अपडेट 
२०७६ चैत्र २२, शनिबार १७:२३

जनकपुरधाम । कतार एयरवेजबाट फर्केका तीन युवकको ‘स्वाब’ परीक्षण आज जनकपुरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हुने भएको छ।

चैत ४ गते कतार एयरवेज क्यूआर-६५२ विमानबाट नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण देखिएको थियो। त्यही विमानमा आएका महोत्तरीका दुई र धनुषाका एक युवकको ‘स्वाब’ परीक्षण आज प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हुन लागेको हो।

उनी तीनै जनालाई सामाजिक अभियन्ता सरोज रायले प्रयोगशालामा ल्याएर भर्ना गराएका छन्। विगत ३÷४ दिनदेखि रुघाखोकी लागेपछि उनीहरूलाई परीक्षणका लागि बोलाएको अभियन्ता रायले जानकारी दिए। उनका अनुसार तीनै जनाको परीक्षण सुरु भइसकेको छ।

‘एउटै विमानमा आएकी युवतीमा कोरोनाको संक्रमण पुष्टि भएपछि आफूले काठमाडौंमा सम्पर्क गरेको थिए’, परीक्षण गराउन आइपुगेका महोत्तरीका एक युवकले भने, ‘तर त्यतिबेला कुनै लक्षण देखा परेको थिएन। अहिले रुघाखोकी लागेपछि सरोज दाइले परीक्षण गराउनुपर्छ भनेर यहाँ ल्याउनुभयो।’

शुक्रबारदेखि सञ्चालनमा आएको कोरोना परीक्षण मेसिनले सोही दिन ५ जनाको ‘स्वाब’ परीक्षण गरेका थियो। त्यसबेला परीक्षण गरिएका पाँचै जनाको रिपोर्ट निगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Comment


Related News