अपडेट 
२०७७ बैशाख २, मंगलवार १४:२८

जनकपुरधाम । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि रौतहटका किशोरका परिवारका चार जनाको र्‍यापिड टेस्ट गरिएको छ। सोमबार साँझ तत्कालै घरै पुगेर चिकित्सकको टोलीले गरेको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको हो।

इशनाथ नगरपालिका घर भएका उनको परिवारमा बुबा, आमा, भाई र बहिनी गरी चार जना छन्। र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गर्दा संक्रमित किशोरको परिवारका चारै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी शशि मोहन दासले पुष्टि गरे।

उनका अनुसार चैत १६ गते भारतको नयाँदिल्लीबाट ती संक्रमित युवक घर फर्केका थिए। घर आएपछि उनको परिवारका सबै सदस्यले सतर्कता अपनाए। सोही कारण उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएन। राति घर आएका उनलाई विहानपल्टै चैत १७ गते गाउँकै विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।

किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि उनी बसेको क्वारेन्टाइनमा सुरक्षार्थ खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको पनि र्‍यापिड टेस्ट गरिएको छ। क्वारेन्टानसँग प्रत्यक्ष सम्पर्कमा रहेका ३९ जनाको र्‍यापिड टेस्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

संक्रमित किशोरलाई सोमबार राति वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। रौतहटमा आइसोलेसन बेड नभएका कारण उनलाई एम्बुलेन्समा राखेर सोमबार राति वीरगन्ज लगिएको नगरपालिकाका स्वास्थ्य संयोजक इसराजुल खानले बताए।

उनका अनुसार क्वारेन्टाइनमा राखेको ११ दिनसम्म संक्रमित किशोरमा कोरोनाको कुनै लक्षण देखा परेका थिएन। यद्यपि उनको कोरोना परीक्षणका लागि स्वाव संकलन गरी चैत २८ गते काठमाडौं पठाइयो।

‘रिपोर्ट पोजेटिभ आएपछि आश्चर्य लाग्यो,’ उनले भने, ‘ती किशोरलाई परीक्षण नगरी घर फर्काएको भए आज धेरै मासिनमा संक्रमण फैलिन्थ्यो।’ रिपोर्ट पोजेटिभ आएपछि ती किशोर बसेको क्वारेन्टाइनमा स्प्रेसमेत गरिएको उनको भनाइ छ।

Comment


Related News

Latest News

Trending News