अपडेट 
२०७७ बैशाख ३, बुधबार १८:५१

काठमाडौं। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका ३ सयभन्दा बढीमा गरिएको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएपछि अपार्टमेन्टबासीले त्रास घटेको बताएका छन्।

मंगलबार अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अपार्टमेन्टबासी तथा अपार्टमेन्ट आसपास बस्ने स्थानीय त्रसित बनेका थिए। बुधबार र्‍यापिड टेस्ट गर्दा अपार्टमेन्टमा बस्ने कसैको पनि रिजल्ट पोजेटिभ देखिएन।

१ हजार ५ सयको बसोबास रहेको सनसिटी अपार्टमेन्टको ‘ए ब्लक’मा बस्दै आएका एकै परिवारका तीनजनाको र्‍यापिड टेस्ट गर्दा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो। टेकू अस्पतालमा पिसिआर गर्दा दुई जनामा संक्रमण पुष्टि भइसकेको छ भने एकजनाको रिपोर्ट अझै आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरू बेलायतबाट चैत ५ गते कतार एयरवेजमार्फत् नेपाल आएका थिए। र्‍यापिड टेस्टमा पाजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो।

सोेमबार कोरोना पोजेटिभ भेटिएसँगै अपार्टमेन्ट सिल गरेर प्रहरीले कडा शतर्कता अपनाएपछि त्यहाँ बस्दै आएका अन्य व्यक्तिहरू त्रसित बनेका थिए। सोही दिनदेखि प्रहरीले अपार्टमेन्टभित्रबाट कसैलाई पनि बाहिर आउन र बाहिरबाट भित्र जान अनुमति दिएको थिएन।

मंगलबारदेखि नै परीक्षण सुरु गर्ने भनिए पनि बुधबार बिहान मात्रै परीक्षण टोली अपार्टमेन्ट परिसरमै आएर परीक्षण सुरु गरेको थियो। ‘ए’ब्लकबाट सुरु गरेर ३ सय जनाको परीक्षण भइसके पनि हालसम्म सबै नतिजा नेगेटिभ आएपछि अपार्टमेन्टबासी उत्साही देखिएका सार्दक अधिकारी बताउँछन्।

‘संक्रमित बस्दै आएको ब्लक ‘ए’बाट परीक्षण सुरु गरिएको थियो, ३ सयभन्दा बढीको परीक्षण भइसकेको छ,’अपार्टमेन्टबासी अधिकारी भन्छन्, ‘अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ, यहाँ ताली बजाउने, सिट्टी बजाउने गतिविधि सुरु भएको छ। २÷३ दिनदेखि चिन्तित बनेका मानिसहरुमा केही हदसम्म खुसी छाएको छ।’

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले पनि ‘३ सय जनाको परीक्षण भइसकेको र सबैको रिपोर्ट नेगेटीभ आएको’ जानकारी दिए।

परीक्षणमा खटिएका टेकू अस्पतालका एक स्वास्थ्यकर्मीले हालसम्म ३ सयजना भन्दा बढीको परिक्षण भएको र संक्रमित बसेकै फ्ल्याटमा बस्ने दुईजनाको स्वाब परीक्षणका लागि टेकू पठाएको जानकारी दिए।

‘३ सयजनामध्ये २९८ जनाको रिपोर्ट नेगेटिभआएको छ,’ उनले भने, ‘दुई जनाको र्‍यापिड टेस्टमा नेगेटिभ आए पनि संक्रमित बस्ने फ्ल्याटमै बस्ने भएकाले थप चेकजाँच गर्न टेकू पठाइएको छ।’

संक्रमित बस्दै आएको ‘ए’ब्लकनजिकैको ‘बी’ब्लकमा बस्दै आएका सरोज थापाले पनि सबैको रिपोर्ट नेगेटिभ आएपछि आफूहरूमा खुसी छाएको जानकारी दिए।

‘सबै रिपोर्ट नेगेटिभ आउँदा खुसीछौं। सुरक्षागार्डसहितको परीक्षण भइरहेको छ। संक्रमितकै घरमा काम गर्दै आएका दुईजनाको रिपोर्ट आउन बाँकी छ,’ उनले भने, ‘उनीहरूको पनि नेगेटिभ नै रिपोर्ट आओस्, भन्ने आशा गरेर बसेका छौं।’

सनसिटीमा संक्रमित भेटिएको भन्ने थाहा पाएपछि अपार्टमेन्ट वरिपरिका मानिस पनि त्रसित बनेकाछन्। विभिन्न घरायसी काममा त्यहाँ काम गर्न जाने मानिसबाट संक्रमण फैलिने डर भएको उनीहरू बताउँछन्।

सनसिटीको मुख्यद्वार नजिकै बस्दै आएका दोलखाका एक व्यक्तिले पानीको जार, एटिएमलगायतका सामग्रीबाट कोरोनाबाहिर फैलिनसक्ने जोखिम रहेको बताए।

‘ वैशाख १ गतेभन्दाअगाडि धेरै टाइट थिएन, मानिसहरू हिँडने, बाहिर निस्किने भइरहेको थियो,’ उनले भने, ‘त्यहाँनजिकै ३/४ वटा बैंकका एटिएम छन्, पानीको जार पनि सबै तिर घुम्छन्, डरमर्दो भएको छ।’

केही दिनअघिसम्म पेप्सिकोला क्षेत्रमा लकडाउनको प्रभाव न्युन नै देखिने गरेको थियो। मोटरसाइकल प्रशस्तै गुडेका देखिन्थे भने पैदल हिँड्नेको पनि संख्या बाक्लो थियो। सनसिटीबाट पनि सार्दक अधिकारी दैनिक उपभोग्य सामान किन्न बाहिरसम्म आउने गरेको बताउँछन्।

‘अस्तिसम्म हामी सामान किन्न निस्किने गरेका थियौँ,’ उनले भने, ‘अपार्टमेन्टमा बस्दा ‘कमन’ कुराहरू पानीको जार, लिफ्ट र एटिएमजस्ता कुरा एउटै प्रयोग हुन्छन्, सर्छ कि भन्ने डर थियो। तर, ए ब्लकका लगभग सबैजनाको रिपोर्ट नेगेटिभ आएपछि खुसी लागेको छ। डर, चिन्ता घटेको छ।’

बुधबार बिहान पनि औषधी किन्नका लागि दिएको पैसा अपार्टमेन्ट बाहिरका मान्छेले नलिएको हुँदा प्रहरीको सहायता लिनुपरेको अनुभव पनि अधिकारीले सुनाए।

अहिले र्‍यापिड टेस्टमार्फत् सनसिटीमा बस्ने मानिसहरूको जस्तै त्यस आसपासका अन्य व्यक्तिहरूमा पनि परीक्षण गर्नु आवश्यक देखिन्छ।

स्थानीयबासीले भनेझैँ एटिएम र दैनिक उपभोग्य समानका पसलबाट कोरोना भाइरस फैलिएको छैन भन्न सकिने अवस्था छैन।

तर, कोरोनाभाइरस संक्रमणको उच्च सम्भावना भएका ‘ए’ब्लकमा बस्नै प्राय सबैको रिपोर्ट नेगेटिभ आएसँगै महामारी त्यही एक परिवारमा सीमित भएको स्थानीयको आँकलन छ। यसबाट सनसिटी र आसपासका मानिसको मनोबल पनि केही हदसम्म उच्च देखिएको छ।

‘पूर्ण रूपमा अपार्टमेन्ट एरिया सिल गरिएपछि दैनिक उपभोग्य सामानको अभाव भएको छ,’ सनसिटी निवासी सरोज थापा भन्छन्, ‘अब सबैको परीक्षणपछि केही व्यवस्था होला कि?’

यसैबीच, शंखरापुर अस्पतालका निर्देशक डा. रमेश ढकालले आरडिटीबाट नेगेटिभ आए पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने र एक हप्ताभित्र कसैलाई लक्षण देखिए पिसिआर गर्नुपर्ने भएकाले उत्सव मनाउने बेला नभएको चेतावनी दिएका छन्।

Comment


Related News

Latest News

Trending News