अपडेट 
२०७६ चैत्र २०, बिहीबार १२:४७

जनकपुरधाम : भारतको नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको मुस्लिम समुदायको धार्मिक सभा (तबलिगी जमात)मा सहभागी भएर नेपाल फर्केको आशंकामा प्रशासनले ३५ जनालाई नियन्त्रणमा लिएको छ।

धार्मिकसभाबाट फर्केको सूचनाको आधारमा सप्तरी प्रशासनले २६ जनालाई र सुनसरी प्रशासनले एक जनालाई नियन्त्रणमा लिएर बुधबार नै क्वारेन्टाइनमा राखिसकेको छ। आज थप ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबै मुस्लिम समुदायकै व्यक्ति हुन्। उनीहरु दिल्लीबाट फर्केको स्विकार्न तयार छैनन्।

तबलिगी जमातमा सहभागी १६ राष्ट्रका करिब ८ सय जनालाई दिल्ली प्रशासनले क्वारेन्टाइनमा राखेको छ। तीमध्ये ३ सय ७८ जना कोरोना संक्रमित रहेको पुष्टि भइसकेको छ। केहीको ज्यान समेत गइसकेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्। क्वारेन्टाइनमा राखिएकामध्ये २० जना नेपाली पनि छन्।

उक्त जमातमा सहभागी भएर सप्तरीमा ८ जना आएको प्रशासनले सूचना पाएपछि उनीहरुको खोजी सुरु गरेका थिए। जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकृत आनन्द ठाकुरले राजविराजबाट ७ जना, कञ्चनरुप नगरपालिकाबाट १७ जना र छिनमस्ता गाउँपालिकाबाट २ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको बताए।

उनका अनुसार सुनसरी नाकाबाट राजविराजकै एक जनालाई नियन्त्रणमा लिएर धरान लगी क्वारेन्टाइनमा राखेको वडाध्यक्षले जानकारी गराएका छन्। यस्तै आज बरसाइनमा ८ जनालाई नियन्त्रणमा लिएको पनि सूचना आएको छ। उनीहरु सबै सप्तरी बाहिरका छन्। उनीहरुलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ। क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य परीक्षण गरिनेछ।

‘नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएकामध्ये कोही पनि दिल्लीको धार्मिकसभाबाट फर्केको स्वीकार गरिरहेका छैनन्,’ सूचना अधिकृत ठाकुरले भने, ‘उनीहरुमध्ये कोही फारबिसगन्ज त कोही विहारका सहर गएर फर्केको भन्छन्। तर उनीहरु कुनै न कुनै रुपमा धार्मिक गतिविधिमै गएका थिए।’

Comment


Related News

Latest News

Trending News