अपडेट 
२०७७ बैशाख ५, शुक्रबार १९:४४

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका चितवनका दुई जना आमाछोरा भएको खुलेको छ । उनीहरु राप्ती नगरपालिका–८ का हुन् ।

६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।

यसअघि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको हिजो राती कोरोना पोजिटिभ भएको नतिजा दिएको थियो । त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो । पूर्वी चितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित आमा र छोरा अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।

र्‍यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो । उनीहरुको हिजो (बिहीबार) स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो ।

कोरोना संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । बिहीबार भरतपुरमा ३६ जनाको कोरोना परीक्षण हुँदा पहिलो चरणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पाँच जनाको पुनः परीक्षण गर्दा तीन जनाको नेगेटिभ र दुई जनाको पोजिटिभ रिपोर्ट आएको थियो ।

बिहीबार दुई पटकसम्म परीक्षण गर्दा पनि उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ देखिएको उच्च स्रोतले बतायो । उनीहरु गत चैतमा विदेशबाट आएका थिए ।

चितवनमा कोरोना संक्रमणको यो पहिलो केस हो । यसअघि चितवनमा कोरोना संक्रमित फेला परेका थिएनन् ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको सङख्या ३० पुगेको छ । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ जनामा पनि कोरोना संक्रमण भएको खबर आएको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो कुराको पुष्टि गरेको छैन ।

Comment


Related News

Latest News

Trending News