अपडेट 
२०७७ बैशाख ९, मंगलवार १०:१४

जनकपुरधाम । कोरोना भाइरसको महामारीसँग यतिबेला विश्व लडिरहेको छ। हामी पनि लड्दै छौं। यस भाइरसको अहिलेसम्म कुनै औषधि पत्ता लाग्न सकेको छैन। नेपाल सरकारले कोरोना संक्रमण फैलिन नदिन देशलाई लकडाउन गरेको छ। सबभन्दा पहिले त सम्पूर्ण जनताले लकडाउनको पालना गर्नुपर्छ। अर्को कुरा सबैले सामाजिक दूरीमा बस्नुपर्छ। यो नै कोरोनाको मुख्य उपचार हो।

यतिबेला एउटा समुदायलाई लक्षित गरेर विभिन्न ठाउँबाट अगुवाहरुले आफ्नो अभिव्यक्ति दिइरहेका छन्। प्रदेशमा भनौं वा देशमा एउटा भ्रम फैलाइएको छ। हामीले बुझ्नुपर्छ महामारी कुनै एउटा जात र समुदायका लागि हुन्छ भन्ने छैन। हामीले यो महामारीलाई कसरी भगाउनेतर्फ लाग्नुपर्छ। म के भन्न चाहन्छु भने विश्व नै कोरोना महामारीविरुद्धको युद्ध लडिरहेको छ, यस्तो अवस्थामा पनि नेपालमा केही तत्वहरु राजनीतिक रोटी सेक्न थालेका छन्। यो एकदमै दुःखद हो। संघीयतालाई समाप्त पार्ने तत्वहरु षड्यन्त्र गरिरहेका छन्।

अहिले विभिन्न खालका भ्रामक प्रचार गरेर मुस्लिम समुदायलाई बदनाम गर्न खोज्दैछन्। वास्तवमा यदि हरेक दलका राजनीतिकर्मीहरुले यसतर्फ ध्यान नदिई ती तत्वहरुलाई प्रोत्साहित गर्दै गयो भने भोलिको दिनमा भारी पर्न सक्छ। बद्नाम गराउने तत्वहरु सञ्चालित छन्, जसले संघीयता समाप्त पार्न खोज्दैछ।

जति जमातीहरु विदेशबाट जसरी नेपाल प्रवेश गरेका छन्, त्यसरी नै नेपालका जमाती पनि विदेश गएका छन्। यहाँ आएका जमातीहरु विभिन्न ठाउँमा बसेका छन्। कतै न कतै उनीहरुको गल्ती छ। उनीहरुले गल्ती गरेका छैनन् भन्न सकिन्न। हामी जमातीमा छैन। हामीहरुमा पनि दुई-चार वटा मसलक छन्। तर जमातीवाला मसलक अलग छन्। पटकपटक अगुवाहरुले उनीहरुलाई पनि भन्दैछन्, ‘जहाँ हुनुहुन्छ त्यहीं बस्नुस्।’ तर उनीहरुमा त्रास पसेको छ। त्यसैले अगुवाको कुरा पनि मानेका छैनन्।

अहिलेको अवस्थालाई हेरेर मुस्लिम समुदायको विषयमा भन्नुपर्दा उनीहरु हरेक कुरामा धेरै पछाडि परेको छ। राजनीतिक हिसाबले हेरौं वा शैक्षिक हिसाबले। सबै हिसाबले यो समुदाय दलित समुदायभन्दा पनि तलको रेखामा गइसकेको छ। यसले गर्दा पनि अनेक समस्या छ। नेपाल आएका जमाती पनि डर र त्रासका कारण लुकेको हुनसक्छ। बाहिर आउन चाहेका छ्रैनन्। तर उनीहरु बाहिर आएको भए राम्रो हुन्थ्यो। म अहिले पनि भन्छु जति जमाती हुनुहुन्छ तपाईहरु बाहिर आउनुस्। जमातीसँग जति आबद्ध भएकाहरु सहयोग गरौं। तपाईहरु बाहिर नआएसम्म यो समुदायको हितमा राम्रो हुन सक्दैन।

केही दिनअघि जनकपुरमा पैसा (नोट)को विषयमा जुन भ्रामक समाचार आयो। यसले राम्रो सन्देश दिंदैन। मिडियामा त जे आयो आयो, मिडियाभन्दा पहिले सामाजिक सञ्जालमा गलत सन्देश हेरेँ। फेसबुक चलाउनेहरु पनि संवेदनशील हुन जरुरी छ। म मिडियाकर्मीहरुसँग आग्रह गर्न चाहन्छु कि एउटा समुदायलाई लक्षित गरेर बदनाम गर्ने काम नगर्नुस्। कोरोना भाइरसविरुद्ध विश्व नै लडिरहेको छ। हामी पनि कुनै जात, धर्म, लिङ्ग नछुट्याई सबै एकजुट भएर लडौं।

नेपालका कुनै पनि मुस्लिम समुदायको व्यक्ति कोरोना भाइरसबाट संक्रमित भेटिएको छैन। जति संक्रमित पुष्टि भएका छन्, १७–१८ जना उनीहरुलाई विदेशी पाहुना भनौं वा आएर विभिन्न ठाउँमा बसेका जमातीहरु। वास्तवमा उनीहरु लुकेर बसेका थिए। म प्रष्ट भाषामा भन्छु, उनीहरुमा चेतना छैन वा डरले बाहिर आउन चाहेन। उनीहरुबाट एक–दुई जनामा कोरोना सरेको पनि छ। तर मदरसा र मस्जिदलाई लक्षित गर्नु हुँदैन। वास्तवमा उनीहरु मदरसा वा मस्जिदमा बसेका थिए तर किन त्यहाँ आएर बस्छन् यो कुरा जान्न जरुरी छ। म एउटा अगुवा जुन मुस्लिम बस्ती वा गाउँमा जाँदा पहिले मस्जिद वा मदरसा पुग्छु। किनकि, मस्जिद र मदरसासँग सबै आबद्ध हुन्छन् र त्यहाँ सबैसँग भेटघाट गर्न सहज हुन्छ।

राजनीतिकर्मीकै कुरा गरौं, उनीहरु पनि मुस्लिम बस्तीमा पुगेपछि सबभन्दा पहिले मस्जिद वा मदरसामै पस्छन्। कसैको घरमा जाँदैनन्। दलितको आवासको व्यवस्था भइसकेको छ, तर मुस्लिम समुदायको कतै सामुदायिक भवन छैन। जनकपुरमै विभिन्न जात, धर्म र समुदायको सामुदायिक भवन छ। तर मुस्लिम समुदायको यहाँ पनि सामुदायिक भवन छैन। त्यसैले चन्दा माग्न आउने होस् वा भिख माग्न आउने सबभन्दा पहिले मदरसा वा मस्जिदमै पुग्ने गर्छन्। त्यसैले मस्जिद र मदरसामा लुकेर बसेको भनेर मुस्लिम समुदायलाई लक्षित गर्नु गलत हो। निराधार हल्ला फैलाउँदा कसैलाई फाइदा हुन सक्दैन।

कोरोना भाइरसले विश्वलाई आतंकित बनाएको छ। कोरोनाविरुद्धको लडाइँ लड्न हामी पनि साथमा छौं। यसलाई जित्न सबै एकजुट भएर लाग्नुको विकल्प छैन।

(राइन प्रदेश २ को महोत्तरी क्षेत्र नम्बर २ (क)बाट राजपा नेपालको तर्फबाट निर्वाचित सांसद हुन्। उनीसँग नेपालन्युजकर्मी सन्तोष यादवले गरेको कुराकानीमा आधारित)

Comment


Related News

Latest News

Trending News