अपडेट 
२०७७ बैशाख ९, मंगलवार २१:२२

काठमाडौं । वेस्टर्न युनियन मनि ट्रान्सफरबाट आउने पैसा अब घरमै पाउने भएको छ।

लकडाउनलाई लक्षित गरेर वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैसाको आदानप्रदान तथा भुतानी गर्दै आएको अन्नपूर्ण ट्राभल एन्ड टुर्स र हुलास रेमिट्यान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको हो।

एजेन्टहरूको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरूलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्ना आफन्तले विदेशबाट पठाएको रकम प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।

‘सरकारले नागरिकको सुरक्षाका लागि कोभिड-१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एन्ड टुर्स तथा हुलास रेमिट्यान्सले उनीहरूको रकम घरमै पुर्‍याउने भएको छ। होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘हामी र हाम्रा एजेन्टहरूले पैसा जहाँ र जहिले आवश्यक परेको स्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्छौं। एक उद्देश्यद्वारा सञ्चालित ग्लोबल कम्पनीको रूपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरूको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाइन समुदायहरूलाई पनि नवीनतम तरिकाले सेवा गर्नु हो। यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो,’ वेस्टर्न युनियन ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भने।

घरबाटै यसरी लिन सकिन्छ पैसा

विदेशबाट पैसा पठाएको जानकारी प्राप्त गरेपछि पैसा पाउने व्यक्तिले अन्नपूर्ण ट्राभल एन्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन्।

यसका लागि अन्नपूर्ण ट्राभल एन्ड टुर्स ०१४२२३५३० र हुलास रेमिट्यान्स ९८५१०१९९७३ कल सेन्टरका नम्बरमा सम्पर्क गर्न सकिनेछ।

उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ। एजेन्टका प्रतिनिधिहरूले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचयपत्रको प्रतिलिपि व्हाटस्एप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन्।

एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्ट प्रतिनिधिहरू प्रापकको घरमा रकमसहित पुग्नेछन्।

रकम हस्तान्तरण गर्नु अगाडि एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन्। सफल प्रमाणीकरणपश्चात् एजेन्टको प्रतिनिधिले ट्रान्जेक्सन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन्।

Comment


Related News

Latest News

Trending News