अपडेट 
२०७७ बैशाख ९, मंगलवार १८:१६

काठमाण्डौ । सोमबार सरकारकाे तर्फबाट सार्वजनिक भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली काङ्ग्रेसले तत्काल फिर्ता लिन माग गरेको छ । 

विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको हो । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सरकारले सोमबार सार्वजनकि गरेका विधेयकहरु फिर्ता लिन माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । 

सङ्कटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ । 

लकडाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रुपमा अध्यादेश ल्याउनु दुःखद भएको प्रवक्ता शर्माले बताउनुभयो । 

जनताहरु घरभित्रै कष्टकर जीवन बिताइरहेको उल्लेख उहाँले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएका फिर्ता लिनुपर्ने बताउनुभयो ।

नागरिकको जीवनप्रति गम्भीर हुँदै सबै विषय थाँती राखेर कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने अभियानमा लाग्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका भातृसङ्ठनहरुले सरकारको निर्णयविरुद्ध मङ्गलबार सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिस अनुसार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको थियो । सरकारको यस निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News