अपडेट 
२०७६ चैत्र २८, शुक्रबार १२:५१

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था गनुगमन गर्न उच्चस्तरीय नेटवर्क गठन गरिएको छ।

मानवअधिकारको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघबीच सहकार्य गरी नेटवर्क गठन गरिएको हो।

‘वर्तमान जटिल परिस्थितिमा कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारबाट भैरहेका कार्यहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्यलगायतका विषयहरुको अनुगमन गरी आवश्यक सुझाव दिन चारवटै संस्थाहरुका पदाधिकारीहरु रहेको उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरी कार्य सुरु गरिएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उच्चस्तरीय अनुगमन समितिमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्याल संयोजक, आयोगका सचिव वेद भट्टराई, नेपाल बार एसोशियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासविच लीलामिण पौड्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामा, महासचिव रामप्रसाद सुवेदी र आयोगका निर्देशक डा. टीकाराम पोखरेल रहेका छन्।

‘अनुगमनलाई थप प्रभावकारी बनाउन केन्द्रीय स्तरको गनुगमन समितिसहित सातवटै प्रदेशहरुमा आयोगका प्रदेश कार्यालय प्रमुख, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्थ महासंघ नेपालका प्रदेश अध्यक्षहरु रहने गरी प्रदेशस्तरीय समिति गठन गरिने छ,’ विज्ञप्तिमा लेखिएको छ।

देशका ७७ वटै जिल्लामा नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघका अध्यक्षहरु रहने गरी जिल्लास्तरीय अनुगमन समिति गठन गरी कार्य गर्ने निर्णय गरिएको छ। 

Comment


Related News

Latest News

Trending News