अपडेट 
२०७६ चैत्र २६, बुधबार २०:१९

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने विश्लेषण गरेको छ । अर्थतन्त्रको मासिक विश्लेषण गर्दै मन्त्रालयले कोभिड–१९ को संक्रमण विश्वका अधिकांश मुलुकमा बढ्दै गएको भन्दै यसले आगामी दिनमा विश्व अर्थतन्त्र र नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने उल्लेख छ । मन्त्रालयले फागुन महिनासम्मको बजेट तथा अर्थतन्त्रको विश्लेषण गर्दै कोरोनाका कारण पर्यटक आगमनमा संकुचन आएको उल्लेख गरेको छ । चैत महिना लागेपछि भने पर्यटक आगमन ठप्प भएको छ । ११ चैतदेखि भने मुलुक लकडाउनमा गएको थियो ।

कोभिड १९ को असर वैदेशिक व्यापारमा समेत प्रत्यक्ष देखिने विश्लेषण मन्त्रालयको छ । खासगरी व्यापार र निर्माणको काम प्रभावित हुँदा त्यसले अर्थतन्त्रका धेरै क्षेत्रमा प्रभाव पार्नेछ । फागुनसम्म अन्य आर्थिक परिसूचक भने सकारात्मक रहेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । कुल सरकारी खर्च लक्ष्यअनुसार हुन नसके पनि अघिल्लो वर्षको तुलनामा माथि नै रहेको अर्थले उल्लेख गरेको छ । आयतबाट हुने भन्सार राजस्वमा कमी आए पनि समग्र राजस्व संकलन फागुन मसान्तसम्म संतोषजनक रहेको अर्थले उल्लेख गरेको छ ।

निर्यात बढ्दै गएको र आयात घट्दा त्यसले वैदेशिक व्यापारमा सुधार देखिएको छ । शोधनान्तर स्थितिसमेत सुधार भएको छ । व्यापार घाटा गत आवको यसै अवधिको तुलनामा कम भएको छ । वैदेशिक सहायतामा समेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या पनि वृद्धि भएको छ । तर, कोरोनाको विश्वव्यापी कहरसँगै चैत महिनामा भने अर्थतन्त्रका अधिकांश अवयव करिव ठप्प रहेका छन् । जसले गर्दा अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने आंकलन गरिएको हो ।

अर्थतन्त्रमा पार्ने प्रभावबारे अर्थले अध्ययन गर्दै

मन्त्रालयका अनुसार, अर्थतन्त्रमा कोरोना संकटको प्रभावबारे अर्थ मन्त्रालय आफैंले पनि अध्ययन गरिरहेको छ । त्यसका लागि राजस्व सचिव रामशरण पुडासैनीको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ । यता, सरकारले अर्थतन्त्रमा पारेको समग्र प्रभावको अध्ययन गर्ने जिम्मेवारी भने राष्ट्रिय योजना आयोगलाई दिएको छ ।

Comment


Related News