अपडेट 
२०७७ बैशाख ९, मंगलवार १९:१९

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले अध्यादेश खारेजीको माग गरेका छन् ।

दुवै पार्टीले आज छुट्टा छुट्टै विज्ञप्ति जारी गरी सरकारले ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानूनहरु संशोधनका लागि ल्याएको अध्यादेश खारेजीको माग गरेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्नका लागि यो अध्यादेश ल्याइएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने देखिन्छ भनि उल्लेख गर्नुहुँदै उहाँले यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्ने बताउनु भएको छ ।

सो अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि रहेको दावी गर्दै यसलाई सरकारले फिर्ता लिनु पर्ने बताउनुभएको छ । कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैर–लोकतान्त्रिक कदमका विरुद्ध एकतावद्ध हुन आम जनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग उहाँले अनुरोध गर्नुभएको छ ।

त्यसैगरि, राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले विश्व नै कोरोनाको महामारीबाट थलिएको बेलामा गरिएको यसखाले असामयिक र संवेदनहीन निर्णयले समग्र राजनीति नै कलंकित भएको बताउनु भएको छ ।

राजपा नेपालले प्रकारको अलोकतान्त्रिक, गैरसंवैधानिक र गैरजिम्मेवार निर्णयको भत्सर्ना गर्दै त्यसको खारेजीको माग पनि गरेको छ ।

जनताले दिएको म्यान्डेटका विपरीत पुरै मुलुकलाई अस्थिर बनाई राजनीतिप्रति वितृष्णा जगाउने गरि राजनीतिक दल विभाजन गर्न, भएको ऐन संशोधन गरि ल्याइएको अध्यादेश जनभावना विपरित स्थिरता ,स्थायित्व र आर्थिक समृद्धिको आफ्नै मान्यता विरुद्ध मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएको संयोजक भडारीले स्पष्ट पार्नुभएको छ ।

संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई भुमिकाहीन बनाउने गरि ल्याइएको अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र भएको बताउँदै उहाँले राज्यको हरेक ठाउँमा आफुखुशी निर्णय र नियुक्तिहरु गरि मुलुकलाई एकात्मकता, निरंकुशता र अधिनायकवादतर्फ लाने मनसाय उदागिंएको बताउनु भएको छ ।

विधिको शासन र जनभावना विरुद्ध संविधानको मर्म विपरीत सर्वसत्तावाद लाद्ने कुचेष्टा छताछुल्ल भएको उहाँले आफ्नो विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

राजपा नेपाल पहिचान, अधिकार र समावेशीताको लागि संघर्ष गर्ने पार्टी भएको र आफ्नो माग मुद्दा प्रति दृढ संकल्पित रहेकोले यसखाले निर्णयले पार्टीलाई कुनै प्रकारको असर नपर्ने पनि उहाँले स्पष्ट पार्नुभएको छ । अहिलेको निर्णयले गर्दा कुनै प्रकारको भ्रममा नपरी कोरोना महामारीको यस घडीमा पुरै पार्टी पंक्तिलाई एकढिकाभै लकडाउनको नियम पालना गर्दै आफू सुरक्षित रहि आआफ्नो ठाउँमा दत्तचित्तभै आफ्नो भुमिका निर्वाह गर्न उहाँले आह्वान समेत गर्नुभएको छ ।

Comment


Related News