अपडेट 
२०७६ चैत्र २९, शनिबार १९:५३

जनकपुरधाम। बारा प्रहरीले लकडाउन अवधिमा गरीब परिवारलाई गुणस्तरहीन खाद्यान्न राहत वितरण गरिएको भन्दै एक कोल्ड स्टोर्समा शिलबन्दी गरेको छ ।

राहतमा गुणस्तरहीन खाद्य सामग्री वितरण हुने क्रम नरोकिएपछि बारामा प्रहरीले कारबाही स्वरुप शनिबार बाराको कलैया उपमहानगरपालिकास्थित यादव कोल्ड स्टोर्समा सिलबन्दी गरेको हो ।

राहतका लागि वितरण गर्न राखिएको तीन सय ८० बोरा दालसहितको खाद्यान्नमा प्रहरीले सिलबन्दी गरिएको बताइएको छ । पूर्व सभासद राधेचन्द्र यादवको नाममा रहेको कोल्ड स्टोर्समा दाल राख्ने व्यक्तिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ प्रहरी समक्ष कलैया वडा नं. २० बसतपुरमा वितरण भएको दाल गुणस्तरहीन भएको गुनासो आएको थियो । प्रहरी टोलीले गएर हेर्दा दाल गुणस्तरहीन रहेको आशंका गर्दै वितरणमा रोक लगाएर २५ बोरा नियन्त्रणमा लिएको थियो ।

कहाँबाट खरिद गरिएको हो ? भन्नेबारे अनुसन्धानका क्रममा प्रहरीले यादव कोल्ड स्टोर्सको ठेगाना पत्ता लगाएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले कोल्ड स्टोर्समा थप ३ सय ८० बोरा दाल भेटिएपछि परीक्षणका लागि नमुना लिएर चेकजाँचका लागि पठाइएको जानकारी दिएका छन ।

वडाध्यक्ष महम्मद इमामुद्दीनले भने विपक्षीले राजनीति गरेका कारण राहत वितरणमा अवरोध उत्पन्न भएको गुनासो गरेका छन् । उनले अब प्रशासनले वितरण गर्न अनुमति दिएपछि मात्रै राहत वितरण गरिने जानकारी दिए ।

लकडाउनमा प्रभावित विपन्न वडावासीका लागि राहत वितरण गर्ने तयारी भइरहेकै क्रममा विपक्षीले प्रशासनमा उजुरी गरिदियो, प्रमुख जिल्ला अधिकारीले नमुना संकलन गरेर परीक्षणका लागि पठाएको छ अब नतिजा आएपछि जे हुन्छ त्यही अनुसार गर्ने उनले भने ।

जिल्लाका विभिन्न स्थानबाट कम गुणस्तरका राहत सामग्री वितरण भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएको थियो ।

प्रशासनले यसअघि वडा नं २२ बाट ६ सय १५ जनालाई वितरण गरिएको राहत खाद्य सामग्रीमध्ये करिब ५० परिवारलाई वितरण गरिएको खाद्य सामग्री फिर्ता गर्न लगाई जफत गर्ने, त्यसको सट्टामा वडाबाट नयाँ चामलको वितरण गर्ने व्यवस्था गर्न लगाउने र जफत गरिएको चामल परीक्षणका लागि नमुना संकलन गर्न आदेश पनि दिएको थियो ।

Comment


Related News

Latest News

Trending News