अपडेट 
२०७६ चैत्र २२, शनिबार ०९:५०

जनकपुरधाम। कोरोना भाइरस (कोभिड-१९)को गतिविधिबारे जानकारी गराउन प्रदेश २ का सामाजिक विकास मन्त्रालयले पनि ‘मिडिया ब्रिफिङ’ सुरु गरेको छ।

मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले हरेक दिन दिउँसो ४ बजे कोरोना भाइरसको प्रदेशभरिका गतिविधि विषयमा ‘मिडिया ब्रिफिङ’ गराउने बताए। उनले चैत २१ गतेसम्म कोरोना संक्रमणको आशंकामा ९३ जनाको स्वाव परीक्षणका लागि काठमाडौं पठाएकोमा २३ जनाको रिपोर्ट निगेटिभ आएको जानकारी गराए।

उनका अनुसार ५० जनाको रिपोर्ट आउन बाँकी छ। अब प्रदेश २ को जनकपुरस्थित प्रादेशिक अस्पतालबाटै कोरोना परीक्षण सुरु भइसकेकाले काठमाडौं पठाउने बाध्यता छैन। छिट्टै वीरगन्ज र राजविराजमा समेत कोरोना परीक्षण ल्याव सञ्चालनमा आउने जानकारी दिइयो। त्यसका लागि मेसिन खरिद प्रक्रिया सुरु भइसकेको उनले बताए।

प्रदेश २ मा अहिलेसम्म १२७ वटा क्वारेन्टाइन र ८१ आइसोलेसनबेड तयार भइसकेको सचिव घिमिरेले जानकारी दिए । उनले भने, ‘क्वारेन्टाइनमा कूल २ हजार ५०१ बेड रहेकोमा ७७१ जना भर्ना छन्। स्वास्थ्यकर्मीको सल्लाहअनुसार ९२५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। उनीहरु स्वाथ्यकर्मीको निगरानीमा छन्।’

प्रदेश २ का १४ जनालाई कोरोनाको आशंकामा आइसोलेसनमा समेत राखिएको सचिव घिमिरेले बताए। उनका अनुसार अहिले तयार क्वारेन्टाइन र आइसोलेसन अपुग छन्। थप क्वारेन्टाइन र आइसोलेसन बेड तयार गर्न आवश्यक देखिएको छ। क्षमता विस्तार गर्ने कार्य पनि अगाडि बढाइएको छ।

खुला बोर्डले प्रदेश २ मा ठूलो प्रभाव पारेको पनि सचिव घिमिरेले बताएका छन्। उनले प्रदेशमा जनघनत्व बढी भएकाले सामाजिक दूरी कायम गर्न चुनौती देखिएको औँल्याए। ‘असुरक्षित बसोबासको अवस्था उच्च छ,’ उनले भने, ‘जसले गर्दा लकडाउन कार्यान्वयण गराउन समस्या देखिएको छ।’

Comment


Related News

Latest News

Trending News