अपडेट 
२०७७ बैशाख ८, सोमबार १९:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगर क्षेत्रभित्र बसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्यापिड डाइनोस्टिक परीक्षण (आरडीटि) लाई तिव्रता दिएको छ । सोमबारसम्म ३२ वडामध्ये २५ वडाका ८ सय ८ जनाको आरडीटि परीक्षण गरिएको महानगरले जानकारी दिएको छ ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारी पाएसँगै महानगरले सुरुमा वडा नम्बर–५ का ३९ जनाको आरडीटि परीक्षण गराएको थियो । महानगर सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार सोमबार मात्रै ६, ७, ८ र ९ का गरी १ सय ६८ जनाको परीक्षण गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको र अब १, २, ३, ११, २८, २९ र ३० वडाको परीक्षण गर्न बाँकी रहेको उनले बताए ।

आरडीटि परीक्षण सुरु गरेको दोस्रो दिन वडा–४ मा ५१ र तेस्रो दिन अर्थात बैशाख ५ गते ९, १०, १५, ३१ र ३२ वडाका ३ सय ८६ जनाको परीक्षण गरेको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । चौथौ दिन वडा नम्बर १८, १९, २०, २१, २२, २३, २४, २५, २६ र २७ गरी १० वडाका कुल ७८ जनाको परीक्षण गरिएको छ । उनीहरु पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो । आइतबार वडा १२, १३, १४, १५, १६, १७ र २६ गरी १ सय ७६ जनाको परीक्षण गरिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको थियो ।

महानगरका प्रमुख शाक्यले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेका लगायतका व्यक्तिहरुको संक्रमणको अवस्था पत्ता लगाउन परीक्षणलाई तिव्रता दिएको जानकारी दिए । उनले परिक्षणको क्रममा कोही छुटेका छन् र त्यस्तो जानकारी कसैलाई छ वा त्यस्तो व्यक्ति महानगरभित्र आएर बसोबास गरिरहेको कसैले देखेमा सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खवर गर्न आग्रह गरेका छन् । विदेशबाट फर्किएकाहरुको तथ्याङ संकलनको कामलाई पनि तिव्रता दिइरहेको प्रमुख शाक्यले जानकारी दिए ।

त्यस्तैगरी काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ढकालले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३ सय २१ जनाको विवरण संकलन गरेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News