अपडेट 
२०७७ बैशाख ९, मंगलवार २१:१५

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेताहरुलाई व्यक्तिवाद, संकीर्ण स्वार्थ र व्यक्तिगत आग्रह र अह्मबाट माथि उठ्न आग्रह गरेका छन्।

७१ औँ कम्युनिष्ट पार्टी स्थापना दिवको अवसरमा शुभकामना दिँदै नेता नेपालले पार्टी एकतालाई मुर्तरुप दिन र जनताप्रतिको जिम्मेवारी नभुल्न आग्रह गरेका हुन्।

मुलुक चुनौतीपूर्ण अवस्थामा रहेका बेला नेपालमा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको उल्लेख गर्दै उनले संविधान जारी भएपछि पाएको अभिमत सामाजिक न्यायसहितको समुन्नत र समृद्ध मुलुक निर्माणको अभिभारा पुरा गर्नका लागि प्रयोग गर्न सुझाव दिए।

मंगलबार सरकारले जारी गरेको दुईवटा अध्यादेशले आशंका जन्माएको भन्दै उनले पार्टीलाई भावनात्मक रुपमा एक बनाउनु अहिलको आवश्यकता भएको औंल्याए।

नेता नेपालले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘हाल विकसित कतिपय घटना क्रमले पार्टीभित्र अनेकौँ आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ। यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्दछ। पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथअघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु।’

उनले पार्टी एकताप्रति संवेदनशील हुनसमेत सुझाव दिएका छन्। ‘चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहन आव्हान गर्दछु, नेता नेपालले भनेका छन्।

नेपालले कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीको ध्यान अन्यत्रभन्दा संक्रमणका बिरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने उल्लेख गरे।

Comment


Related News

Latest News

Trending News