अपडेट 
२०७७ बैशाख ९, मंगलवार १२:२१

 काठमाडौं । उद्योगीहरुले लकडाउनमा बन्द भएको उद्योगमा कार्यरत मजदुरहरुको तलब अधिकतम ५० प्रतिशत दिने निर्णय गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले लकडाउनको अवधिमा बन्द भएका उद्योगमा काम गर्ने मजदुरको तलब अधिकतम ५० प्रतिशत दिने गरी तयार पारेको प्रतिवेदन सोमबार श्रममन्त्री रामेश्वर यादवलाई बुझाएका हुन्।

आइतबार तीनवटै संस्था (नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स) का प्रतिनिधि बसेर लकडाउनको अवधिमा उद्योगमा कार्यरत मजदुरको अधिकतम ५० प्रतिशत तलब दिने सहमति गरेका थिए। लकडाउनमा बन्द भएका उद्योगका मजुदरलाई अधिकतम ५० प्रतिशत तलब दिने सहमति गरेको त्यही अनुसारको प्रतिवेदन मन्त्रीलाई बुझाएको नेपाल चेम्बर अफ कमर्शका वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले बताए।

पहिलो विकल्प अधिकतम ५० प्रतिशतका साथै अन्य विकल्प पनि दिइएको छ। दोस्रो विकल्पमा उद्योगी र मजुरको सहमतिमा पारिश्रमिक दिन सक्ने सुझाव दिइएको छ। त्यसैगरी, तेस्रो विकल्पमा लकडाउन अवधिको श्रमिकलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीनवटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्न सकिने सुझाव पनि दिइएको छ।

‘बन्द भएका उद्योगका मजदुरलाई अधिकतम ५० प्रतिशत तलब दिने सहमतिमा भएको थियो। त्यही अनुसारको प्रतिवेदन मन्त्रीलाई बुझाएको हौं,’ मल्लले भने।

चैत ११ देखि सुरु भएको लकडाउन वैशाख १५ सम्म लम्बाइएको छ। अझै बढने हो कि भन्ने आंशका छ।

सञ्चालनमा रहेका उद्योगले भने पूरै तलब दिँदै आएका छन्। लकडाउनको अवधिमा पनि खाद्यान्न, औषधि, ग्यास उद्योग, खानेपानीका प्लान्ट सहज रुपमा सञ्चालनमा छन्। ती उद्योगले कर्मचारीलाई पूरै तलब दिएका छन्।

असार १६ सम्म बन्द भएको पाँच तारे होटल हायत रिजेन्सीले लकडाउनको अवधिमा त्यहाका मजदुरहरुलाई ५० प्रतिशत तलब दिने निर्णय गरिसकेको छ।

Comment


Related News

Latest News

Trending News