अपडेट 
२०७७ बैशाख ९, मंगलवार १६:२९

बनेपा । लकडाउनका कारण काठमाडौंमा रोकिएका सिन्धुलीका सात सयभन्दा बढी मानिसहरु मंगलबार गाउँ गएका छन् । काठमाडौंका विभिन्न ठाउँबाट हिँड्दै भक्तपुरको जगाती र काभ्रेको बनेपा पुगेकाहरुलाई गाडी चढाइएको हो ।

स्थानीय जनप्रतिनिधिले बनेपामा सिन्धुलीको स्थानीय तहसम्म पुग्ने गाडीको बन्दोबस्त गरेका थिए । एउटै गाउँ जाने मानिसहरु छुट्याएर गाडीको बन्दोबस्त गरी पठाएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहराले जानकारी दिइन् ।

स्थानीय जनप्रतिनिधिको सहयोगमा गाउँ फर्किने व्यवस्था भएपछि उनीहरु खुसी पनि थिए ।

तर भक्तपुरको जगातीबाट विहान साढे ९ बजे छुटेका कतिपय गाडीलाई बनेपामा स्थानीय प्रशासनले रोक्यो । दिउँसोको समयमा गाडी लैजान नपाइने भन्दै स्थानीय प्रशासनले रोकेपछि बनेपाका सडक र बसपार्क क्षेत्रमा भीड नै लाग्यो ।

गाडी रोकिएको समय पारेर सबैलाई एक पार्टी प्यालेसमा खाजा र खाना खुवाइएको थियो । ‘सबैलाई खाना खुवाउने भनेका थियौं तर पुगेन, धेरै जनाले चाउचाउ र चिउरा खानुभयो’ अध्यक्ष बोहराले अनलाइनखबरसँग भनिन् ।

स्थानीय जनप्रतिनिधिले भने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गरे । स्थानीय प्रशासनले रातिको समयमा पठाउने भने पनि आफूहरुले सडक अप्ठ्यारो भएकाले दिउँसो नै पठाउन जोड गरेको अध्यक्ष बोहराले बताइन् । ‘उहाँहरुले बेलुका लैजान ठीक हुन्छ भन्नुभएको थियो, तर सिन्धुली जाने सडक अप्ठेरो भएकाले हामीले दिउँसो नै लैजाने जोड ग¥यौ’ उनले भनिन् ।

त्यसपछि आधा आधा घण्टाको फरकमा गाडी छुटाउने गरी सहमति गरेको अध्यक्ष बोहराले जानकारी दिइन् ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पनि दिउँसो भन्दा रातिको समयमा सहज हुन्छ भनेर रोकेको तर धेरै मानिस व्यवस्थापन गर्न कठिन हुने भएपछि सिन्धुलीतर्फ जानेहरुलाई पठाएको बताए ।

‘लकडाउनको समयमा दिउँसोमा मान्छे घटाएकै छौं, बरु बेलुकामा सहजीकरण गर्न सकिन्छ’ उनले अनलाइनखबरसँग भने, ‘तर मान्छे धेरै भएपछि सोसल डिस्ट्यान्स मेन्टेन गर्न पनि गाह्रो हुने देखिएपछि पठाएका हौं ।’

Comment


Related News

Latest News

Trending News