अपडेट 
२०७६ चैत्र २०, बिहीबार ०९:१५

जनकपुरधाम मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सव(रामनवमी) पर्वलाई जानकी मन्दिरले बिधिपूर्वक मनाउने भएकोछ ।विहिवार भगवान रामको जन्मोत्सव तिथि परेकोछ ।

भगवान रामको ससुराली जानकी मन्दिरमा जन्मोत्सवको सबै तयारी भइसकेकोछ ।‘भगवानको जन्मोत्सव विधिबिधान पूर्वक मनाइनेछ’जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने, श्रद्धालु भक्तजनहरुको सहभागिता बिना नै सबै आयोजन हुनेछ ।

आ–आफ्नो घरमा नै श्रद्धाभक्ती पूर्वक भगवान रामको जन्मोत्सव मनाउन उनले भक्तजनहरुलाई आग्रह गरे ।विषम परिस्थितिमा घरबाट बाहिर निस्कने अवस्था नरहेकाले घरमै रहेर भगवानप्रति श्रद्धाभक्ती अर्पण गर्न दासले सुझाव दिए ।

प्रदेश सरकारलेपनि रामनवमी महोत्सवमा भक्ति र श्रद्धामा कुनै कमि आउन नदिन आ–आफ्नो सुरक्षित वासस्थलमा नै जन्मोत्सव मनाउन आग्रह गरेकोछ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले भगवान रामको जन्मोत्सवमा हजारौ मानिसहरुको सहभागिता हुने भएपनि कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकाले जानकी मन्दिर, राम मन्दिर लगायत कुनैपनि मठमन्दिरमा समुहगत रुपमा भेला भएर पुजापाठको आयोजन नगर्न आग्रह गरेका छन् ।
‘घरबाटै भगवानको जन्मोत्सव मनाउनु अहिलेको बाध्यता हो’ उनले भने, भगवान रामले चाँडै संकटबाट मुक्ती दिनेछ ।

आस्था र भक्तिसित जोडिएको भगवान रामको जन्मोत्सवमा प्रत्यक्ष सहभागिता हुने चाहना भएपनि यस पटक लकडाउन रहेकाले त्यसको अवज्ञा स्वयंका लागि आत्मघाती हुन सक्ने भएकाले घरबाट नबाहिरिन मन्त्री यादवले आग्रह गरे ।

सरकारले भ्रमण वर्ष २०२० रद्द गरिसकेको छ ।धार्मिक आयोजनहरु रद्द भइसकेका छन् ।परम्परागत रुपमा मनाइने महोत्सवहरु महन्थ पुजारीले औपचारिक रुपमा पुजापाठ गरिन मात्र मनाउने निर्देशन दिइएकोछ ।भगवान रामको जन्मोत्सव अयोध्यामापनि औपचारिकतामा नै सिमित भएकोछ ।

जनकपुरधाम लगायत देशको विभिन्न भागहरुमा रामनवमी पर्व हर्षोल्लासका साथ मनाइन्छ ।

तर कोरोनाको प्रकोपले रामनवमी महोत्सवलाईपनि आफ्नो चपेटमा लिएकोछ ।भगवान मन्दिरहरुका पट(मुल ढोका) बन्द गरिएकोछ ।सर्वसधारणको प्रवेशलाई निषेध गरिएकोछ ।

चैत नवमीको नामलेपनि प्रचलित रामनवमी महोत्सवमा हजारौ मानिसहरुको सहभागिता हुने गरेको जनकपुरधामको सडकहरु सुनसान छन् ।सबै सवारी साधनहरु बन्द छन् ।मानिसहरुलाई घरबाट बाहिर ननिस्कन सरकारले कडा निर्देश जारी गरेकोछ ।चैते दशमी र चैते छठ पर्वमा पनि मन्दिर र घाटहरु सुनसान थिए ।छठ पर्व श्रद्धालुहरुले आ–आफ्ना घरको छत र आँगनमा नै मनाए ।

Comment


Related News

Latest News

Trending News