अपडेट 
२०७७ बैशाख १२, शुक्रबार ११:३९

मलंगवा । सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाको १४ वर्षीय बालकमा कोरोना भाइरसको पीसीआर टेस्ट पोजेटिभ देखिएपछि टोल सिल गरिएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबाट पीसीआर टेस्ट पोजेटिभ आएपछि टोल सिल गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिएका छन् । 

बैशाख ५ गते र्‍यापीड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजेटिभ देखिएका बालकलाई थप स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । जनकपुरबाट पीसीआर टेस्ट निगेटिभ आएपछि बालकलाई घर पठाइएको थियो । तर, बिहीबार दिउँसो काठमाडौंबाट पीसीआर टेस्ट पोजेटिभ आएपछि टोल सिल गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

प्रादेशिक अस्पतालमा दुईपटक गरिएको पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि घर फिर्ता गरिएको थियो । किशोरसँगै क्वारेन्टाइनमा बसेका अन्य एकजनालाई पनि पीसीआर टेस्टका लागि जनकपुर लगिएको थियो । दुबैको रिपोर्ट निगेटिभ आएको थियो । 

आइतबार किशोरसँगै दुवैजनाको रिपोर्ट नेगेटिभ आएपनि बिहीबार भने काठमाडौंको टेकु अस्पतालबाट किशोरको पोजेटिभ रिपोर्ट भन्ने खबर आएको हो । काठमाडौंबाट ४ दिनपछि पुनः पोजेटिभ भनेर आउँदा अचम्म लागेको प्रहरी उपरीक्षक पोखरेलले बताए । 

टेकुबाट पोजेटिभ रिपोर्ट देखिएका किशोरलाई बुधबार साँझ मात्र क्वारेन्टाइनबाट घर फिर्ता गरिएको थियो । तर, घरमा पनि उनलाई छुट्टै कोठामा राखिएको थियो । ‘अहिले टोललाई सिल गरिएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘बालकलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाएका छौं ।’ घरका अन्य ५ जना सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । 

ती किशोर गत चैत २३ गते भारतको दिल्लीबाट आएका थिए । दिल्लीको झोला कारखानामा काम गर्ने उनी रौतहटको गौरबाट नेपाल छिरेर बागमती नदी तर्दै घर आउँदै गरेको सूचना गाउँलेले दिएपछि प्रहरीले बाटैबाट नियन्त्रणमा लिएर गाउँपालिका कार्यालयले स्थापना गरेको क्वारेन्टाइनमा राखेको थियो ।

Comment


Related News

Latest News

Trending News