२०७७ असार १४, आईतवार ०७:५९

किशोर नेपाल
अस्ति, शुक्रबारको पूरै दिन, आफैंले बिहिबार गरेको एउटा ट्विटमा जीवन रङमङियो । ट्विटको लक्ष सरकार थियो । नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले नागरिकता ऐनमा अनेकौं प्वालपार्न थालेपछि मैले ट्विटरमा आफनो ब्यङगात्मक भनाई राखेको थिएँ । आशय थियो ः बिहे गरेर आउने बिदेशी दुलहीलाई सात बर्षसम्म नागरिकताबाट बन्चित गर्ने हो भने उनलाई अमेरिकाको जस्तो ग्रीनकार्ड दिए भै हाल्छ । यो हाम्रो देशको पहाड र मधेश कतैपनि कामका अवसर छैनन । अवसरको खोजीमा लाखौंलाख नेपाली बिदेशिएका छन । त्यसैले साँझ बिहान दूध, तरकारी जस्ता घरेलु आबश्यकताका बस्तु र साँझ पानीपुरीको ब्यापारलाई कसैले खराब काम हो भन्छ भने त्यो स्वाँठ हो ।जुनसुकै परिस्थितिमा पनि ब्यापार भनेको उद्यमशीलता हो ।त्यसैले यो असल काम हो । घरेलु नोकरको जस्तो काम होइन । यद्यपि, काम कुनैपनि खराब हुँदैन ।

कुरा यति नै थियो । तर, यति नै कुरा बबण्डर मच्चाउन पर्याप्त भइ दियो । शुक्रबारसम्म मेरो ट्विटको भयंकर राजनीतिक दुरुपयोग भएको थियो । राजनीतिक प्रचार अघि बढाउन गोयबल्सको शैली पछ्याउने राजनीतिक समूहका मानिसले गलत आशय राखेर मेरो ट्विटको नितान्त अपब्याख्या गरेका थिए । म प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको शासन शैलीको कट्टर बिरोधी पत्रकार हूँ । मेरो कुरा स्पष्ट छ । यो देश एउटा दीर्घ रोगी मानिसबाट शाशितहुन अभिशप्त छ । त्यो अभिशापबाट देशलाई मुक्तगर्न नेपालीको नयाँ पुस्ता अगाडि आउनु पर्दछ । तर, खोइ कहाँ छ त्यस्तो पुस्ता ?

यो नौटंकीका निर्माताहरुलाई मेरो पृष्ठभूमि पनि थाह थिएन । म राजनीतिक हिसावले जनकपुरमा हुर्किएको मानिस । महेन्द्रनारायण निधि, सरोजप्रसाद कोइराला, रामेश्वरप्रसाद सिंह जस्ता सुप्रसिध्द नेताको सान्निध्यमा मैले बिताएका क्षणहरुको जानकारी कसैलाई पनि थिएन । मेरा सम्बन्धमा उनीहरुले जान्नपर्ने कुरा पनि केही थिएन । यो बबण्डर मच्चाउने योजनाकार आफनो दुष्कर्ममा सफल भएका थिए । यसलाई उनीहरुको सफलता नै मान्नुपर्दछ कि कहिल्यै ट्विटर नचलाएका मानिसलाई समेत मेरा बिरुध्दको अभियानमा संलग्न गराउन उनीहरु सफल भएका थिए । उनीहरुको प्रतिक्रिया लगातार आइ रहेको थियो र नीचतम शब्दहरुमा आइ रहेको थियो ः माँ, वहन उडकेर गरिएको गाली । अपशब्दको बर्षा । अभियानमा मैले चिनेका त्यस्ता राजनीतिक कार्यकर्ता पनि संलग्न थिए जो बिभिन्न राजनीतिक दलका सक्रिय मात्रै थिएनन, ती दलका दवंग पदाधिकारी थिए ।

मलाई आश्चर्य लागेन । पछिल्लो मधेश आन्दोलनको रिपोर्टिङका लागि पूरै मधेशको यात्रागर्ने पत्रकार थिएँ म । त्यो आन्दोलनमा पुलिसको गोली लागेर ढलेका आन्दोलनकारीलाई प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले निकै निर्दयी शब्दमा ‘हुरी बतास लागेको बेला दुइ चारवटा आँप तझरी नै हाल्छन नि’ भनेका थिए । समानता र समावेशिताको पक्षमा आन्दोलनकारीले बनाएको एकताको मानव–सांग्लोलाई ‘माखेसांग्लो’ भनेका थिए । संविधान निर्माणका समयमा ओली लगायतका नेताहरुले मधेशका बिरुध्द गरेको षडयन्त्रका बारे यहाँ दोहोर्याएर लेख्न पर्दैन होला । मेरो प्रश्न यतिमात्रै हो, मधेशका बिरुध्द त्यसरी हेलिएको राजनीतिक दलले दुइ नम्बर प्रदेशमा चुनाव जित्नुको गूढअर्थ के थियो ? समाजवादी फोरम नेपाल कम्युनिष्ट पार्टीको सरकारका लागि दुइतिहाई मत पुर्याउन त्यो संग जोडिनुको पहेली के थियो ? यी केही यस्ता प्रश्न हुन जसले मधेशको राजनीतिमा अन्तरबिरोधहरुको जगजगी बढाएकोछ । मधेशको राजनीति संग्लिन नदिन मधेशकै नेताहरु सक्रिय रहेका छन । यो कुरा नबुझेसम्म मधेशको राजनीतिको नाप–नक्सा जान्न सकिदैन ।

कोरोना महामारीको अहिलेको अवस्थामा संघीय, प्रादेशिक र स्थानीय सरकारको नीरिह अवस्था कसैबाट छिपेको छैन । सामान्य जनतालाई कोरोना महामारीले हाहाकारको अवस्थामा पुर्याएकोछ । अहिलेको महामारीमा भोकको भाइरस थपिने त अब निश्चित नै छ । देशमा महामारीको चाप मन्दगतिले उकालो लागेको छ । संघीय सरकारका प्रमुख हाछिउँ, तातोपानी र बेसारको कथा सुनाउन थालेका छन । देशमा अहिलेसम्म परिवर्तनको ज्योतिबाल्दै आएका मधेशका नेताहरु आफैं जिल्लिएका छन । भावी नीतिको निर्माण कसरीगर्ने ? प्रमुख नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले कुनै जवाफ दिएका छैनन । उनीहरु गुपचुप छन ।एकताका जेलमा रहेका सांसद रेशम चौधरीलाई अपराधमुक्त गरेर जेलबाट छुटाउन लागेका थिए राजेन्द्र महतो । प्रधानमन्त्री ओलीसंग आफनो निकटता र मित्रताको गुमान थियो महतोमा । तर, प्रधानमन्त्री ओलीले हाँसेर टर्काइदिए महतोलाई ।

जनताले आजको अबस्था प्रष्ट देखेका छन । सरकार भ्रष्टाचारमा लिप्त छ । केन्द्रीय राजनीतिको ब्राकेटभित्र रहेका एकजना पदाधिकारी पनि चोखा देखिएका छैनन । यो साह«ै नमज्जा लाग्ने बिषय हो । भ्रष्टाचारको अपराधलाई कर्केपार्न, जनताका बढदा समस्याबाट जोगिन, सरकारलेकालापानी नक्साको फण्डा निकालेकोछ । झट्टहेर्दा प्रधानमन्त्री खडग ओली नेतृत्वको सरकारले यो निकै महान राष्ट्रवादी काम गरेको जस्तो देखिन्छ । तर, नक्सामा थपिएको प्रम ओलीको राष्ट्रवादभ्रममात्रै हो ।नक्सा बनाएपछि कि त्यो भूमि फिर्ता ल्याउनु पर्छ, कि देश र जनतासंग क्षमा मांग्नु पर्दछ । नेपालीहरुको कति पुस्ताले नक्सामा देश बोकेको भ्रममा बस्नु पर्ने हो ? त्यसको कुनै लेखाजोखा छैन । पहिलो छ दशक नेपालीले कालापानी क्षेत्र अंकित नभएको नेपालको नक्सा हल्लाउँदै बिताए, अब अर्को छ दशक कालापानी क्षेत्र अंकित भएको नेपालको नक्सा हल्लाउँदै बिताउनेछन । नक्सा हल्लाउँदैमा यथार्थ बदलिने पनि होइन । बास्तबमा भन्ने हो भने प्रम ओलीको नक्सा–कूटनीति शुरु नहुँदै असफलताको यात्रा अगाडि बढी सक्यो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनि सके, कोरोना कालमा सीमा वार्ताका लागि भारत तयार छैन । शुरुका दिनदेखि अहिलेसम्म हरेक फ्रन्टमा असफलता बेहोरेको छ दुइतिहाईको सरकारले ।

अरु देशका सरकार महामारीका बेला जनतालाई कसरी जोगाउने भन्नेमा लागेका छन । नेपालको सरकार नागरिकताको धन्दामा लागेकोछ । भारतबाट बिहे गरेर आएकी महिलाले नागरिकता पाउन सात बर्ष पर्खिनुपर्ने, नेपाली केटीले बिहे गरेको केटोले नागरिकता पाउन पन्ध्रबर्ष पर्खिनुपर्ने ! मानौं कि, नेपाल अवसरहरुको खानी हो । यहाँको नागरिकताको महत्व नै बेग्लै छ । नागरिकताको मामिलामा अनुदार देशहरुले मानिसका बिरुध्द संत्रास फैलाएका छन । भूटानले मौलिक भूटानी संस्कृतिको जगेर्नागर्ने नाउँमा एकलाख तीस हजार नेपाली मूलका भूटानीलाई घरको न घाटको बनायो । अब नेपालको मौलिक संस्कृतिको रक्षाका लागि नेपालले मधेशलाई क्वारेन्टाइन बनाउने हो कि ? समाजमा अहिले जसप्रकार भाले–पोथीको झगडा चलाइएका छन, जसरी अधिकारका नाममा बिभेद बढाउने काम भइ रहेकोछ, जसरी आपूmलाई शहरी समाजका प्रतिनिधि भन्नेहरुले ग्रामीण संस्कृतिलाई पाखा लगाउने योजना बुन्दैछन, जसरी अधिकारवादी स्वतन्त्र संगठनहरुलाई मूलधारबाट हटाउने काम भइ रहेकोछ – यी राम्रा संकेत होइनन ।

अहिले सरकार आफनै पार्टीभित्रको तूफानमा फँसेकोछ । प्रधानमन्त्री ओली पार्टीका बैठकहरुबाट पन्छिन थालेकाछन । उनका बिरोधी चर्किएकाछन । नेपालमा देश चलाउनु भनेको केही नेताले ठट्टा–रमाइलो गर्नु जस्तो भएकोछ । देशलाई जतिसक्छौ निचोर । जसरी सक्छौ निचोर । देश जसरी भ्रष्टाचारको दलदलमा गाडिएकोछ त्यसबाट निकाल्न असंख्य बर्षहरु लाग्नेछ । हाम्रा कथित राष्ट्रिय गौरवका आयोजनाहरु नै हेरे पुग्दछ यसका लागि । अहिले कोरोना महामारीको ब्यबस्थापनका सन्दर्भमा भ्रष्टाचारका यति धेरै घटना भएका छन र यतिधेरै तथ्य बाहिर आएका छन – तस्वीर भयावहछ ।जनतालाई यी कुराको जानकारी छैन । उनीहरुलाई कसैले बताएको पनि छैन । बिकासको नाउँमा गाउँडुल्ने गैर–सरकारी संस्थाले चेतनाको ढोका बन्द गरेको देखिन्छ । स्थिति साँच्चै बिकराल छ । लंगडो संघीयताले हामीलाई यता न उताको बनाएकोछ । मधेशमा होस वा पहाडमा होस, नयाँ छिमलका नेताहरु नयाँ बिचार सहित राजनीतिमा अगाडि आएभने परिवर्तन सम्भव होला । होइन भने, एकजुगमा एकचोटी आउने एकदिन आउन अझै जुगौं जुग लाग्नेछ ।

Comment

Related News