अपडेट 
२०७७ बैशाख ३, बुधबार २१:०२

रौटहट। रौटहटमा लकडाउनको उल्लंघन गर्नेहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन्। जिल्लाको गौर नगरपालिका–३ विपी चौकमा साँझ साढे ७ बजे लकडाउन उल्लंघन गरी दर्जनौं सर्वसधारण सडकमा निस्केका थिए। सोही क्रममा सम्झाउन पुगेका प्रहरीमाथि उनीहरूले ढुंगामुढा गरेका हुन्।

स्थानीयले ढुंगामुढा गरेपछि प्रहरी हवलदार महेश खङ्ग घाइते भएका छन्। बाँया खुट्टामा गम्भीर चोट लागेको प्रहरी हवलदार खङ्गलाई उपचारका लागि गौर अस्पताल पठाएको प्रदेश प्रहरी कार्यालयका एसपी जयराज सापकोटाले जानकारी दिए। उनका अनुसार हवलदार खङ्गको अवस्था सामान्य छ।

ढुंगामुढा गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘लकडाउन उल्लंघन गरेकाहरूलाई सम्झाउने क्रममा प्रहरीको मोबाइल गस्ती टोलीमाथि ढुंगामुढा गरेका थिए’, एसपी सापकोटाले भने, ‘स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुपर्‍यो।’ ढुंगामुढा गर्ने चारैजनामाथि कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए।

यस्तै रौतहटकै गरुडाको शिवनगर चोकमा लकडाउनको उल्लंघन गरी चलाएको मोटरसाइकल नियन्त्रणमा लिने क्रममा लडेर शिवनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक महेश कुमार यादव घाइते भएका छन्।

नम्बर नखुलेको मोटरसाइकल लिएर चालक भने फरार भएका छन्। लडेर घाइते भएका प्रहरी नायब निरीक्षक यादवको बाँया हातमा गम्भीर चोट लागेको छ। उनको स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ। थप उपचारका लागि उनलाई वीरगन्ज पठाइएको एसपी सापकोटाले जानकारी दिए।

रौतहटको इशनाथ नगरपालिकाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीले लकडाउन कडाइ गरेको छ। तर, सर्वसधारणले लकडाउनलाई पालना गर्न मानेका छैन।

Comment


Related News

Latest News

Trending News