२०७७ आश्विन १४, बुधबार ०६:०२

कोरोनाको समस्या टरिसकेको छ जस्तो निश्चितता कतैबाट पनि अझै आइरहेको अवस्था देखिएको छैन । नेपालमा हरेक दिन संक्रमण भइरहेकै छ । हाम्रो प्रदेशमा पनि संक्रमितहरु पर्याप्त रहेका छन् ।

कोरोनाको बारेमा केन्द्रीय निकायहरुले पनि सावधानी अपनाउन भनिरहेकै समयमा हामी भने बढी असावधान भएजस्तो देखिन्छ । बजारको वर्तमान अवस्था हेर्दा कोरोनाको डर निकै कम भइसकेको वा कोरोना नरहेको जस्तो देखिन्छ । फाट्टफुट्ट कसैकसैको नाकमा मास्क देखिन्छ भने अधिकांश मानिसमा कुनै किसिमको सावधानी अपनाएको देखिँदैन । समस्या टरिनसकेको तर हाम्रो सावधानी हटिसकेको वर्तमान अवस्था आफैँमा सम्वेदनशील छ कि छैन ? हामी आफैले आफैलाई प्रश्न गर्नुपनेै समय आइसकेको छ । उत्तरको खोजी पनि आफैले नै गर्नुपर्ने समय आइसकेको छ । उच्च शिक्षित मानिसहरु बजार जान अझै पनि डराइरहेका छन् । बजारमा भीड निकै बढेको छ । भीडमा सावधान रहनेहरु कमै छन् । पसलमा पनि क्रेता र बिक्रेता दुवै उस्तै देखिन्छन् । मुस्किलले कुनै पसलमा सावधानी अपनाएको देखिएको छ । सार्वजनिक यातायातको त झन् बेहाल छ । साधारण ईरिक्सामा पाँच सातजना बस्न थालेका छन् । भाडाको सार्वजनिक बसमा पनि मानिसहरु करिब भरिएर जान थालेका छन् ।

सडकमा गुड्ने मोटरसाइकलहरुलाई हेर्ने हो भने मास्क नलगाएका नै अधिकांश देखिन्छन् । यसले गर्दा के स्पष्ट हुन गएको छ भने सर्वसाधारणमा कि त आत्मविश्वास बढी भयो कि अब कोरोना केही पनि होइन वा कोरोनाको समस्या अब रहेन वा जे हुन्छ देखाजाला । कोरोनाले विश्व आक्रान्त भइरहेको समयमा यस किसिमका असावधानीप्रति आँखा चिम्लेको समाजको दायित्व पनि सावधान गराउने हो कि ? मानिसले आफ्नो कामकाज नै बन्द गर्नुपर्छ भन्ने होइन । सरकारले पनि केही दिन पहिले देशमा सक्रिय संक्रमितको संख्या पच्चीस हजारभन्दा बढी भयो भने फेरि लकडाउनको समस्या आउन सक्ने बताएको थियो । यो आफ्नै ठाउँमा छ तर हाम्रा ठूला चाडपर्वहरु नजिक आइरहेका छन् । हामीले हाम्रो दैनिकी पनि नगरी भएको छैन । हामीले हाम्रो परिवार र हाम्रो समाज तथा समुदायलाई नै बचाउनु पर्छ भन्ने भावनाको बोध गर्नु परेको छ । हुन सक्छ आफूलाई कोरोना सरेको थाहै नहोओस् र निको पनि भइहालोस् तर आफूबाट अरुमा सर्न सक्छ । आफूबाट अरुमा सर्दा आफूभन्दा कमजोर मानिसमा सर्न सक्छ, पहिलेदेखि नै कुनै नियमित औषधि सेवन गरिरहेका मानिसमा सर्न सक्छ । उनलाई चाहिँ अप्ठ्यारो पर्न सक्छ ।

आफ्नै घरपरिवारका कोही सदस्यलाई अप्ठ् यारो नपर्दासम्म हामी त्यत्ति सचेत हुँदैनौँ जस्तो अवस्था देखिएको छ । वास्तवमा कोही त्यस्ता मानिसलाई भेटौँ जो कोरोना लागेर अलिक अप्ठ्यारो स्वास्थ्य स्थिति झेलेका थिए । त्यस्तालाई भेटौँ एक चोटि जो निको भएर घर फर्केका छन् । निको भएर घर फर्किसकेका मानिसलाई पनि कतिपयले राम्रो व्यवहार गरेको पाइएको छैन । कोरोना लागिसकेका मानिसलाई अछुतजस्तो व्यवहार गरिएका उदाहरणहरु पनि छन् । एक जना यस्ता मानिसलाई भेटेको छु जसकहाँ दैनिक सयभन्दा बढी मानिस काम लिएर पुग्ने गर्दथे, बिहान उनीकहाँ चिया खाने नै पन्ध्र बीस जना हुने गर्दथे तर जब कोरोनाको संक्रमण उनको परिवारमा देखा प¥यो तब उनीकहाँ मानिसको आवतजावत कम भयो र उनलाई भेट्न जानेहरु नै हराए । काम गराउन जानेहरु पनि परैबाट काम गराउन चाहन्थे र तुरन्त सेन्टाइज गरिहाल्थे । उनी एक दिन आफ्नो पीडा सुनाउँदै थिए कि कोरोना संक्रमितप्रति समाजको धारणा ज्यादै नराम्रो छ । मेरो घरमा अरुबाट नै कोरोना आएको हो तर अरुले गरेको व्यवहारले समाजमा एक्लोपनको अनुभूति भएको छ । समाजमा चेतना आएको छ ।

कोरोनाको डर कम भएको छ । समाजमा चेतना आएर कोरोनाको डर कम भएको भने होइन । असावधानी बढी भएको छ । असावधानीले गर्दा कोरोनाको डर बढेको छ । अहिलेको अवस्थामा सञ्चार माध्यमलाई हेर्दा कोरोनाको कारण समाज सम्वेदनशील हुनुपर्ने हो तर समाजलाई हेर्दा कोरोनाको डर हराइसकेको छ । अधिकांश सञ्चार माध्यमले कोरोनाको कारण अझै सम्वेदनशील हुनुपर्ने बताइरहेको तर समाजको अधिकांश गतिविधिमा समाजका सदस्यहरु भने खासै सावधान नदेखिएको र सामान्य सावधानी अपनाएको नपाइएको अवस्था रहेको छ । कम्तीमा दुई गजको दुरी अपनाउनु पर्ने, मास्क लगाउनु पर्ने र सम्भव हुनासाथ साबुन पानीले हात धुनुपर्ने वा सेनेटाइजरको प्रयोग गर्नुपर्नेमा करिब सबै कुरा बिर्सिसकेको जस्तो लाग्न थालेको छ । छरछिमेकतिर अलिकति ध्यान दिऊँ । हाम्रो छिमेकी भारतमा हरेक दिन हजार्राै मानिसमा कोरोना संक्रमण भइरहेको छ । साठी लाखभन्दा बढी मानिसमा कोरोना पुष्टि भइसकेको र पचास लाखभन्दा बढी मानिस कोरोना संक्रमणबाट मुक्त पनि भइसकेका छन् । त्यहाँ परीक्षणको दायरा निकै ठूलो छ भन्ने देखाउँछ । हो, त्यहाँ एक सय तीस करोड जनसंख्या छ र हामीकहाँ तीन करोड जनसंख्या छ । जनसंख्याको तुलना गर्नु उपयुक्त हुँदैन तर दक्षिण एसियामा के पाइएको छ भने नेपालमा कोरोना संक्रमण भएपछि ढिलो निको हुने दर निकै बढी छ ।

नेपालमा कोरोनाको जोखिम पनि उच्च नै रहेको छ । केही महिनासम्म काठमाडौँ निकै सुरक्षित जस्तो लाग्थ्यो तर अहिले दैनिक सरदर छ सयको हाराहारीमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमित देखिन थालिएको छ । काठमाडौँ जान र आउन कसैलाई कुनै किसिमको रोकतोक छैन । मज्जाले मानिस काठमाडौँ गइरहेका छन् र फर्किरहेका छन् । हो, यदि काठमाडौँमा हरेक दिन सयौँ जनामा कोरोनाको संक्रमण देखिइरहेको छ भने भोलि हाम्रो समाजमा पनि त्यही नहोला भन्ने ग्यारेन्टी छैन । होला नै भन्ने ग्यारेन्टी पनि छैन तर जोखिम भने रहेका छ । यसै गरी नेपाल र भारतको सिमाना औपचारिक रुपमा बन्द रहेको छ । केही नाकाहरु खुल्ला रहेका छन् तर आवतजावत ठप्प रहेको भनिएको छ तर व्यवहारमा भने सीमा क्षेत्रमा आवतजावत भइरहेको छ । लुकीछिपी भइरहेको आवतजावतले नेपाल र भारत दुवैतिर कोरोनाको संक्रमणको जोखिम बढाएको छ । यसकारण सावधानी अपनाउनु अहिलेको आवश्यकता हो । पहिले कोरोनाको संक्रमण भारतबाट आउनेहरुमा बढी देखिएको थियो ।

त्यसपछि समुदायस्तरमा फैलिएको भनियो । दुवै समयमा वास्तवमा गम्भीरतापूर्वक कडाइ गरियो र केही नियन्त्रणमा आयो । संक्रमण कम भएको सत्य र तथ्य हो तर संक्रमण न त रोकिएको छ र न त यसको जोखिम नै कम भएको छ । यस कारण सावधानी अपनाउनुको विकल्प छैन । व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, कृषि, यातायात, सञ्चार सबै चलाऔँ । स्थानीय सरकार र प्रदेश सरकारले अवस्था बुझेर, अवस्थाको गम्भीरतालाई मनन गरेर आवश्यक कदम चाल्ने छन् भन्ने कुरामा विश्वस्त रहौँ । सबै जना सबै किसिमको काममा फर्कौँ भन्ने सामाजिक मनोविज्ञान पनि हो तर वस्तुस्थितिको तथ्यगत विश्लेषण सम्बन्धित सरकारले नै गर्न सक्छ । यो भावनाको कुरो होइन न त आवेगको कुरा नै हो । वास्तवमा सावधानीभन्दा अरु कुनै ठूलो औषधि हुन सक्दैन । सबैभन्दा ठूलो कुरो नै सावधानी रहेको छ जसमा हामी चुकेका छौँ । दैनिक जीवनलाई मूल गतिको प्रवाहमा नल्याउने हो भने हामी पछाडि पर्दै जानेछौँ । कतिपय परिवारलाई काम नगरी खान नपाउने अवस्था रहेकोमा दुई मत छेन । सबै क्षेत्र काममा फर्केपछि जीवनले लय समात्ने छ । हाम्रो अर्थतन्त्रले पनि गति समात्ने छ ।

वास्तवमा अर्थतन्त्र चलायमान भएमा हामी फेरि विस्तारै पहिलेकै अवस्थामा आउन सकौँला । यसमा केही समय लाग्न सक्छ । करिब सात महिनाको क्षतिपूर्ति दुई चार महिनामा हुन नसक्ला तर हामीले कामै नगरे वा हामी काममै नफर्के हाम्रो जीवनले सही अर्थमा गति लिन सक्दैन । यस कारण पनि अहिले हरेक व्यक्ति आफ्नो काममा सक्रिय हुनु परेको छ । हरेब व्यक्तिले आफ्नो काममा पहिलेको जस्तो सक्रियता अपनाउन सकेको खण्डमा अन्य गतिविधिमा त्यत्तिकै सक्रियता आउँछ भन्ने हो । हामी जो जहाँ र जुन अवस्थामा छौँ, सोही अवस्थामा आफूलाई सक्रिय बनाऔँ तर समाजप्रति आफू बफादार बनी सम्पूर्ण रुपले सावधान बनेर, बनाएर ।

Comment

Related News

Latest News

Trending News