अपडेट 
२०७७ बैशाख १, सोमबार १५:२३

सप्तरी । लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको बादविवादका क्रममा बेहोस भएर एक जना बृद्वाको मृत्यु भएको छ ।

सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्घंघन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीसँग स्थानीय वासिन्दाको विवाद भएको थियो ।

‘हामीले काम नगरे खाना सरकारले दिनुपर्‍यो नि । हामी भोकै बस्ने हो ?’ भन्दै उनीहरुले बादविवाद गरिरहे’ सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी तिलक भारतीले भने, ‘त्यहीं क्रममा ६५ बर्षीया जयनव खातुन बेहोस भएकी हुन् ।’

बेहोस भएकी उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउनेवित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी मुटुका रोगी थिइन् ।

प्रहरीले आफैं बेहोस भएको बताएपनि स्थानीयले लक डाउन उल्लंघन रोक्न गएको प्रहरीले उनलाई कुटेपछि उनी बेहोस भएको जनाएका छन् ।

जयनवका पति हाजी कमरुद्धिन ट्याक्टरमा सामान लोड गरिरहँदा प्रहरीले उनी र पत्नी जयनवलाई कुटेको स्थानीयले बताएका छन् ।


Comment


Related News

Latest News

Trending News