Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७६ चैत्र २०, बिहीबार १४:४६

कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने मेसिन प्रदेश २ को जनकपुरस्थित प्रादेशिक अस्पतालमा आइपुगेको छ। मेसिन लिएर मंगलबार दिउँसो नै विज्ञहरु आए पनि जडान गर्न धौधौ परेको छ।

प्रादेशिक अस्पतालले कोरोना परीक्षण गर्ने मेसिन राख्न उपयुक्त कोठाको व्यवस्था गर्न सकेको छैन। मेसिन जडान गर्न आइपुगेका विज्ञ सुरेन्द्र मधुपले अस्पतालको तेस्रो तल्लामा एउटा कोठा उपलब्ध गराए पनि उपयुक्त नरहेको गुनासो गरे। उनले जसोतसो सोही कोठामा मेसिन जडान सुरु गरिएको बताए।



उनले भने, ‘कोठाको ढोका सीधा करिडोरमा खुल्ने गरेको छ। यसले कोरोना परीक्षण गर्न समस्या हुन्छ। कोठामा पार्टेसन समेत गरिएको छैन। यस्तो ठाउँबाट भाइरस लिक हुने सम्भावना हुन्छ।’ मेसिन जडान र कोठामा पार्टेसन भइसकेपछि आजै रातिबाट परीक्षण सुरु गर्ने उनको भनाइ छ।

संघीय सरकारले स्वास्थ्य मन्त्रालय मार्फत प्रदेश २ का लागि बायोसेफ्टी क्याबिनेट मेसिन, पोर्टेबल रियल टाइम (पीसीआर) मेसिन, संक्रमण मार्नका लागि अटो केल्भ मेसिन र केमिकल रि–एजेन्टसहितका उपकरण तथा सामग्री पठाएको छ।

कोरोना परीक्षण मेसिन दैनिक १० घण्टा चलाउन सकिने बताइएको छ। विज्ञ मधुप भन्छन्, ‘यो मेसिनले एक घण्टामा एकजनाको रिपोर्ट दिन्छ। दैनिक १० जनाको मात्र परीक्षण गर्न सकिन्छ।’ विरामीको संख्या बढेको खण्डमा नमूना परीक्षणका लागि काठमाडौंस्थित टेकु अस्पताल नै पठाउनुपर्ने उनको भनाइ छ।

कोरोना परीक्षणका लागि तीनजना विज्ञ जनकपुर आइपुगेका छन्। परीक्षण गर्न आवश्यक पर्ने ५ सय किट पनि तत्काल पठाएको छ। कोरोना परीक्षण गर्ने विज्ञ र स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउनुपर्ने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) १ हजार सेट पठाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले वीरगन्ज र राजविराजमा समेत कोरोना परीक्षण ल्याब सञ्चालन गर्ने निर्णय गरेको छ। तर ती दुई ठाउँमा ल्याब कहिले सञ्चालन हुने विषयमा स्पष्ट भएको छैन।

Comment


Related News

Latest News

Trending News