अपडेट 
२०७६ चैत्र २३, आईतवार १५:४९

 जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रण गर्न खुलेर सहयोग गर्न स्वास्थ्यकर्मीहरुसँग याचना गरेका छन्।

केही दिनअघि मुख्यमन्त्री राउतले सुरक्षा अधिकारीहरुसँगको बैठकमा बिरामीको उपचार गर्न डराउने अस्पताल र स्वास्थ्यकर्मीको लाइसेन्स रद्द गर्ने चेतावनी दिएका थिए। त्यस विषयमा व्यापक टिकाटिप्पणी हुन थालेपछि मुख्यमन्त्री राउतले स्वास्थ्यकर्मीहरुसँग सहयोगको याचना गरेका हुन्।

एक भिडियो सन्देश जारी गरेर मुख्यमन्त्री राउतले अहिले संकटको घडीमा स्वास्थ्यकर्मीहरुको साथ चाहिएको औल्याएका छन्। उनले सीमित स्रोतसाधनभित्र चाहिने स्वास्थ्यकर्मीको सबै आवश्यकता पूरा गर्न तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। उनले स्वास्थ्यकर्मीको बीमा गर्नेदेखि लिएर पिपिई लगायतका सुरक्षा सामाग्री उपलब्ध गराउने पनि बताएका छन्।

‘स्वास्थ्यकर्मीको साथमा प्रदेश सरकार रहेकाले डराउनु पर्दैन’, उनले भनेका छन्, ‘यहाँहरुको बीमादेखि लिएर पारिश्रमिक शतप्रतिशत बढोत्तरी गर्नेछौं।’ प्रदेश सरकारले स्वास्थ्यकर्मीको ५० लाखको बीमा र जोखिम भत्ता तलबको शतप्रतिशत दिने निर्णय यसअघि नै गरिसकेको छ।

सुरक्षा सामाग्री माग्दै स्वास्थ्यकर्मी

कोरोना भाइरस सम्बन्धी गतिविधिबारे सूचना संकलन गर्ने उद्देश्यले प्रदेश सरकारको निर्णय बमोजिम सामाजिक विकास मन्त्रालयले टोल फ्रि नम्बर ०४१–५९०४१४ सार्वजनिक गर्यो।

अहिले यो नम्बरमा दैनिक हजारौं फोन आउँछन्। तर फोन भने अधिकांश स्वास्थ्यकर्मीहरुले गरिरहेको मन्त्रालयका सचिव रामप्रसाद घिमिरे बताउँछन् । उनी भन्छन्, ‘स्वास्थ्यकर्मीहरु पिपिईसहितका सुरक्षा सामग्री माग्दै फोन गर्ने गरेको पाइएको छ।’

धनुषा, महोत्तरी र सर्लाहीबाट बढी फोन आउने गरेको उनले बताए। उनले पिपिई, मास्क, ग्लोब्स जस्ता सुरक्षा सामग्री कस्तो अवस्थामा प्रयोग गरिने विषयमा स्वास्थ्यकर्मीहरुले बुझ्न आवश्यक भएको औल्याए। कोरोना संक्रमितको उपचार गर्ने बेलामा मात्र पिपिई लगाउनुपर्ने मापदण्ड डब्लुएचओले बनाएको उनको भनाइ छ।

उनले डब्लुएचओले स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्रीका लागि बनाएको मापदण्ड जिल्लाहरुमा पठाउन थालिएको जानकारी गराए। उनले भने, ‘मापदण्ड सबै स्वास्थ्यकर्मीहरुले थाहा पाउन जरुरी देखिएको छ।’

Comment


Related News

Latest News

Trending News