अपडेट 
२०७७ बैशाख १०, बुधबार २०:०५

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ। कोरोना भाइरस (कोभिड-१९)ले विश्वभर महामारी रूप लिएपछि तेलको मागमा कमी आएपछि मूल्यमा इतिहासकै सबैभन्दा बढी गिरावट आएको हो।

तेलको माग घटेको र भण्डारको क्षमता कम भएकाले तेलको मूल्य अत्यधिक घटेको विज्ञहरूको भनाइ छ। तेलको मूल्य अत्यधिक गिरावट र भण्डारणमा समस्या भएपछि तेल उत्पादक देशहरूले उल्टै पैसा दिएर तेल लैजान अनुरोध गर्न थालेका छन्। तेल त्यसरी दिइएन भने भण्डार गर्नका लागि ठाउँ पुग्ने छैन र समस्या निम्तनेछ। त्यसैले तेल उत्पादक देशहरूले खपत गर्ने देशहरूलाई पैसा दिएर भए पनि तेल लैजान भनिरहेका छन्।अन्तर्राष्ट्रिय रूपमा तेलको मूल्यमा गिरावट आएको भएता पनि नेपालमा भने केही असर गरेको छैन। नेपालले इन्डियन आयल कर्पाेरेसनबाट तेल आयात गर्ने हुँदा तेलको मूल्यमा कमी आएता पनि नेपालमा मूल्य घटेको छैन।

कोरोना भाइरसको संक्रमणका कारण धेरैजसो मुलुक लकडाउन छन्। त्यहाँ यातायातका साधन सञ्चालन भएका छैनन्। जसका कारण तेलको खपत कम भएको छ। यसको असर अमेरिकाको तेलको मूल्यमा परेको छ र मूल्य ऋणात्मक अर्थात् शून्यभन्दा पनि तल झरेको छ।

वेस्ट टेक्सस इन्टरमिडियट (डब्लुटिआई), जसलाई अमेरिकी तेलको बेन्चमार्क मानिन्छ, त्यसमा मूल्य घटेर प्रतिब्यारेल माइनस ३७.६३ डलरमा झरेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशतले घटेर २६ डलर प्रतिब्यारेल भएको छ।

अन्तर्राष्ट्रिय रूपमा तेलको मूल्यमा गिरावट आएको भएता पनि नेपालमा भने केही असर गरेको छैन। नेपालले इन्डियन आयल कर्पाेरेसनबाट तेल आयात गर्ने हुँदा तेलको मूल्यमा कमी आएता पनि नेपालमा मूल्य घटेको छैन। इन्डियन आयलले प्रत्येक महिनाको १ र १५ तारिखमा मूल्य समायोजन गर्दै आएको छ।

मे १ मा कर्पोरेसनले दिएको नयाँ दररेट अनुसार नेपालमा तेलको नयाँ मूल्य कायम हुने नेपाल आयल निगमले जनाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार मे १ सम्म पुरानै मूल्यमा तेलको खरिद-बिक्री हुनेछ।

‘हामीलाई घटेको दररेट आयो भने सञ्चालक समितिले मूल्य घटाउने निर्णय गर्छ,’ उनले भने, ‘यथावत रहने जानकारी आयो भने पुरानै मूल्यमा बिक्री हुनेछ।’

गत अप्रिल १५ तारिखमा इन्डियन आयलले प्रतिलिटर ४ रुपैयाँ पेट्रोलमा घटाएर नयाँ मूल्य सूची पठाए पनि निगमले खपत कम भएको भन्दै मूल्य यथावत राखेको थियो। आयल निगमले विभिन्न शीर्षकमा प्रतिलिटर ४३ रुपैयाँभन्दा बढी कर उठाउँदै आएको छ।

९० प्रतिशत भण्डारण

लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत कम हुँदा ९० प्रतिशतभन्दा बढी भण्डारण भएको निगमले जनाएको छ।

आयात निरन्तर र खपत कम हुँदा तेलको मौज्दात पर्याप्त रहेको प्रवक्ता उपाध्याय बताउँछन्। उनका अनुसार हाल पूर्वतिर पेट्रोलियम पदार्थको खपत धेरै भएको छ। किसानले गहुँलगायत खाद्यान्नबाली भित्र्याउने समय भएकोले तेलको खपत केही बढेको हो।

निगमका अनुसार धनगढी र नेपालगन्जबाट आज (बुधबार) ८० ट्याङ्कर तेल भर्न भारत गएका छन्। धनगढीबाट ५० वटा ट्याङ्कर बन्थरा नाका र नेपालगन्जबाट ३१ वटा ट्याङ्कर गोन्डामा गएको प्रवक्ता उपाध्ययले बताए।

Comment


Related News