अपडेट 
२०७७ बैशाख ११, बिहीबार १४:५२

काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी एक लाख २२ मेट्रिक टन चामल मौज्दात रहेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बुधबारको तथ्यांक अनुसार खाद्यसँग १९ हजार ९ सय ७ र निजी क्षेत्रका उद्योगहरुसँग १ लाख २ हजार ५ सय ७० मेट्रिक टन गरी दुई निकायसँग १ लाख २२ हजार ४ सय ७७ मेट्रिक टन चामल मौज्दात रहेको छ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग दुर्गमका २३ जिल्लामा ३ हजार ७ सय ७९ मेट्रिक टन चामल, ६ सय १० क्विन्टल फापर र ५ सय ५० क्विन्टल सिमी समेत मौज्दात छ।

मन्त्रालयको तथ्यांक अनुसार खाद्यका विभिन्न जिल्ला कार्यालय तथा काठमाडौँमा १ लाख ३७ हजार ३ सय ४५ क्विन्टल धान र निजी क्षेत्रसँग विभिन्न स्थानमा रहेका २० वटा ठूला चामल उद्योग, किसान तथा उद्योगहरुसँग ६१ हजार ५४ मेट्रिक टन धान मौज्दात रहेको छ। त्यस्तै निजी क्षेत्रसँग १६ हजार ८१ मेट्रिक टन दाल, केराउ र चना मौज्दात छ।

मौज्दात तेल

मन्त्रालयको तथ्यांकअनुसार निजी क्षेत्रका तेल उद्योगहरुसँग पाम आयल ४ सय ८६ मेट्रिक टन, पोमालिन १ हजार ९ सय १९ मेट्रिक टन, सोयाबिन तेल एक हजार ६ सय १६ मेट्रिक टन मौज्दात रहेको छ। त्यस्तै सूर्यमुखी तेल ८ सय ४६ मेट्रिक टन मौज्दात भएको छ भने ६ हजार ३ सय ४६ मेट्रिक टन आयातको क्रममा रहेको छ। कलकत्तामा समेत ७० हजार ८६६ मेट्रिक टन तेल मौज्दात रहेको छ।

राहत वितरण

लकडाउनको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थानीय तहको माग अनुसार खाद्य सामाग्रीको बिक्री वितरण समेत गरेका छन्।

खाद्यले विभिन्न २३ जिल्लामा २६ हजार ४ सय २० क्विन्टल चामल र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट २ लाख ५६ हजार ८ सय ६५ किलो चामल वितरण भएको प्रवक्ता दाहालले जानकारी दिए।

उनका अनुसार साल्ट ट्रेडिङले ३२ हजार ७ सय ३० किलो नून, २६ हजार ९ सय १० लिटर तेल, ४२ हजार ३० किलो दाल, २४ हजार ७ सय ८० किलो चिउरा, १६ हजार ९ सय किलो चिनी, सात ब्याग पिठो, ११ हजार ७ सय ५७ वटा साबुन गरी ३ लाख ८१ हजार २ सय ९ किलो खाद्य सामाग्री र अन्य वस्तुहरु स्थानीय तहहरुलाई राहत स्वरुप बिक्री गरेको छ।

मौज्दात चिनी

कर्पोरेसनको विभिन्न डिपोमा बुधबारसम्म ५ हजार ६ सय ४३ मेट्रिक टन चिनी मौज्दात रहेको छ। त्यस्तै १ लाख ५३ हजार ५ सय ७१ मेट्रिक टन नून (आयात प्रक्रियामा रहेको) मौज्दात छ। विभिन्न जिल्लामा २ हजार ४ सय ७६ मेट्रिक टन आयोडिनयुक्त नून मौज्दात रहेको छ।

निजी चिनी उद्योगहरुसँग ६३ हजार २ सय ७ मेट्रिक टन चिनी मौज्दात रहेको छ। लकडाउनको अवधिमा खाद्यले उपत्यकाका रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रहरुका साथै धुम्ती सेवा (मोबाइल भ्यान) र अनलाइन मार्फत उपभोक्ताको माग अनुसार खाद्यान्न बिक्री वितरण गर्दै आएको छ।

कम्पनीबाट देशका विभिन्न ८ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुर लगायत देशका विभिन्न स्थानमा २६ वटा शाखा कार्यालयका साथै दुर्गम जिल्लाहरुका विभिन्न स्थानममा ५९ वटा डिपो कार्यालय, बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्यान्न बिक्री वितरण गर्दै आएको छ।

साल्ट ट्रेडिङले लकडाउनको अवधिमा ललितपुर, कालीमाटी, संतुगल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताहरुको माग भएका स्थानहरुलाई प्राथमिकता राखेर खाद्यान्न तथा अन्य सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ।  

Comment


Related News

Latest News

Trending News