अपडेट 
२०७७ बैशाख १२, शुक्रबार ११:४९

धरान । भोजपुरको हतुवा गडी गाउँपालिकाका ३० वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि सुनसरीमा संक्रमणको जोखिम बढेको छ । गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंहुँदै ती युवा सुनसरी र उदयपुरहुँदै भोजपुर गएको खुलेपछि सुनसरीबासीमा कोरोनाको त्रास फैलिएको छ । 

भोजपुरको अतुवागडी स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका उनको स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना ल्याइएको थियो । स्वाब रिपोर्टमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सहायक प्रबक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । भोजपुर प्रहरीको सम्पर्कमा रहेका उनी फागुन ३० गते काठमाडौंबाट रात्री बस चढेर सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजार झरी त्यहाँबाट बसमा चढेर चतरा गएका थिए । 

चतरामा रहेकी श्रीमतीसँग धरान र इटहरीका विभिन्न स्थानमा गुमफिर गरेर उनी उदयपुरको बेलका नगरपालिकास्थित मैनामैनी ससुराली घरहुँदै भोजपुर गएको प्रहरीलाई जानकारी दिएका छन् । उनले दिएको जानकारीका आधारमा प्रहरीले उनीसँग सम्बन्धित व्यक्तिको पहिचान गरिरहेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताएका छन् । 

श्रीमतीसँग धरान घुम्न आएका संक्रमित युवा धरानमा नबसेको भएपनि दिनभरी टेम्पोमा धरान बजार घुमेको खुल्न आएको इलाका प्रही कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले बताए । नेकपा सुनसरीका सचिब रमेश बस्नेतले सुनसरीका विभिन्न स्थानमा बसरे भोजपुर घर गएका युवामा कोरोनाको संक्रमण देखिएपछि सुनसरीमा जोखिम बढेको भन्दै तत्काल सम्भावित क्षेत्रमा गएर संक्रमित युवासँग जोडिएका व्यक्तिहरुलाई उपचारका लागि अस्पताल भर्ना गर्न सरकारसँग माग गरेका छन् ।

उनले संक्रमित युवा सुनसरीका दर्जनौं स्थानमा बसेको खुलेपछि सुनसरी सुरक्षित बनाउन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको समेत ध्यानाकर्षण गराइसकेको बताए । 

बिहीबारबाट लकडाउनलाई केही सहज बनाएको धरान उपमहानगरपालिकाले भोजपुरका युवामा कोरोना संक्रमण देखिए पछि शुक्रबारबाट पुन: बजार बन्द र लकडाउनलाई कडाई गर्ने निर्णय गरेको मेयर तिलक राईले बताए।

Comment


Related News

Latest News

Trending News