२०७७ श्रावण १८, आईतवार ०६:५१

आजभोली मिथिला पेन्टिङ्ग जसको चर्चा देशभित्र मात्र नभई विदेशमा पनि चर्चित छ । अमेरिका,क्यानाडा,जापान,यूरोप लगायतका विकसित राष्ट्रहरुमा मिथिला पेन्टिङ्गले आफ्नो स्थान ओगटेको छ । हुनत प्राचिन यूगमा थरि थरिका रंगोली,अरिपनको रुपमा प्रयोग हुने यो कला विस्तारै आधुनीक रुपमा कपडा,पर्खाल र कागजमा बनाउन थालिएको छ । प्रारम्भमा भगवान राम र माता सिताको बिवाहमा राजा जनकले ग्रामिन महिला कलाकारहरुद्वारा चित्र बनाउन लगाउनु भएको थियो । अहिलेपनि यसको वास्तविक रुप गाउँघरमा रहेका माटोको घरमा भेटिन्छ । तर यूग परिवर्तनसँगै यसलाई कपडामा बनाई चित्रण गरेर रोजीरोटीमा पनि उपयोग गरिएको देखिएको छ । पहिला त महिलाले मात्र बनाउँथिन । तर अब पुरुषले पनि यसमा आफ्नो सक्रियता देखाएका छन् । र ,यो राम्रो पनि हो ।

कुनैपनि शहर,गाउँको चौक चौराहा,मन्दिरको पर्खाल होस चाहे बाटो वा रेल्वे स्टेशनमा बनाइएका मिथिला पेन्टिङ्गले त्यो ठाउँको सौन्दर्यतालाई अझ बढि निखारेको हुन्छ । मिथिला पेन्टिङ्गले मिथिलाको कला संस्कृतिलाई झल्काएको मात्र हैन् । बरु , जोगाएको पनि छ भन्दा बेस नै हुन्छ । तर के तपाईंलाई थाहा छ ? मिथिला पेन्टिङ्गलाई जोगाउनमा र विश्वस्तरमा नाम चिनाउने पर्दा पछाडीका नायिकाहरु को–को हुन ? सायद यहाँहरुलाई थाहा नहुन पनि सक्छ । मिथिला पेन्टिङ्गलाई यहाँ केहि चित्रकारहरुले आफ्नो नाउँ मात्र दिएर रोटी सेकिरहेका छन् । साँच्चिकै मिथिलाको नाम समेटेर तयार गरिएका विभिन्न चित्रकलाहरु पछाडी कोशौंसम्म पैदल यात्रा गरेर न्यून ज्यालादारीमा शोषित,उत्पिडीत भई लागेका ती नायिकाहरु हुन जसको कुनै नाम नै छैन् । ति नायिकाहरुले साँच्चिकै मिथिला पेन्टिङ्गप्रति दत्तचित्त भएर दैनिक दश घण्टा भन्दा बढि काम गर्छन् । र, उहाँहरुको योगदान मात्र मिथिला र मिथिला पेन्टिङ्ग तर्फ देखिन्छ । तर दुर्भाग्य के छ भने, यहाँ केहि चित्रकारहरुले यस पेशा वा भनौं कलालाई आफ्नो व्यक्तिगत लाभका लागी भजाएर त्यसमा आफ्नो नाम मात्र समावेश गरी विदेश भ्रमण समेत गरिरहेको हामीसँग थुप्रै उदाहरणहरु छन् । नारी विकास केन्द्र जनकपुरधाममा विगत २५ बर्षदेखि कार्यरत ६५ वर्षीया सुनैना कर्णले आजसम्म न त कुनै सम्मान पाएकी छिन न त विदेश भ्रमण नै गरेकी छन । उहाँले दिनको करिव ८ घण्टा काम गरेर मासिक पांच हजार रुपैयाँ आम्दानी गरेको भरमा घरपरिवार समेत चलाउँदै आएकीछन् ।

सुनैना कर्ण एउटा उदाहरण पात्र मात्रै हुन । यहाँ त उहाँ जस्तै अन्य थुप्रै चित्रकारहरु बर्षौदेखि यस पेशामा आवद्ध भएपनि अहिलेसम्म केही गर्न नसकेको दर्जनौं उदाहरणहरु हामी समक्ष छरपष्ट छ । आखिर यस्तो किन भएको होला त ? विशुद्ध रुपमा यस पेशामा लागेका चित्रकारहरु छन्,उनीहरुको पेशा सँगसँगै घरपरिवारको अवस्था पनि कहालिलाग्दो छ । तर जसले यस पेशालाई भजाएको छ,उ लाखौं कमाएको छ । राजनीतिमा पावर,पैरवी त सुनेकै थिए तर अब कलाकारितामा पनि यो हाबी भईसकेको छ । कुनै राजनीतिक दलबाट आवद्ध भएर वा दशजनासँग सम्पर्क गरेमा नाम चल्ने तर पुर्ण रुपमा कामदेखी मात्र राख्ने व्यक्तिको नाम पनि गुमनाम । सुनेको थिंए जोसँग सीप छ उसलाई सफल हुनबाट कसैले रोक्न सक्दैन । तर आज कहीं न कहीं यो कुरा मलाई सत्य देखी असत्य बढि लागिरहेको छ । एक भन्दा एक मिथिला पेन्टिङ्ग गर्ने महिलाको कलाको यहाँ कदर छैन तर जो चलेको नाम छ वा राजनीतिक पहूँच भएको व्यक्ति छ उ मात्र अगाडी बढिरहेको देखिन्छ । आखिर किन होला त यस्तो ? सायद ती ग्रामिण महिला बोल्न जान्दैनन्,दशजनासँग सम्पर्क हुँदैन,राजनीतिक पहूँच हुँदैन त्यही भएर हो की ? यसमा मेरो व्यक्तिगत नजरमा केही सञ्चारकर्मीहरु समेत दोषी छन् जस्तो मलाई लाग्छ । जो प्रत्यक्ष छन् । जोसँग राम्रो सम्पर्क छ,त्यसको समाचार बनाउने तर जो अप्रत्यक्ष छन्,बर्षाैंदेखि लागेका छन् र यदि उहाँहरुसँग चिनजान छैन भने खोज्नु पनि आफ्नो दायित्व ठान्दैनन् । जिरोलाई हिरो र हिरोलाई जिरो बनाउनमा सञ्चारकर्मीको ठुलै हात हुन्छ । त्यहि भएर स्वच्छ पत्रकारिता र इमान्दारिताले कामगर्दा समाजको पनि कल्याण हुन्छ ।

Comment

Related News