अपडेट 
२०७६ चैत्र २२, शनिबार १८:३३

जनकपुरधाम ।  प्रदेश दुईको बिभिन्न आइसोलेशन वार्डमा कोरोना संक्रमणको आशंकामा राखिएका बिरामी मध्ये अहिलेसम्म ७९ जनाको थ्रोट स्वाब परिक्षण गराए । जसमध्ये ३८ जनाको रिपोर्ट निगेटिभ आएको छ भने ४१ जनाको रिपोेर्ट आउन बाँकी रहेको छ । भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने आशंकामा त्यस्ता व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम समेत जारी नै छ ।

प्रदेश दुईमा कोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म ७ सय ७१ जनालाई प्रदेशको बिभिन्न जिल्लामा रहेको १ सय २७ वटा क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन् । भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका ७ सय ७१ जनालाई प्रदेश दुईको विभिन्न क्वारेन्टाइनमा राखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा ५ सय ३१ बेड संख्याको १६ वटा क्वारेन्टाइन बनाए । जहाँ १ सय ८२ जनालाई क्वारेन्टाइनमा र ४ जनालाई होम क्वारेन्टाइनमा राखिए ।

रौतहटको ९ बेड क्षमताको आईसोलेशन वार्डमा अहिलेसम्म कुनै बिरामीलाई राखिएको छैन । त्यस्तै बारामा ३ सय ७९ बेड क्षमताको ११ वटा क्वारेन्टाइनमा अहिलेसम्म ४० जनालाई राखिएको छ । बारा जिल्लास्थित कलैया अस्पतालमा निर्माण गरिएको २० वटा आईसोलेशन बेडमा अहिले ५ जनालाई कोरोनाको आशंकामा राखिएको छ भने १६ जना होम क्वारेन्टाइनमा छन् ।

पर्सामा १ सय ७१ बेड क्षमताको ७ वटा क्वारेन्टाइन बनाए । त्यहाँ २१ जना क्वारेन्टाइनमा र ४ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा बनाइएको ८ बेडको आईसोलेशन वार्डमा अहिले ४ जनालाई बिरामीलाई राखिएको उनले बताए ।

सप्तरीमा ४ सय ९५ बेड क्षमताको २९ वटा क्वारेन्टाइनमा अहिले २ सय २३ जनालाई निगरानीमा राखिएको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको ९ वटा आईसोलेशन वार्डमा अहिलेसम्म कुनै बिरामीलाई राखिएको छैन । सिरहामा १ सय ३८ बेड क्षमताको १९ वटा क्वारेन्टाइनमा अहिले १ सय ४१ जना र होम क्वारेन्टाइनमा ७२ जना रहेका छन् ।

त्यस जिल्लामा १३ बेडको आईसोलेशन रहेकोमा त्यहाँ अहिलेसम्म कुनैपनि बिरामीलाई राखिएको छैन् । धनुषामा ३ सय २६ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले ७४ जनालाई राखिएको झाले जानकारी दिए । धनुषामा अहिले २० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । धनुषामा १२ वटा आइशोलेसन रहेकोमा ५ जनालाई आईसोलेशनमा राखिएको हो ।

त्यस्तै महोत्तरीमा २ सय २५ बेड क्षमताको १२ वटा क्वारेन्टाइन बनाए । त्यहाँ अहिलेसम्म ४ सय ४९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ३७ जनालाई राखिएको छ । महोत्तरीमा ८ वटा आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कसैलाई पनि राखिएको छैन ।सर्लाही जिल्लामा २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ५३ जना रहेका छन् भने ३२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । दुईवटा आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि बिरामी नरहेको झाले बताए ।

Comment


Related News

Latest News

Trending News