अपडेट 
२०७७ बैशाख ९, मंगलवार २१:११

काठमाडौँ । ‘स्थानीय निकायले बर्बाद गरे। भद्रगोल भयो। सम्हाल्नै सकिएन। काठमाडौँसँग समन्वय गरेको भए हामीलाई व्यवस्थापन गर्न पनि सजिलो हुन्थ्यो’, काठमाडौँ प्रहरी परिसरका एक अधिकृत मंगलबार जडिबुटी चोकको बीचमा उभिएर हजारौँ मानिसको भिड हेर्दै भन्दै थिए।

त्यो भिड गाउँ फर्कन त्यहाँ पुगेको थियो। बसहरु धमाधम आइरहेका थिए, काठमाडौँतिरबाट। प्रहरीले सोधीखोजी गरिरहेको थिएन। बसहरु धमाधम यात्रु उठाउँदै थिए।

ती प्रहरी अधिकारीको भनाइ मान्ने हो भने प्रहरी आफैँ आश्चर्यचकित थियो यो दृश्य देखेर। ‘दिउँसैदेखि मानिसहरु पोकापुन्तुरा बोकेर यहाँ जम्मा भइरहेका थिए। हामीले सुरुसुरुमा रोक्ने पनि प्रयास गर्‍यौँ । आफ्नो ठाउँका जनप्रतिनिधिले बोलाएर यहाँ आइपुगेको भन्नुहुन्थ्यो। विस्तारै भिड ठूलो हुँदै गयो, अब उनीहरुलाई नियन्त्रण गर्नेभन्दा पनि व्यवस्था गर्नुको विकल्प रहेन।’

बालबच्चा र पोकापुन्तुरा बोकेर हजारौँ मानिसको भिड साँझ जडिबुटी-लोकन्थली सडक खन्डको किनारमा उभिइरहेको थियो। उनीहरुमध्ये अधिकांशले कोरोना भाइरसको संक्रमणबाट जोगिन सामान्य सावधानीसमेत अपनाएको देखिएन। भक्तपुर प्रहरी प्रमुख सबिन प्रधान रात पर्न लाग्दा यात्रुलाई गाडी चढाउन आफैँ खटिइरहेका थिए। सडक किनारमा उभिरहेकासँग बुझ्दा उनीहरु गाउँका जनप्रतिनिधिले बोलाएर आफूहरु यहाँ आइपुगेको बताइरहेका थिए।

तर एउटा मात्र गाउँपालिका वा नगरपालिकाका मानिसहरु त्यहाँ जम्मा भएका थिएनन्। पूर्वका धेरै जिल्लाका मानिसहरु काठमाडौँको बुढानिलकण्ठदेखि त्यहाँसम्म पुगेका थिए। सबैको एउटै भनाइ थियो- हामीलाई गाउँबाट यहाँ गाडी आउँदै छ भनेर खबर आयो त्यसैले आएको।

केही बेरमा दर्जनौँ बसहरु लाइन लागेर त्यहाँ आइपुगेका थिए। बसहरु कसरी निर्वाधरुपमा आए भनेर बुझ्न खोज्दा न काठमाडौँ जिल्ला प्रशासन कार्यालय बोल्यो, न त महानगरीय ट्राफिक प्रहरी महाशाखा नै। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बसहरुको प्रसंङ्ग निकाल्नेबित्तिकै फोन काटे। त्यसपछि निरन्तर फोन गर्दा पनि उनले उठाएनन्। सहायक सिडियो कृष्णबहादुर कटवालले फोन उठाए र कुनै बसलाई पनि पास उपलब्ध नगराएको बताए।

गाउँपालिका र नगरपालिकादेखि सांसदसम्मले आफ्ना मान्छेलाई कोटेश्वर-जडिबुटी बोलाएको ट्राफिक महाशाखाका अधिकारी बताउँछन्। महाशाखाका एक उच्च अधिकारी नाम उल्लेख नगर्ने सर्तमा भन्छन्-  केही बसहरु नजिकैबाट निस्किएर त्यहाँ पुगेको बुझिएको छ। दिउँसो हामीले होल्ड गरेर राखेका केही गाडीहरु साँझ छाड्दा त्यतातिर पनि गएको हुन सक्छ।

ती अधिकारीका अनुसार कुनै पनि बससँग सवारी पास छैन। लगातार बढेको भिडलाई बसहरुलाई रोक्न सक्ने स्थिति नभएको ती अधिकारीको भनाइ छ। केही दिनअघि ऊर्जामन्त्री वर्षमान पुनले रोल्पा, दाङ र सल्यानका मजदुर जनतालाई भक्तपुरबाट बस चढाएर पठाएका थिए। वर्षमान रोल्पाबाट निर्वाचित सांसद हुन्।

सुरक्षा अधिकारीहरु जनप्रतिनिधिहरुले आफ्ना मान्छेहरुलाई बोलाएर जम्मा गर्न थालेपछि रोक्न सक्ने स्थिति हुन छाडेको बताउँछन्।

सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि देशब्यापि लकडाउन लागू गरेको थियो। यो कम्तीमा बैशाख १५ गतेसम्म जारी रहने छ। लकडाउनका कारण अलपत्र र आर्थिक संकटमा परेकाहरु पैदलै गाउँ फर्किरहेका छन्।

सरकारले ज्यालामजदुर र असहायलाई राहत दिने निर्णय गरेपनि यसको कार्यान्वयन निकै फितलो देखिएको छ। सर्वोच्च अदालतले गत शुक्रबार मात्र बाटामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन सरकारका नाममा आदेश जारी गरेको थियो।

Comment


Related News