अपडेट 
२०७७ बैशाख १०, बुधबार १९:४९

 पोखरा । तपाईं पोखरामा हुनुहुन्छ र खाना नपाएर भोकै बस्नु त परेको छ भने फोन गर्नुस्, घरमै आइपुग्छ। घरमै आउने दाल, भात, अचार र तरकारीको पैसा तिर्नुपर्दैन।

कोराना संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि बेखर्ची बनेका पोखरा महानगरभित्रका नागरिकलाई समाजसेवीहरूले घरघरमै खाना पुर्‍याउने काम गरिरहेका छन्। पोखराको पौरखी स्वयंसेवक समूहले लकडाउनका कारण चुल्हो बाल्न नसक्ने कठिन अवस्थाका व्यक्तिहरूलाई खाना सहयोग गर्दै आएको छ।

शनिबारदेखि सुरु भएको अभियानमा बुधबार साँझसम्म करिब ४३ सयजनालाई खाना खुवाइएको छ। समूहले पाँच दिनमा ४ हजार २ सय ९९ जनालाई खाना खुवाएको जनाएको छ। सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्थामा रहेका र हिँडेर गन्तब्यमा जाँदै गरेकाहरूलाई समूहले खाना खुवाएको हो। खाना पकाई प्याक गरेर सम्बन्धित ब्यक्ति बसेकै ठाउँमा खाना पुर्‍याएको समूहका जनक पराजुलीले बताए।

जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरेर खाना पुर्‍याइएको उनले सुनाए। ‘अहिलेसम्म नगद नै उठाएर खाद्यान्न खरिद गरेका छौं। बिहान बेलुकी नै उनीहरूको खानाको प्रबन्ध हामीले मिलाएका छौं,’ उनले भने, ‘घरमा चुल्हो बल्नै छाडेको अवस्थामा हामीलाई फोन गरे खाना घरमै पुग्छ।’

बिहान ८ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि खाना वितरण गरिएको छ। ‘कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ अर्का सदस्य विष्णु प्रसाद पौडेलले भने, ‘धेरै जना भोकभोकै परेको सुनेपछि अभियान सुरु गरेका हौं।’

खाना खुवाउने अभियानमा दैनिक धेरैले सहयोग गर्न थालिसकेको उनले सुनाए। थोरै संख्या भएको परिवारलाई खाना पु¥याउने र धेरै भए महानगरसँग समन्वय गरेर राहतको व्यवस्था गरिएको पौडेलले बताए। अभियानमा पोखरा महानगरले समन्वय गरिरहेको छ भने दिदीबहिनी फाण्डेसनले दैनिक १ सय खाना सहयोग गरेको छ। महानगरभित्र खानाका लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ।

Comment


Related News

Latest News

Trending News