अपडेट 
२०७७ बैशाख ३, बुधबार १४:२५

वीरगञ्ज । प्रदेश–२ सरकारले कोभिड विशेष अस्पताल बनाउने घोषणा गरेको बाराको कलैया अस्पतालमा हालसम्म कुनै तयारी छैन ।

यहाँ अहिलेसम्म  बिरामी राखेर उपचार गर्ने आइसोलेसन वार्ड छैन । ज्वरो जाँच गर्ने क्लिनिक र आकस्मिक सेवा सञ्चालन गरिएको छ भने १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

५० शय्याको अस्पतालमा आईसीयू पनि छैन । मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र मण्डल कोभिड अस्पतालका लागि तयारी भइरहेको बताउँछन् । ‘हामीले तयारी गरिरहेका छौं, अहिले मैले भन्न सक्ने यत्ति हो । बाँकी कुरा मन्त्रालयसँग नै सोध्नुस्’ उनले भने ।

कोभिड अस्पताल स्थापनाका लागि प्रदेश सरकारले रकम पठाएको छ त ? भन्ने अनलाइनखबरको प्रश्नको उनले जवाफ दिन चाहेनन् । डा. मण्डलले भने ‘प्रदेश सरकारलाई नै सोध्नुस् ।’

कलैया अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट मात्रै स्थायी छन् । अन्य चिकित्सक करारका हुन् । ८ जना मेडिकल अफिसर कार्यरत अस्पतालमा ८० जना कर्मचारी छन् । गाइनो, डेन्टल, बाल रोग, जनरल फिजिसियन १÷१ जना छन् । स्टाफ नर्स र अनमी गरी १४ जना सहयोगी स्वास्थ्यकर्मी छन् ।

कलैया अस्पतालमा कार्यरत चिकित्सक राहुल किरण कोरोना उपचारका लागि अस्पतालमा जनशक्ति पर्याप्त नभएको बताउँछन् । ‘अहिलेसम्म ठाउँ नै फिक्स भएको छैन, समानहरु पनि आएको थाहा छैन । ३० वटा पीपीई आएको पनि सक्किइसकेको छ’ उनले भने ‘कोभिड अस्पतालका लागि जनशक्ति पनि कम छ ।’

अरु २/३ जना थप चिकित्सक भएकोभए सिफ्ट बनाएर काम गर्न सकिने सम्भावना भए पनि अहिले कठिन रहेको उनको भनाइ छ ।

स्रोतका अनुसार अस्पताललाई आवश्यक काम शुरु गर्न प्रदेश सरकारले अनुमति दिइसकेको छ, तर काम भएको छैन । कलैयामा कोभिड अस्पताल सञ्चालन गर्ने ठाउँ खोजिएको छ, तर अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले कलैया अस्पतालमा संरचना निर्माण गरिएको छैन भने सामग्री खरिद पपनि भएको छैन ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले कोभिड अस्पतालका लागि प्रदेश सरकारको अन्तिम निर्देशनको प्रतीक्षा भइरहेको बताए ।

‘कोभिड अस्पतालका बारेमा ४ दिनअघि कुरा भएको हो । कोभिड र अन्य सेवा एकैठाउँबाट दिँदा संक्रमण फैलने खतरा हुन्छ । नियमित आकस्मिक सेवा अस्पतालबाट दिएर कोभिडका लागि अन्यत्रै व्यवस्थापन गर्ने भन्ने निर्णय भएको हो’ प्रजिअ पण्डितले भने ‘त्यसका लागि शैक्षिक तालिम केन्द्र सिफारिस गरेर पठाएका छौं । प्रदेश सरकारले अन्तिम निर्णय नगरी सकेको अवस्था छ ।’

तर मुख्यमन्त्री लालबाबु राउत बारा, पर्सा र रौतहटका लागि कलैयालाई कोभिड विशेष अस्पताल बनाउने निर्णय भएअनुसार तयारी पनि भइरहेको दावी गर्छन् ।

‘त्यहाँ साढे ५ करोड रुपैयाँ पैसा गइसकेको छ, कर्मचारी भर्ना गर्ने, भेन्टिलेटर राख्ने, आइसोलेसन वार्ड बनिसकेको छ’ उनले भने ‘कलैयाका मेसुसँग कुरा हुँदा आइसोलेसन वार्ड रेडी छ वीरगञ्जले भ्याउँदैन भने हामी राख्न तयार छौं भनेका छन् ।’

Comment


Related News

Latest News

Trending News