अपडेट 
२०७७ बैशाख ५, शुक्रबार १३:३३

काठमाडौं। कोरोना भाइरसको उत्पत्ति स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार २९० जना थपिएको छ ।

यसअघि फेला नपरेका र गणनामा छुटेका भन्दै १२ सय ९० जना मृतकको संख्यामा थपिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना गर्न नसक्दा उनीहरुको गणना छुटेको बताइएको छ ।

योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६३२ पुगेको छ । वुहानमा मात्र कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन हजार ८६९ भएको जनाइएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावले मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन नसकेको उल्लेख गरेको छ । त्यतिबेला अस्पताल र मेडिकलहरुमा बिरामीको चाप अधिक हुँदा वास्तविक संख्या छुटेको जनाइएको छ ।

यसअघि अस्पतालमा भर्ना भएकाभन्दा बाहेकका बिरामीको मृत्युलाई समावेश नगरिएको पनि अधिकारीहरुले उल्लेख गरेका छन् ।
चीनले वास्तविक मृतकको संख्या घटाएको आरोप लाग्दै गरेका बेला वुहानको तथ्यांक सच्चाइनुले आशंका गर्नेहरुलाई बल मिलेको छ ।

Comment


Related News

Latest News

Trending News