अपडेट 
२०७७ बैशाख ९, मंगलवार २१:०३

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मंगलबार भेटिएका ११ जना कोरोना संक्रमित सबै स्थानीयबासी भएको खुलेको छ। कोरोना संक्रमितमध्ये ८ जना कोशी अस्पताल विराटनगरमा र ३ जना राष्टिय जनस्वस्थ्य प्रयोगशालाबाट पत्ता लागेका हुन्।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भुल्केस्थित आसपासका ११ जना स्थानीयबासिन्दामा कोरोना संक्रमण भएको हो। मस्जिदमा बसेका भारतीय जमातीहरुबाट ती स्थानीयमा कोरोना सरेको अनुमान गरिएको छ।  मस्जिदमा बसेका १६ मध्ये १२ भारतीयमा वैशाख ५ गते नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। उक्त मस्जिदमा १२ भारतीय जमातीको समूह र चारजना नेपाली बसेका थिए।  उनीहरुमध्ये १३ जनाको अहिले विराटनगरिस्त कोरोना विशेष अस्पतालमा उपचार चलिरहेको छ।

उदयपुरको भुल्केस्थित स्थानीय समुदायमै कोरोना फैलिएको पुष्टिसँगै जोखिम बढेको छ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीका अनुसार मंगलबार भेटिएका नयाँ संक्रमितमा ९ जना पुरुष र २ जना महिला छन्। जसमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो। मंगलबारै ३६ वर्षीया महिला र अर्की एक उमेर नखुलेकी महिलामा पनि कोरोना भेटिएको हो।

यी संक्रमितहरुको स्वाब प्रदेश सरकारको स्वास्थ्यकर्मीको टोलीले वैशाख ६ गते संकलन गरेर विराटनगर लगेको थियो। उनीहरुको विराटनगरस्थित कोशी अञ्चल अस्पतालको ल्याबमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। त्यस्तै नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले ७ र ८ गते थप २ सय ६० जनाको  स्वाब संकलन गरी परीक्षण गरिएको थियो। जसमा ३ जनामा पोजेटिभ देखिएको हो। 

कोशी अस्पतालमा परिक्षण गरिएका ६९ मध्ये ८ जनामा शंकास्पद देखिएको भन्दै मंगलबार बिहान एम्बुलेन्सबाट धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाको अस्पतालले पुष्टि गरेको थियो। विराटनगरको ल्याबमा कोरोना पुष्टि भएपछि ‘रि कन्फर्म’ गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पठाइएको थियो। त्यहाँको ल्याबमा पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी सहप्रवक्ता अधिकारीले दिएका छन्।

  यसअघि कैलालीको धनगढीका युवकमार्फत उनकै एकजना आफन्त महिलामा कोरोना सरेको थियो। नेपालमा कैलालीपछि उदयपुरमा कोरोनाको स्थानीय संक्रमण पुष्टि भएको हो। यसलाई कोरोनाको दोस्रो चरण भनिन्छ। उदयपुरको संक्रमण समुदायमा पुगेकाले कोरोना अब नेपालमा तेस्रो चरणमा पुग्ने जोखिम बढेको छ। 

Comment


Related News

Latest News

Trending News