अपडेट 
२०७७ बैशाख १२, शुक्रबार ०८:२१

जनकपुरधाम । १४ वर्षीय किशोरमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले सर्लाहीको धनकौल गाउँपालिकालाई शिल गरेको छ।

जनकपुरमा परीक्षण गर्दा संक्रमण नदेखिएका धनकौलका ५ का १४ वर्षीय किशोरको काठमाडौंमा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण देखिएको थियो।

ती बालकलाई ५ वैशाखमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो। त्यस लगत्तै उनलाई पीसीआर विधिबाट स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। त्यहाँ बालकमा कोरोना संक्रमण नदेखिएको भन्दै घर पठाइएको थियो।

लक डाउनको बेला २३ चैतमा उनी भारतको दिल्लीबाट घर आएका थिए। जनकपुरमा परीक्षण गर्दा कोरोना नदेखिए पनि थप परीक्षण गर्ने भन्दै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा टेकु ल्याइएको थियो। टेकुमा गरिएको परीक्षणमा बालकमा कोरोना संक्रमण पुष्टि भएको हो।

धनकौल सर्लाहीको दक्षिण-पश्चिम क्षेत्रमा पर्छ। बालकमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार साँझदेखि नै धनकौला गाउँलाई शिल गरिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।

‘अहिले धनकौलमा आवतजावत बन्द गरेका छौँ, नाकानाकामा प्रहरी तैनाथ गरेर अत्यावश्यक काम हुनेलाई मात्र हिँड्न दिइएको छ,’ एसपी पोखरेलले भने, ‘बालकको परिवारका पाँच जना आफन्तलाई पनि क्वारेन्टाइनमा राखेका छौँ।’

उनले बालक घरमा बस्दा पनि सेल्फ क्वारेन्टाइनमै बसेको पाइएको बताए। ‘बालक हरकठ्वाको क्वारेन्टाइनबाट घर गएपछि पनि सेल्फ क्वारेन्टाइनमै बसेका रहेछन्,’ उनले भने।

Comment


Related News

Latest News

Trending News