२०७७ आश्विन १६, शुक्रबार ०६:१६

चन्द्रमास जसमा संक्रान्ति पर्दैन त्यसलाई मलमास वा अधिकमास भनिन्छ । नेपाली महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । यस पालिको मलमास अंग्रेजी महिनाको सितम्बर १८ तारिखदेखि अक्टुबर १६ सम्म अर्थात नेपाली महिना आश्विन २ गते देखि ३० गतेसम्म परेको छ । यी दुबैको बीचमा महिनाको पहिलो दिन अर्थात संत्रान्ति परेको देखिँदैन ।

हिन्दु परम्परा अनुसार प्रत्येक महिनाको कुनै न कुनै देवी/देवतासँग जोडेर देखाइन्छ तर मलमासलाई अतिरिक्त महिना भनेर यसलाई कुनै देवी/देवतासँग जोडेर देखाउँदैन । अर्कोतिर मलमासलाई बिष्णुमास पनि भनिन्छ किनभने हिरण्यकश्यप जस्ता महा आततायी राक्षसलाई मार्न मलमासको सिर्जना गरिएको देखिन्छ । हिरण्यकश्यपलाई ब्रहबाट भेटेको वरदान अनुरुप कुनै दिन रात, महिना वा वर्षमा नमर्ने वरदान पाएको हुनाले अधिकमास निर्माण गर्नु परेको देखिन्छ । यसैले मलमासलाई अर्को नाम पुरुषोत्तम मासको नामले पनि जानिन्छ । अर्कोतिर मानिसको के विश्वास छ भने मलमास भरी वर्षा हुने हुनाले पनि यसलाई मलमास भनेको हो । मलमासलाई आधुनिक ज्योतिष तथा भौतिक शास्त्रले यस्ता कुराहरूलाई नकारेर सौर्यवर्ष र चन्द्रवर्षको सन्तुलन कायम गर्न बनाइएको मास हो । भौतिक शास्त्र अनुसार सौर्य वर्ष ३६५ दिन ६ घंटा लामो हुन्छ भने अर्को तिर चन्द्र वर्ष ३५४ दिन ९ घंटाको हुँदो रहेछ । यी दुवैको अलग–अलग सूर्य र पृथ्वीको परिक्रमाको कारणले हुन्छन् ।

पृथ्वी पूरै सूर्यलाई परिक्रमा गर्न ३६५ दिन ६ घंटा लाग्छ भने चन्द्रमालाई पूरै पृथ्वीको परिक्रमा गर्न ३५४ दिन ९ घंटा लागेको देखिन्छ । यी दुवैको अन्तर लगभग ११ दिन हुँदो रहेछ । यी ११ दिनलाई समावेश गर्न प्रत्येक तीन वर्षमा एउटा मलमास परेको हुन्छ । प्रत्येक तीन वर्षमा बढी भएको ३ दिन अर्थात प्रतिवर्ष बढी भएको १ दिनलाई समावेश गर्न ३० वर्षमा एउटै वर्ष भित्र २ वटा मलमास परेका हुन्छन् । त्यस वर्षलाई केही बढी अशुभ वर्ष मानिन्छ । मलमासलाई शुभ÷अशुभको हिसाबले फरक÷फरक मत रहेका छन् । पहिलो पंक्तिमा उभिएका विद्वानहरूको के मत छ भने यो अधिक मास निकै अशुभ मास भएको हुनाले कुनै किसिमको शुभ कार्य गर्नु÷गराउनु हुँदैन । यस महिना भित्र घरको शिलान्यास घर प्रवेश, जन्म दिन तथा अन्य शुभ कार्य गर्नु÷गराउनु हुँदैन । यस्तै मन्दिर निर्माण, मंदिर प्रवेश आदि धार्मिक कार्यलाई पनि गर्न मान्यता दिदैन । नब दुल्ही जसको विवाहको १ वर्ष नाघेको हुँदैन, उसले ससुराली अर्थात दुल्हाको घरमा बस्नु अशुभ मानिन्छ । व्यक्ति मात्र कहाँ हो र ! मलमासमा पति पत्नीको बीचमा यौन सम्बन्ध समेत कायम गर्नु हुँदैन किनभने मलमासभित्र गरेको गर्भधारणबाट जन्मिएको बच्चाको जीवन लामो हुँदैन ।

यतिसम्म देखिन्छ कि मलमास आ–आफ्ना कुल देवता ब्रह्मस्थान तथा अन्य मंदिरहरूमा स्थापित देवी देवताहरूका पूजा आजा समेत बन्द गरेका हुन्छन् । उनीहरूको के विश्वास छ भने यस्ता मास कुनै हिसाबले शुद्ध हुँदैन । अर्कोतिर मलमासलाई पुरुषोत्तम मास बुझ्ने विद्वानहरूले यसलाई अति पबित्र मास मानेर काम गर्न सल्लाह दिन्छन् । यसलाई विष्णु मास सम्झेर जस्तो सुकै शुभ काम गर्न रोक लगाएको देखिँदैन । यसै मासमा हिरण्यकश्यप जस्तो आततायी राक्षसको बध भएको थियो । अधर्म माथि धर्मको विजय भएको थियो । यस्ता शुद्ध मासलाई अशुद्ध भन्नु आफैमा एउटा बिडम्बना रहेको देखिन्छ । यसैले यस मासमा जे जस्तो पूजा–पाठ, जन्म दिन, गृह प्रवेश, विवाह आदिलाई रोक्नु हुँदैन । रोक्नु भनेको भगवान विष्णुको अनादर गर्नु हो । हाम्रो धर्मशास्त्रमा पनि राक्षसको बध हुँदा हामी खुशी मनाउँछौ भने अर्कोतिर कुनै धार्मिक व्यक्तिको स्वर्गवास हुँदा हामी दुःखी हुन्छौं । यसैले यो महिना धार्मिक दृष्टिकोणले पनि कही कतै अशुद्ध देखिँदैन । अब रह्यो कुरा गेरूका स्नानको । मिथिलाका जति नदीहरू छन् सबै हाम्रा जगत जननी जानकीका सखी रहेली हुन् ।

प्रत्येक नदीमा कुनै न कुनै स्नानको शुभ दिन मिथिला महात्म्यमा उल्लेख छ । यी नदीहरूमा नुहाएर जानकी माताको स्मरण गर्दा पापबाट मुक्ती पाउँछन् र मोक्ष प्राप्ति हुन्छ । यसैले होला पुरुषोत्तम मासमा गेरूका नदीमा गर्ने स्नानको बेग्लै महत्व छ । कोसी, कमला, बिमला, बिघी, रातु, बाग्मती, नारायणी आदि सबै नदीहरू जानकी सखी सहेली भित्र आउँछन् । यी सखी सहेलीका साथमा जानकी माता आफ्नो बचपन जीवन बिताएको उल्लेख छ । यी नदीहरूका आ–आफ्नै महत्व रहेका छन् । बाह्रै महिना कुनै न कुनै नदीमा स्नानको बेग्लै बिशेषता रहेको देखिन्छ । यस्तै मलमासको समयमा गेरूकामा स्नान गर्दा बढी फलको भागीदार हुँदो रहेछ भने जन विश्वास छ । यो गेरूका नदी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका अन्तर्गत वडा नं. ४ भित्र खुट्टा र पिपराढी गाउँको बीचमा अवस्थित छ । जनकपुरधाम देखि यो ठाउँ लगभग ५ किलोमीटर पश्चिममा रहेको छ । रेल चालु रहँदाको बखत रेलबाट, ट्रैक्टर, बैलगाडा, टायरगाडा, साइकिल, मोटरसाइकिल, मोटर, जीप, ई रिक्शा आदि सबारीद्वारा स्नान गर्न जान्छन् । स्नान गर्ने ठाउँमा दुइटा नदी बिघी र गेरूकाको मिलन भएको हुनाले यसलाई निकै पबित्र मानेका छन् ।

त्यसैले मलमासमा कम्तीमा एक चोटी स्नान गर्दा जीवनमा गरेको पापहरूबाट मुक्ति पाइन्छ भने जनविश्वास छ । गेरूका मेला लाग्ने ठाउँमा भोले तथा गेरूका बाबाको मन्दिर रहेका छन् । मानिसहरू पबित्र गेरूका जलमा स्नान गरी भोले तथा गेरूका बाबाका मन्दिरमा जल चढाउने काम गरेका हुन्छन् । मिथिलामा सबै नदीहरूको महत्व उतिकै रहेको देखिन्छ । यस मेलामा खास गरी पुरुष भन्दा महिलाको संख्या बढी रहेका हुन्छन् । महिलाहरू त्यसो पनि मेला ठेलामा जानलाई बढी रूचि राख्छन् । नेपाल खास गरी पुरूष प्रधान देश रहेकोले महिलाहरू घरबाट बाहिर निस्कन यस्तै मौकाको खोज तलासमा रहेका हुन्छन् । मेलामा खास गरी आइतबार तथा मंगलवारका दिन बढी भीड रहेका हुन्छन् । हुनत अन्य दिनमा समेत मानिसहरू स्नान गरी महादेव तथा गेरूका बाबालाई पूजा गरेको देखिन्छ । यस मेलामा जनकपुरधाम वरिपरि देखि केही भारतीय सिमा नजिकका मानिसहरू मेला भर्न आएका हुन्छन् । यसबाट यस क्षेत्रका व्यापारीहरू केही आम्दानीका श्रोत पाएका हुन्छन् । हुनत यस मेलालाई स्थानीय सरकारले त्यति व्यवस्थित गर्न सकेको छैन । आधुनिक तरिकाले यसलाई व्यवस्थित गर्ने आवश्यकता रहेको देखिन्छ ।

नदीलाई तटबन्ध गरी घाटको व्यवस्था गरि दिए अझै धार्मिक पर्यटकको संख्या बढ्ने थिए होला । त्यहाँ मेला भर्ने मानिसहरू पूजा पाठ सकिएपछि दही जिउरा खाने गर्छन । कसै कसैले आफ्ना घरैबाट बनाएर ल्याएका दाल पुरी, चामलको रोटी, गहुँका तेल पुरी आदि खान्छन् । खाने पानीको व्यवस्था ठीक देखिएन । सुरक्षाको सबालमा केही प्रहरीहरू खटिएका हुन्छन् जो सुरक्षा दिइरहेका हुन्छन् । मेला अवधिभर सरसफाइमा ध्यान दिनु पर्ने हुन्छ । सरसफाइतिर राम्ररी ध्यान गएन भने विभिन्न सरूवा रोग सर्ने सम्भावना त्यतिकै हुन आउँछ । अर्कोतिर दिसा पिसाबको लागि अस्थायी शौचालयको व्यवस्था हुनु नितान्त आवश्यक छ । भेला–ठेलामा दिसा–पिसाबबाट पनि धेरै प्रकारका रोग सर्ने सम्भावना त्यतिकै रहेका हुन्छन् । मेलालाई आधुनिक किसिमले प्रबन्ध गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको छ । यदि यस्ता सुधारहरू गर्न सकिएन भने भोली यसको दुष्परिणाम पनि स्थानीय ग्रामीण जनतालाई नै भोग्नु पर्ने हुन्छ । यसैले अहिलेदेखि सतर्क भै दिए बाहिरका पर्यटकहरूलाई समेत तान्न सकिन्छ, अन्यथा भन्न सकिन्न । निष्कर्षमा भन सकिन्छ कि मलमास कुनै अशुद्ध महिना होइन ।

भौतिक शास्त्र अनुसार सौर्यमास तथा चन्द्रमास बीचको फरकलाई मिलाउन यस्ता मास आएको छ भने धार्मिक शास्त्र अनुसार भदौ, भदवा तथा मलमासलाई एकै समान मानेर हेर्ने गर्छन । मलमास भित्र कुनै किसिमको पूजा पाठ तथा अन्य शुभ कर्महरू गरेको देखिँदैन । अर्को पक्षका विद्वानहरू यसलाई पुरुषोत्तम मास अर्थात विष्णुमास मानेको हुनाले निकै पबित्रमासको रूपमा लिने गर्छन । मलमासमा पूजापाठ तथा अन्य धार्मिक कार्यक्रमहरू गर्दा बढी फलको भागीदारी हुन्छन् । हुनत मिथिलामा जे जति नदी, पोखरी, तलाउ, कूप छन् ती सबैको आ–आफ्नै महत्व रहेका छन् । एक चोटी यी जलाशयहरू मध्ये कुनै एकमा स्नान गरे पछि पुण्यको भागीदारी हुन जान्छ । मिथिला महात्म्यमा पनि यस्तै कुरा उल्लेख छ । त्यसैले होला मिथिलालाई पबित्र भूमि मानेर नै विश्वका विभिन्न ठाउँबाट पर्यटकहरू आएका हुन्छन् र धार्मिक पुण्य लिइ गएका हुन्छन् । यस मासमा गेरूका स्नान गर्दा सोझै विष्णु भगवानबाट आर्शिवाद प्राप्त हुन्छ भने जन विश्वास छ । अस्तु ।

Comment

Related News

Latest News

Trending News