अपडेट 
२०७७ बैशाख ५, शुक्रबार १४:०३

जनकपुरधाम। जनकपुरधाममा दुई महिलाले सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएउका छन् । जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुई महिलाले सडक र पसल छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासी त्रसित भएका हुन् ।

आज दिउँसो एकबजे तिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीहरुको भनाई छ । निलो र हरियो रंगको साडी लगाएकी उनीहरुले करिब सय मिटरको दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेको त्यहाँका स्थानीयवासीहरुले बताए ।

सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि दुबैजना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीयवासीहरुले बताए । ‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिमजस्तै देखिने दुईजना महिलाहरु पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबैजना कुदेर भागे,’ महावीर चौकका एक स्थानीयले भने ।


स्थानीयवासीका अनुसार तीनचारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् ।त्रसित बनेका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर समेत गरेका छन् । सडकमा फ्यालिएका रुपैयाँका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन् ।सडकमा रुपैयाँ फ्याल्ने दुबै महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै स्थानीयवासीले दिएको सूचनाको आधारमा रुपैयाँ उठाउने व्यक्तिहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले नजिकै रहेको एक घरमा सीसीटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News