अपडेट 
२०७७ बैशाख ४, बिहीबार १०:३९

कोरोना संक्रमण भएरनभएको जाँच गर्न सरकारले र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी) लाई प्राथमिकता दिएको छ ।

आरडीटी साधारण परीक्षण विधि हो । यसका लागि छुट्टै प्रयोगशाला आवश्यक पर्दैन । थोरै अवधिको तालिम लिएका व्यक्तिले पनि यसको परीक्षण गर्न सक्छन् । फिल्डमा परीक्षण गर्न यो विधि बढी प्रचलित छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार यो र्‍यापिड किटलाई विदेशबाट आएका धेरै व्यक्तिमा परीक्षण गरिएको छ ।

‘जो बाहिरबाट आउनुभएको छ । क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँहरूमा परीक्षण गर्ने नीति लिएका छौं,’ उनले भने । क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या मंगलवारसम्म ५ हजार ७ सय ७१ छ ।

७७ जिल्लामध्ये धेरैजसोमा आरडीटी विधिबाट परीक्षण शुरू भइसकेको छ । २१ जिल्लामा मात्र यो विधिबाट परीक्षण बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

आरडीटी विधिबाट ६ हजार ६ सय ७ वटाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र १३ सय १६ वटा यही विधिबाट परीक्षण गरिएको प्रवक्ता डा। देवकोटाले बताए । ‘यो विधिबाट गरिएको परीक्षणका क्रममा विभिन्न ठाउँका केस पोजिटिभ आएको जानकारी प्राप्त भएका छन्,’ उनले भने ।

यो विधिबाट १५ मिनेटमै पनि परीक्षण गर्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाले बताइन् । उनले भनिन्, ‘प्रयोगशाला परीक्षण वा कुनै पनि परीक्षण आफैंमा पूर्ण हुँदैन । बिरामीको अवस्था र अन्य परीक्षणसँग मिलाएर विश्लेषण गर्नुपर्ने हुन्छ ।’

संक्रमितको यात्रा गरेको विवरण, लक्षण, सीटी स्क्यानको रिपोर्ट, पीसीआरको नतिजा, एन्टिबडीको अवस्थालाई हेरेर विश्लेषण गर्नुपर्ने डा। झाको भनाइ छ ।

पीसीआर नै भरपर्दो

घाँटीमा रहेको खकारको पोलिमर्स चेन रियाक्सनबाट परीक्षण गर्ने विधि हो पीसीआर । प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार कोरोना भाइरस भएरनभएको परीक्षण गर्ने विश्वस्तरीय विधि नै पीसीआर हो । यो जटिल र लामो प्रक्रिया हो ।

यस विधिबाट गरिने परीक्षणका लागि विभिन्न मुलुकले मापदण्ड बनाएका छन् । निश्चित मापदण्ड बनाएर पीसीआर गरिन्छ । यसको परीक्षण गरी रिपोर्ट दिन २४ देखि ७२ घण्टा लाग्ने गरेको डा। झाले बताइन् । उनले भनिन्,

‘एकैचोटि नतिजा नआउने र जिनको पटक–पटक परीक्षण गर्नुपर्ने अवस्था पनि सिर्जना हुने भएकाले यति नै समयमा परीक्षण गरिसक्छौं भन्न कठिन हुन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यसमा संक्रमितको नमुनाका रूपमा संकलन गरिने स्वाबमा भाइरसको जिनको टुक्राको यकिन गरिन्छ । उनका अनुसार भाइरसको वंशाणुगत अंश ९जेनेटिक मटेरियल० छ कि छैन भन्ने परीक्षण हुन्छ । त्यो नमुनामा जिनको टुक्रा छ भने त्यस ठाउँमा भाइरस पनि बसेको रहेछ भने प्रमाणित हुन्छ ।

पीसीआरबाट ६ हजार २ सय ९९ को परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा नयाँ ५ सय ८४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

नमुना लिएको समयमा सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छरछैन यकिन गर्न यो विधि विश्वभर प्रचलित भएको डा। झाले बताइन् । भाइरस भेटिएको अवस्थामा संक्रमण रहेको पुष्टि हुन्छ । ‘एक जना व्यक्तिमा संक्रमण भइसकेपछि भाइरस कति दिनसम्म शरीरमा रहन्छ । त्यो व्यक्तिपिच्छे फरक हुन सक्छ,’ उनले भनिन् ।

रोग प्रतिरोधात्मक शक्तिका आधारमा कतिपयमा चाँडै भाइरस पहिचान हुन सक्ने उनले बताइन् । डा। झाले भनिन्, ‘कुनै व्यक्तिमा ३ देखि ४ सातासम्म यो भाइरस शरीरमा रहन सक्ने हुन्छ ।’

यो विधिबाट गरिने परीक्षणमा आरडीटीभन्दा धेरै समय लाग्छ । प्रयोगशालाको बनावट पनि विशेष खालको निर्माण गर्नुपर्छ । परीक्षण गर्ने व्यक्ति पनि विशेष तालिमप्राप्त विज्ञ हुनुपर्ने उनले बताइन् । डा। झाले भनिन्, ‘पीसीआरमा साधारणतया भाइरसका लागि २ वा ३ वटा जिन हेर्ने कोसिस गर्छौं ।’ भाइरसको पूरै जिन परीक्षणका लागि जिन सिक्वेन्सी हो । अर्को विधि भाइरस कल्चर हो ।

कोरोना भाइरस देखा परेपछि नै विश्वका विभिन्न वैज्ञानिकले परीक्षणका विभिन्न विधिबारे अनुसन्धान जारी राखेका छन् । भाइरससँग लड्नका लागि शरीरले बनाउने एन्टिबडी पनि परीक्षण गरी कोरोना पत्ता लगाउन सकिने सम्बन्धी नयाँ विधिको विकास भइरहेको डा। झाले बताइन् ।

रोग लागिसकेपछि सामान्यतः ३ देखि ५ दिनपछि र कसैको शरीरमा १ सातापछि पनि कोरोना भाइरसको लक्षण देखिन सक्छ ।

संक्रमितमा २ प्रकारको एन्टिबडी

कोरोना संक्रमित व्यक्तिको शरीरमा शुरूमा भाइरस मात्र भेटिन्छ । १ सातापछि आईजीएम र २ सातापछि आईजीजी एन्टिबडी भेटिन सक्ने निर्देशक डा। झाले मंगलवारको प्रेस ब्रिफिङमा जानकारी दिइन् ।

डा। झाका अनुसार कोरोना संक्रमित व्यक्तिको शरीरले २ किसिमको एन्टिबडी बनाउँछ । शुरूमा आईजीएम बनाउँछ । त्यसपछिको एन्टिबडी आईजीजी हो । रोग लागेपछि सामान्यतः तीनदेखि पाँच दिन ९व्यक्तिपिच्छे फरक हुन सक्छ० पछि शरीरमा देखिन थाल्छ । कसैको शरीरमा १ सातापछि पनि देखिन सक्छ । ‘आईजीएम झन्डै २–३ साता शरीरमा रहन सक्छ,’ उनले भनिन् ।

संक्रमितको शरीरमा १ महिनापछि भाइरस नेगेटिभ हुने सम्भावना हुन्छ । आईजीएम पनि नेगेटिभ भेटिन सक्ने डा। झाको भनाइ छ । उनले थपिन्, ‘शुरूका दिनमा पीसीआर मात्र पोजिटिभ आउन सक्छ । एन्टिबडीका लागि गरिने परीक्षण नेगेटिभ हुन्छ । परीक्षण गरेको हप्ता–दस दिनपछि पीसीआर पनि नेगेटिभ आउने र एन्टिबडी पनि पोजिटिभ आउने हुन सक्छ ।’

रोग लागेको २ हप्तापछि आईजीजी भन्ने अर्को एन्टिबडी शरीरमा बन्न थाल्छ । यो एन्टिबडी शरीरमा महिनौंसम्म रहन सक्ने डा। झाको भनाइ छ । ‘आईजीजी धेरै लामो समय रहन सक्छ । अरू रोगबाट यही अनुभव लिएका छौं,’ डा। झाले भनिन् । भाइरसजन्य रोगहरू डेंगु, हेपाटाइटिस, एचआईभीको पनि पहिचान एन्टिबडी परीक्षणको माध्यमबाट हुने गरेको छ ।

एन्टिबडी परीक्षण गर्ने विभिन्न विधिमध्ये एलाइजा हो । अर्को र्‍यापिड टेस्ट हो । एलाइजा परीक्षण पनि नेपालमै हुने गरेको छ । यसबाहेक एन्टिबडी परीक्षणमा सजिलो विधिका रूपमा र्‍यापिड किट हो । नेपालसहित अमेरिका, अस्ट्रेलिया, भारतलगायत मुलुकमा र्‍यापिड किटबाट परीक्षण भइरहेको छ ।

Comment

Related News

Latest News

Trending News