२०७७ आश्विन १५, बिहीबार ०६:०८

मानव विकासको इतिहास पुरानो छ । परम्परागत मानव समाजको संरचनामा मानवीय आवश्यकता अनुसार निरन्तर परिबर्तन भई रहेका छन् । प्राचिन सामाजिक संरचनाको इतिहास अध्ययनको आधारमा मानव प्राणीको जीवन कष्टकर भएरै सहज जीवनयापनका लागि मानव पुर्खाहरु एक स्थानबाट अर्को स्थानमा बसाई सराई गरेर जीवनशैलीमा परिबर्तन गरी अहिलेसम्म यस पृथ्वीको सबै भागहरुलाई छेकी बसोबास गरी रहेका छन् । मानव प्राणीको बसाई सराईको परिकल्पना अनन्त छ । कुनै बेला चन्द्रमाको सतहमा घडेरी किन बेच सुरु भएका समाचारहरु आइ रहन्छन् । समाजशास्त्री तथा अध्ययनकर्ताहरुको तथ्य प्रस्तुतीमा पहिला मातृत्व नै अधिकार सम्पन्न भई आपसमा मिलेर बसेका थिए ।

प्रकृतिद्वारा रचित प्राणीहरु मध्ये सबै भन्दा उत्कृष्ट, चलाख तथा दिमागी क्षमता अन्य प्राणीको तुलनामा तिक्ष्ण रहेका छन् । सबैमा त एकनाशका हुँदैनन् तर अन्य जीव प्राणीहरुको तुलनामा अधिकांशमा मानसिक क्षमता उच्च भएको हुन्छ । मानव आफ्ना अग्रजहरुका व्यवहार अवलोकन, अनुकरण गरी उनीहरुको जीवनशैली आफूमा पनि नक्कल गर्न चाहन्छन् । पारिवारिक संस्कार, सामुदायिक व्यवहार तथा सामाजिक संस्कारमा देखिएका उच्च अनुकरणीय व्यवहारहरुको अनुकरण गरी आफ्नो भावी जीवनमा प्रयोग गर्ने ध्येयले अभ्यासमा ल्याउँछन् । कुनै व्यक्ति समाजमा रहेर नक्कल गरेका व्यवहारहरुको उच्चतम प्रदर्शन गरी समाजबाट वाहवाही लिन तथा प्रशंसा बटुल्न सफल हुन्छ । समाजबाट जति प्रशंसित हुन्छ, त्यति नै उसको सामाजिक मूल्यमा बृद्धि भई रहन्छ । प्रशंसित हुनुको अर्थ सामाजिक मूल्य मान्यतालाई आधार मानेर समाज अनकुल व्यवहार हरुको प्रदर्शन गरी रहेका हुन्छन् । समाजका अपेक्षित कार्यहरु निरन्तर गरी रहनु नै समाजमा अनुकुलन हुनु हो । यस प्रकार व्यक्तिको नैतिक मूल्यहरु बढोत्तरी गर्दै रहनु पनि हो । नैतिकता विकासका तीन तहहरु हुन्छन् ।

प्रथम तहमा घरपरिवारका सदस्यहरुको नियन्त्रणमा धेरै व्यवहारहरु विकसित भई रहेको हुन्छन् । यसलाई प्रिकन्भेन्सियल लेभेल भनिन्छ । सुरुको तहमा नैतिकताका कुराहरु बाह्य पक्षहरुले नियन्त्रण गरेर विकसित बनाई रहेको हुन्छ भने दोस्रो तह भनेको कन्भेन्सियल लेभेल जसमा वालवालिकाहरु धेरै ज्ञान गुणका तथ्यहरु पढी, अवलोकन गरी रहेका हुन्छन् । अन्तिम तेस्रो तह पोस्टकन्भेन्सियल लेभेल जुन तहमा व्यक्तिले आफूलाई स्वनियन्त्रण गरी गर्नु पर्ने व्यवहारका समग्र पक्षहरु जान्न र गर्न सक्ने क्षमता विकास भई सकेको हुन्छ । नैतिक विकासका लागि कुनै अलग्गै कोर्स हुँदैन, जहाँबाट व्यक्ति ती सबै नैतिक व्यवहारहरु गर्नमा पारङ्गत भई सकोस । सबै भन्दा महत्वपूर्ण पक्ष भनेको वालवालिकाहरुमा व्यवहार निर्माणको क्रममा घरका सदस्यहरु, छिमेकमा भएका सामाजिक संरचनाहरु, गुरुहरु, अग्रजहरु इत्यादि । घरपरिवारका सदस्यहरु विद्यालयका शिक्षकहरु, टोलछिमेकाहरु, हाटबजारमा व्यापार गर्ने व्यापारीहरुबाट भएका व्यवहारहरुमा पनि नैतिक विकास हुनमा भर पर्दछ । नैतिकताका सबालमा स्थानैपिच्छे यसको विकास तथा यसमा गर्नु पर्ने परिबर्तनका नियमहरु फरक(फरक छन् । समाज सान्दर्भिक व्यवहारहरुको ढाँचा पनि समय(समयमा परिमार्जन भई रहन्छन् । यसलाई निर्देश गर्ने कार्य समाजका बुजुर्ग वर्गहरुको हुन्छ । हाम्रो समाजमा नैतिक विकासका अवस्थालाई विश्लेषण गर्दा यसको अवस्था दिन प्रतिदिन खस्किदै गएको प्रतित हुन्छ । नेपाली समाजमा जति विविधता देखिएका छन् ती विविधताले गर्दा सबै स्थान, वर्ग, जात, लिङ्गहरुमा एकनाशका प्रक्रिया छैनन् । परम्परागत संरचनामा रहेका समाजमा पुर्खौं देखि चल्दै आएका रीतिरिबाज, व्यवहार, संस्कारहरुले नैतिक विकास तथा भावी पुस्तामा यसको हस्तान्तरण भर पर्दा रहेछन् ।

समाजमा ख्याती पाएका व्यक्तित्वहरुको अवशान पश्चात उनीहरुको राष्ट्रप्रतिका योग्दान सहितको स्मारकहरु ठाउँ–ठाउँमा निर्माण गरी भावी सन्ततीहरुमा सहज हस्तान्तरणका लागि उपयुक्त व्यवस्थापन गर्नु पर्ने हुन्छ । समाजका असल व्यक्तित्वहरुको जीवनी र राष्ट्र तथा समाजप्रति गरेका योग्दानहरुको वर्णन सहितका पाठहरु विद्यालयस्तरका पाठ्यक्रममा समावेश गरी पठनपाठन हुन र भावी सन्ततीहरुमा नैतिकताका खाका सहितका व्यवहारिक ढाँचाको विकास गर्न सहज हुन सक्दछ । समाजका प्रत्येक क्रियाकलापहरुमा शुद्धता र पारदर्शिता ल्याउन संलग्न भएका व्यक्तिहरुको चरित्र तथा नैतिकताको अवस्था पनि उच्च हुनु पर्दछ । कृषि, शिक्षा, बाणिज्य तथा प्रशासनका क्षेत्रहरुमा संलग्न भएकाहरुमा पनि नैतिकताको स्तर उच्च राख्ने मापदण्डहरु कायम गरी समाजका सम्बन्धित निकायहरुले कार्यान्वयन गर्न आवश्यक छ । समाजमा भाईचारा, एक अर्कामा सहकार्य र सुमधुर सम्वन्ध कायम गरी सामाजिक विकृतिलाई शुन्यमा झार्न नैतिकताको स्तर बढाउनुको साथै सुशासन कायम गर्नका लागि मानव अधिकारको संरक्षण सहितका वातावरण सुनिश्चित गर्न सामाजिक संस्थाहरु नै जिम्मेबार हुन्छ । सामाजिक अवस्थालाई निरन्तर अनुगमन सहित सहयोग गर्नका लागि सबैले आ–आफ्ना जिम्मेबारीहरुको परिपालन गरी रहनु पर्दछ ।

समाजले आफ्ना साँस्कृतिक अनुकुलन हुने गरी व्यवहारिक ढाँचाहरु प्रस्तुत गर्न सबैलाई अवसर प्रदान गरी रहनु पर्दछ । अहिलेको सङ्क्रमणकालीन अवस्थामा कुनै पनि क्षेत्रहरुमा नीतिगत कुराहरुको पालना भई रहेका छैनन् । न त प्रशासनिक निकाय जिम्मेबार हुन सकेका छन् न त सामाजिक निकायहरु नै जिम्मेबार हुन सकेका छन् । यी अव्यवस्थाका कारण समाजमा विभिन्न विकृतीहरु आई परेका छन्, जस्तैः बलात्कारका घटनाहरु, चोरी र अपचलन जस्ता कार्यहरु, कसैको चरित्र हत्या हुनु वा गर्नु , अपहरण, शरीर बन्धक बनाउनु, यौन शोषण गर्नु, कसैको सम्पति कब्जा, फिरौति माग गर्ने जस्ता घट्नाहरु धेरै सुनिन थालिएका छन् । समाजलाई धेरै आर्थिक तथा मानवीय क्षति पुरयाउने खालका घट्नाहरु धेरै घटिन थालेका छन् । सबै घट्नाहरु घट्नमा हाम्रा समाजका तल तपकाका सरोकारबालाहरु नै जिम्मेबार भएको देखिन्छ । यसलाई समाधान गर्न समाजमा नैतिकवान तथा चरित्रवान नागरिकहरुको उत्पादनमा सबैको ध्यान जानु आवश्यक छ । सामाजिक पद्धतिलाई जडै देखि उखेल्न तत्काल नै आवश्यक पहल गर्नु पर्ने देखिन्छ । समय बित्दै गएर समस्याको जडा मजबुत हुँदै गएर उखेल्न कठीन हुन जान्छ । समाजमा भएका अप्रिय घट्नाहरुको सङ्ख् यामा कमी ल्याउन कुनै नियन्त्रणकारी उपाय भन्दा सहयोगात्मक उपाय नै बढी प्रभावकारी हुन सक्दछ । यसका लागि घरपरिवार देखि समाजसम्मका वातावरणमा आवश्यक सचेतना तथा नियन्त्रणका उपायहरु अपनाउनु आवश्यक भएको छ । वाल्यावस्था उमेरका सन्तानहरुलाई नैतिक मूल्य उकास्ने किशिमका व्यवहारहरुमा निरन्तर पृष्ठपोषण तथा सुझाब सहितका कुराहरुमा अभिभावक सजग हुन आवश्यक छ ।

सँधै सुनि रहनु पर्ने केही सामाजिक विकृतिजन्य व्यवहार न्यून गर्ने तथ्यहरुः जस्तै झुठो बोल्नु हुन्न, कसैको समान चोरी लुकाउनु हुन्न, आफ्ना चरित्र जहिले पनि असल बनाई राख्न त्यसका सबै पक्षहरुमा ध्यान दिनु पर्ने, ठूलालाई आदर तथा सानालाई माया गर्नु, आदर्श व्यक्तित्वहरुको कदर गर्ने खालका व्यवहार प्रदर्शन गर्नु, धार्मिक महत्वका क्षेत्रहरुको संरक्षणमा ध्यान दिनु, समाजकबा मूल्यमान्यताहरुको अध्ययन तथा जगेर्ना गर्नु जस्ता कुराहरुमा आफ्ना सन्तानहरुलाई प्रशिक्षण आवश्यक भएको छ । स्कूल, कलेज तथा विश्वविद्यालयहरुमा अध्ययन गरिने कोर्सहरुमा यस्ता उच्च तहका संसारिक सिद्धान्तहरुको अध्ययन अध्यापन गर्ने कार्यलाई प्राथमिकतामा राख्नु पर्ने आवश्यक छ । सहकारितालाई बृद्धि गर्न सबै संलग्न व्यक्तिहरुमा इमान्दारिताका साथै उनीहरुको सक्रियता पनि आवश्यक हुन्छ । कुनै सामाजिक सन्दर्भमा भएका कार्यहरुलाई सबैको पहुँचमा हुने गरी गर्न नैतिकता भएका सामाजिक समूहको आवश्यकता हुन्छ । ैतिकता विकासका मापदण्डलाई हरेक वर्ग तथा क्षेत्रहरुमा कायम हुने गरी आवश्यक व्यवस्थ पन गर्न आवश्यक भएको छ । यसका लगि सत्य बोल्न, अनुशासित भएर बसी तोकिएका कार्यहरु गर्न, सकारात्मक विचार सहितका प्रयासलाई प्रोत्शाहन गर्न, सहकार्य र सहिष्णुता सहितका सामाजिक सम्बन्धहरुको सञ्जाल तयार गर्न, जुन सुकै समूह तथा स्थानमा कसैले कसैलाई नढाँटीकन व्यावहार गर्न, राष्ट्रप्रतिको समर्पित भावलाई जोगाइ राख्न, समय(समयमा यसलाई प्रदर्शनका लागि व्यवस्थापन गर्ने जस्ता कार्यहरु गर्न सबैले पहिचान गरी यसमा सत्यभाव सहित सबै लाग्नु पर्ने बेला पो आएको छ ।

नैतिकताको अभाव भएर नै अहिले कोभिड(१९ को सङ्क्रमण रोकथामका लागि गरिएका प्रयासहरुमा पनि भ्रष्टाचार भई रहेका तथ्यहरु बाहिरिनु दुर्भाग्य नै मान्नु पर्दछ । यसको अवस्था समाजैपिच्छे फरक फरक छन् । गलत प्रबृति तथा आचरणलाई कुनै अवस्थामा प्रोत्शाहित गर्नु भएन । वर्तमान समाजको संरचनामा देखिएका मूल विसंगतिका पक्ष यहि नै हो । यस अवस्थाले भ्रष्टाचारका जडा झन् झाङ्गिदै गएको अवस्था आउँछ । भ्रष्टाचारलाई निर्मूल गर्नका लागि पनि नैतिक विकासको ढाँचा वृद्धि हुन हाम्रो समाजमा अनुकुल वातावरण निर्माण हुनु आवश्यक छ । नेपालको सन्दर्भमा खास गरी सामाजिक अपराधका जघन्य अपराधजनिक घट्नाहरुलाई अदालतमा नलगी सामाजिकस्तरबाट समाधान गर्ने अभ्यास पनि भई रहन्छन् । यी अभ्यासलाई कुनै पनि अर्थमा सामाजिक न्याय तथा प्राकृतिक न्यायको सिद्धान्तले उपयुक्त मानिदैन । अहिलेको समाजमा जे जति रुपान्तरण भइ राखेका छन् ती परिबर्तनहरुमा स्थायित्व हुन केही समय लाग्न सक्दछ । समाजमा अपेक्षित परिबर्तनका लागि विभिन्न औपचारिक निकायहरु, संस्थाहरु संगठनहरुको भूमिका महत्वपूर्ण हुन्छन् । समाजमै रहेर नजिकबाट तोकिएका कार्यहरु गर्नका लागि औपचारिक संस्थाको रुपमा स्थापित शैक्षिक संस्थाहरु स्थापित छन् । खास अर्थमा अरु(अरु संस्था भन्दा यी शैक्षिक संस्थाहरु सबै भन्दा सक्रिय रहेर निरन्तर पठनपाठन लगायतका अन्य कार्यहरु सह तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरी रहेका हुन्छन् । वर्तमान अवस्थामा भयावह किशिमले विश्वस्तरमा कोरोना महामारीको सङ्क्रमण बढ्दै गरेको अवस्थाले गर्दा मान्छेका जीवन अत्यन्त कष्टकर बन्दै गई रहेका छन् ।

यसलाई विश्व स्वास्थ्य संगठनले महामारीको श्रेणीमा राखेर मान्छे बचाउ अभियानलाई सफल बनाउन विश्वका अधिकांश राष्ट्रहरुलाई एक अर्कासँग समन्वयात्मक सहयोग सञ्जाल तयार गरी भाइरससँगको लडाईलाई सफल बनाउने अभ्यास खेली रहेका छन् । यस महामारीको बेलामा समाजका विविध क्षेत्र भन्दा शिक्षा र सार्बजनिक यातायातका अवस्था हालसम्म पूर्ण रुपमा सञ्चालनमा आएका छैनन् । अब विस्तारै यस क्षेत्रलाई पनि स्वास्थ्यका मापदण्ड तयार गरी सबैको सकारात्मक सहयोगको अपेक्षा गर्दै सञ्चालनमा ल्याउन थालिएका छन् । २०७७ सालको चैत महिना देखि लगातार हुँदै गरेका लकडाउनले गर्दा विद्यालय र यातायातका साधनहरु पूर्ण रुपले ठप्प नै थिए । यी बीचका अवधिमा मानवीय जीवनलाई अत्यन्त कष्टकर बनाई दिएर फेरी पूर्बबत अवस्थामा ल्याउन सबैबाट फरक अभ्यास गर्नु पर्ने आवश्यकता छ । विकसित राष्ट्रहरुमा महामारी भएका बेलामा पनि केही न केही अवसरहरुलाई पहिचान गरी समाजमा भई रहने विकासका गतिविधिहरु सञ्चालनका बिभिन्न बैकल्पिक उपायहरु अपनाउने काम पनि भई रहन्छन् । नैतिकतालाई परिभाषित गर्न यसका सामान्य अर्थबाट सुरुवात गर्नु पर्दछ । कुनै समाजले भविष्यलाई लक्षित गरी मानव समूहले के के गर्नु हुन्छ ? के के गर्नु हुन्न ? ती व्यवहार संहितालाई कतिसम्म पालना भएका छन् ? सबैलाई मूल्याङ्कन गरी व्यक्तिहरुको नैतिक मूल्यको आँकलन गरिने अभ्यास हाम्रोमा छ र अरु अन्य समाजहरुमा पनि छ । नैतिक व्यवहारलाई एउटा व्यक्तिलाई मात्र सापेक्षमा राखेर आँकलन गर्न सकिन्न । यसलाई त जहिले पनि तुलनात्मक हिसाबले ब्याख्या तथा विश्लेषण गर्न सकिन्छ ।

हाम्रा परिवारिक विरासतलाई हेरेर, बुझेर, सम्झेर, गलती सच्याएर कसैबाट व्यावहार भएको छ भने त्यो नै उसको व्यवहार आकृतीकरण भएको बुझिन्छ । कुनै व्यक्तिमा एकै पटक उच्च नैतिकस्तर विकास भई हाल्ने होइन । नैतिक स्तरलाई उच्च बनाउनका लागि सुरुका आधारलाई मजबुत बनाउनु आवश्यक छ र यसका लागि सबै भन्दा बढी जिम्मेबार परिवारका सदस्यहरु नै हुन्छन् । हाम्रो सभ्यतालाई पनि सम्झेर यसमा धेरै परिबर्तनहरुलाई अद्यावधिक गरी नवव्यवहारको ढाँचालाई विकसित गर्न अवश्यक छ । समाजमा सकारात्मक तथा नकारात्मक किशिमका व्यवहार प्रदर्शन भई रहेका हुन्छन् । घरपरिवारमा विनघरका सदस्यहरुबाट के(कस्ता व्यवहारहरु प्रदर्शन गरिन्छ, त्यसैमा भर पर्दछ । वालवालिकाहरुको नैतिक व्यवहार तथा त्यसका मूल्य पनि उमेर बढदो हिसाबले लेखाजोखा भई रहन्छन् । उदाहरणका लागि घरका अग्रज सदस्यहरु एकापसमा गाली गरेर कर्कश आवाजमा कुरा गर्दछ भने त्यसैलाई भावी सन्ततिहरुले अनुकरण गरी समाजमा गएर त्यस्तै किशिममा व्यवहार गरी आफ्ना मूल्यलाई घटाइ नैतिक मूल्यमा पनि ह्रास भई रहेको हुन्छ । अन्ततः नैतिकताको खडेरी भएको र कसैबाट सत्य व्यवहारका लागि आवश्यक पहल हुन नसकेको अवस्थामा यसलाई सुधार गर्नका लागि अरुलाई नपर्खिकन आफैबाट यसको सुरुवात गर्ने अभियन्ताहरु आवश्यक भएको छ । यसकालागि कुनै विज्ञापन प्रकाशन गरी रहनु परेन । समाजमा भएका विभेदीकरणको अंश बढ्दो छ । अधिकांश वर्गहरु शोषण, दमन, उत्पीडनको सिकार भई रहने अवस्था छ ।

सबैले आफूलाई सक्षम सशक्त तथा उर्जावान बनाई तोकिएका कार्यक्षेत्रमा गई अधिकतम समय सदुपयोग गरी सामाजिक संरचनालाई जीवन्तता प्रदान गर्ने तिर सबै कामकाजी व्यक्तित्वहरुसँग विनम्र अनुरोध गर्दछु ।

Comment

Related News

Latest News

Trending News