अपडेट 
२०७६ चैत्र ३०, आईतवार १५:४९

जनकपुरधाम । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका तीन जनामा कोरोना भाइरसको संक्रमण पाइएको पुष्टि भएपछि सो क्षेत्रका जनता त्रसित बनेका छन्।

स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले तीनै जनाको रिपोर्ट ‘पोजेटिभ’ आएको पुष्टि गरे। यद्यपि उक्त रिपोर्टबारे उनीहरू उपचारारत अस्पतालका चिकित्सकहरू अनभिज्ञ छन्। अस्पताललाई मन्त्रालयले अहिलेसम्म आधिकारिक जानकारी गराएको छैन।

गत बिहीबार वीरगन्ज उपमहानगरपालिका-२ का वडाध्यक्षले तीनै जनाको स्क्रिनिङका लागि अस्पताल लगेका थिए। चिकित्सकले उनीहरूको ‘स्वाब’ संकलन गरी बिहीबार नै कोरोना परीक्षणका लागि हेटौडास्थित ल्याबमा पठाए। शुक्रबार दिउँसो तीनै जनाको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ देखियो। तर, चिकित्सक अलमलमा परे।

रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय परीक्षण प्रयोगशालामा पठाइयो। त्यहाँ पुनः परीक्षण गरियो। त्यहाँ पनि रिपोर्ट पोजेटिभ नै आयो। प्रयोगशालाले स्वास्थ्य मन्त्रालयमा खबर गरेपछि सचिव कोइरालाले रिपोर्ट आज बिहानै सार्वजनिक गरे।‘वडाध्यक्षले नै फर्किन लागेको भन्दै स्क्रिनिङका लागि अस्पताल ल्याएका थिए’, उनले भने, ‘हामीले पनि कोरोना संक्रमित रहेको आशंका गरेर सतर्कतापूर्वक नै नमुना संकलन गरी परीक्षणका लागि पठाएका थियौं।’

तर, पोजेटिभ रिपोर्ट देखिएका बिरामी भर्ना रहेको नारायणी अस्पताललाई अझै सोबारे जानकारी दिइएको छैन। डा. मदन उपाध्याय भन्छन्, ‘यहाँ आइसोलेसनमा भर्ना तीन जनाको रिपोर्ट पोजेटिभ आएको विषयमा अझै आधिकारिक जानकारी प्राप्त भएको छैन। मैले त उनीहरूलाई सम्भावित संक्रमित नै भन्छु।’

पोजेटिभ रिपोर्ट आएका तीनै जना भारतीय नागरिक (मुसलमान) छन्। उनीहरूले भने ट्राभल हिस्ट्री लुकाएका छन्। ‘विगत ४ महिनादेखि नेपालमै रहेको उनीहरूको दाबी छ’, डा. उपाध्यायले भने, ‘मैले बुझेअनुसार उनीहरू पूर्वदेखि पश्चिमका कैयौं जिल्ला घुमेका छन्।’

डा उपाध्यायका अनुसार सरकारले लकडाउन गरेपछि उनीहरू वडाध्यक्षसँगै बस्दै आएका थिए। ‘वडाध्यक्षले नै फर्किन लागेको भन्दै स्क्रिनिङका लागि अस्पताल ल्याएका थिए’, उनले भने, ‘हामीले पनि कोरोना संक्रमित रहेको आशंका गरेर सतर्कतापूर्वक नै नमुना संकलन गरी परीक्षणका लागि पठाएका थियौं।’

कोरोनाको संक्रमण पुष्टि भइसकेका उनीहरूले चार महिनादेखि नेपालमै रहेको दाबी गरेपनि भारतको नयाँ दिल्लीको निजामुद्दिनमा भएको तवलिगी जमातमा सहभागी भएर फर्केको स्रोतको दाबी छ। तर, जनप्रतिनिधिले नै उनीहरूलाई संरक्षण दिएर राखेका थिए।

अपनाइएन सुरक्षा सतर्कता

आसोलेसनमा भर्ना भएका तीनै जना कोरोना संक्रमित पुष्टि भइसके पनि अस्पतालमा सतर्कता अपनाइएको छैन। पर्याप्त सुरक्षा सामग्रीसमेत मौज्दात नरहेको चिकित्सकहरूको गुनासो छ।

डा. उपाध्याय भन्छन्, ‘अहिले पिपिई, ग्लोब्स, मास्कजस्ता सुरक्षा सामग्री अस्पतालमा छ। तर, पर्याप्त छैन। एक सातासम्म प्रयोग गर्नेजति मात्र मौज्दात छ।’ अहिलेसम्म उनीहरू होम क्‍वारेन्टाइनमै बस्ने गरेको र अब होटलमा बस्नुपर्ने विषयमा छलफल भइरहेको उनले सुनाए।

संक्रमित तीनै जना जहाँ जहाँ बसेका थिए। ति सबै ठाउँका व्यक्तिको परीक्षण तत्कालै गर्नुपर्ने देखिएको छ। तर, यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन। उनीहरूको सम्पर्कमा बसेका वडाध्यक्षसहितका व्यक्तिहरूलाई क्‍वारेन्टाइनमा तत्कालै राख्नुपर्ने चिकित्सकहरू बताउँछन्।

यता, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले तीन जनामा कोरोना संक्रमण देखिनेबित्तिकै आत्तिनु नपर्ने बताए। उनले भने, ‘सुरक्षा सतर्कता अपनाउने विषयमा त्यहाँका प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको छ। उहाँहरू काम गर्नुहुन्छ।’

गैरजिम्मेवार प्रजिअ

पर्सामा तीनजना संक्रमित पुष्टि भइसकेपनि प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की गैरजिम्मेवार बनेका छन्। उनले कोरोना भाइरसविरुद्धको गतिविधिका लागि प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैया बैंकमै थन्काएर राखेका छन्।

प्रदेश सरकारले सुरक्षा सतर्कता सम्बन्धी काम गर्न, चिकित्सा सामग्री खरिद गर्न र जनचेतनामूलक कार्यक्रम गर्न दुई साताअगाडि नै ५० लाख रुपैयाँ पठाइयो। तर, हालसम्म ति रकमले कुनै पनि काम गर्न सकेका छैन। यतिसम्म की उनले फोन समेत उठाउन मानेका छैन।

Comment


Related News

Latest News

Trending News