अपडेट 
२०७६ चैत्र ३०, आईतवार १५:५४

वीरगञ्ज । वीरगञ्जमा भेटिएका कारोना संक्रमित तीन जना भारतीय नागरिकलाई उच्च सुरक्षाका साथ नारायणी अञ्चल अस्पतालमा राखिएको छ। शनिबार राष्ट्रिय जनसंख्या प्रयोगशालामा नुमना परीक्षणपश्चात कोरोना संक्रमण भएको पुष्टि भएसँगै वीरगञ्जस्थित एक मस्जिदमा रहेका तीनै जनालाई सुरक्षा बलको निगरानीमा राखिएको वीरगञ्ज महानगरपालिकाका सूचना अधिकारी अरविन्द लाल कर्णले बताए। उनले भने, ‘संक्रमितहरूले आफूलाई छाडिदिनु भन्ने कुरा गरिरहेका छन्। यस्तोमा उनीहरू भाग्नसक्ने जोखिम पनि हुने भएकाले प्रहरी परिचालन गरेर उनीहरुलाई उच्च निगरानीमा राखिएको छ।’

तीन जना संक्रमित रहेकै मस्जिदबाटै शनिबार राति अन्य २६ जनालाई नियन्त्रणमा लिइएको छ। यीमध्ये १६ जना भारतीय, ७ जना पाकिस्तानी र ३ जना नेपाली रहेको कर्णले बताए। उनले भने, ‘वीरगञ्जमा रहेका क्वारेन्टाइनमा उनीहरूलाई राखिएको छ। अहिलेसम्म तीन क्वारेन्टाइनस्थलमा लगभग १ सय जनालाई राखिएको छ।’

तीनै जना भारतीय रहेका संक्रमितहरू वीरगञ्जको एक मस्जिदमा थिए। मस्जिदभित्र संक्रमितहरूले धार्मिक कार्यक्रम गरिरहेको थिए वा थिएनन् भन्ने बारेमा अनुसन्धान जारी रहेको कर्णले बताए। धार्मिकसभा भएका थिए वा थिएनन्, र मस्जिदमा कति मान्छेको आवतजावत भएको थियो भन्नेबारेमा खोजी जारी रहेको उनी बताउँछन। उनी भन्छन्, ‘यो कुरा पुष्टि भएको छैन। हामीले अनुसन्धान गरिरहेका छौं।’

तर, संक्रमितहरू कहिले नेपाल भित्रिए भन्नेबारेमा टुंगो लागिसकेको छैन। कर्णले भने, ‘अनुसन्धान गरिरहेका छौं। अहिलेसम्म उनीहरूले आफ्नो नाम पनि बताइरहेका छैनन। आफू कहिले आएको पनि स्पष्ट भनिरहेका छैनन्।’ तीन जनामध्ये कोहीले आफू केही हप्ता अगाडि आएको त, कोहीले महिना दिन अगाडि आएको जस्तो कुरा गरिरहेको उनले बताए।

शनिबार संक्रमण भएको पुष्टि भएका तीनै जनालाई केही दिन अगाडिबाट क्वारेन्टाइनमा राखिएको थियो। कर्णले भने, ‘हामीले मस्जिदमा छन् भन्ने सूचना पाएपछि वीरगञ्जको सिद्धार्थ माविमा रहेको क्वारेन्टाइनमा राखेका थियौं। त्यहाँबाट स्वाब परीक्षण गर्दा अरुको नेगेटिभ आएपनि यी तीनजनाको हेटौंडामा गरिएको परीक्षणमा शंका देखिएपछि उनीहरूलाई आईसोलेसनमा राखेका थियौं। हिजो पुष्टि भएसँगै अहिले तीनै जना उच्च निगरानीमा आइसोलेसनमा राखिएको छ।’ मस्जिदबाट केहीदिन अगाडि नियन्त्रणमा लिएर २३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा भएकामध्ये तीन जनामा संक्रमण देखिएको हो।

संक्रमित देखिएसँगै महानगर क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ। कर्णका अनुसार आपत्कालीन बाहेकका सबै सेवालाई पूर्ण रुपले बन्द गरेर पालना गरेको नगरेको निगरानी गरिएको छ। उनले भने , ‘अहिले तीन जना संक्रमितलाई आइसोलेसनमा राखिएको नारायणी अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन्। आकस्मिक वार्ड पनि धेरै आपतकालीन अवस्था भएमा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

Comment


Related News

Latest News

Trending News