अपडेट 
२०७६ चैत्र २६, बुधबार २०:१५

बुटवल । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव उठेको छ। आज प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा पीडित परिवार र सरोकारवालाहरुबीच सहमति भएपछि मृत्यु भएको ११ औं दिनमा शव उठेको हो। 

कोरोना आशंकामा उपचारका क्रममा चैत १६ गते मृत्यु भएका बाबुरामको परिवारले उपचारमा लापरवाही भएको भन्दै शव उठाउन मानेका थिएनन्। सामाजिक विकासमन्त्री सुदर्शन बरालले सहमति कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाएका छन्। मृतक थापाकी श्रीमती रीतालाई सैनामैना नगरपालिकामा रोजगारी दिने, दुई छोराहरुलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने तथा विभिन्न संघसंस्थाद्वारा आर्थिक सहयोग गर्ने गरी सहमति भएको छ। थापाको बुधबार नै मगरघाटमा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन्।

पाल्पा रिब्दिकोट स्थायी घर भएका थापाको मृत्युका विषयमा पाल्पाली समाजले मन्त्रालयसँग समन्वयको काम गरेको थियो। समाजकै अगुवाइमा संविधानसभा सदस्य विनोद पहाडी, अधिवक्ता एंव पाल्पाली समाजका अध्यक्ष पदम कार्की, समुन्द्र जिसी सहितको टोलीले शव उठाउने विषयमा छलफल थालेको थियो। समाजले पीडित परिवारसँग छलफल गरेपछि त्यही प्रस्तावमा मन्त्रालयमा सहमति जुटेको हो।

सरकारका तर्फबाट रोजगारी र अध्ययनको व्यवस्था भएको र अन्य विभिन्न संघसंस्थाका तर्फबाट आर्थिक सहयोग जुटाउने काम भएको संविधानसभा सदस्य विनोद पहाडीले बताए। पाल्पाली समाजको समन्वयमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र पाल्पाको रिब्दिकोट गाउँपालिकाले साढे ५ लाखको आधारभूत कोष खडा गर्ने सहमति भएको समाजका अध्यक्ष पदम कार्कीले बताए। यसमा अतिरिक्त टण्डन समाजले १ लाख ५० हजार, थापा परिवारबाट १ लाख र अन्यबाट व्यक्तिबाट ४१ हजार रुपैयाँ उठिसकेको छ।

कोरोनाको आशंका गरेर चैत १३ गते बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा थापालाई भर्ना गरिएको थियो। चैत ६ गते दुबईबाट काठमाडौं फर्किएका थापा चैत ७ गते रुपन्देही सैनामैनामा फर्किएका थिए। काठमाडौं आएदेखि नै ज्वरो, रुघाखोकीले सताएपछि स्थानीय मेडिकलमा उपचार गर्न पुगेका थिए। तर त्यहाँको उपचारले निको नभएपछि उनी बुटवलस्थित कोरोना अस्पताल पुगेका थिए।

थापाको स्वाब परीक्षण दुई पटकसम्म गर्दा पनि कोरोना संक्रमण भने देखिएन। तर परिवारले भने लापरवाही भएकाले शव नउठाउने बताउँदै आएका थिए। थापाका श्रीमती र २ छोरा छन्। 

Comment


Related News

Latest News

Trending News