको भनाई रहेको छ ।यसैगरी लागू तथा मनोद्धिपक औषधीको संचय तथा भण्डारण नियमसंगत भएको नपाइएकोले आवश्यक रेकर्डको नमुनासहित सुधारका लागि निर्देशन दिने निकाय समेत रौतहटमा नभएका कारण सर्वसाधारणले समस्या खेप्नु परेको । पसलेले विलमा औषधी व्यवस्था विभागको दर्ता नं, व्याज नं र औषधीको म्याद नाध्ने मिति अनिवार्यरुमा राख्नु पर्नेमा रौतहट जिल्लामा त्यस्तो हुन सकेको छैन् । औषधी सेवन र खरिद विक्रि मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले नियमसंगतरुपमा व्यवसाय संचालन गर्नुपर्नेमा जिल्लाका बजार तथा ग्रामिण भेगमा त्यसो हुन नसकेको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरुको भनाइ रहेको छ ।