विराटनगर । प्रदेश १ को उदयपुर त्रियुगा नगरपालिकाको भुल्के क्षेत्र अहिले कोरोना भाइरस संक्रमितको केन्द्र बनेको छ। त्यहाँ अहिलेसम्म २७ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरुको विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार भइरहेको छ। स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना पोजेटिभ भएका कारण चिकित्सकको प्रत्यक्ष निगरानीमा उनीहरु अस्पतालमा उपचाररत् छन्।
यसैबीच, कोशी अस्पतालमा उपचाररत् उदयपुरका एक संक्रमितसँग उनकाे स्वास्थ्य अवस्था र दैनिकीका विषयमा नेपालन्युजकर्मी सुमन पुरीले कुराकानी गरेका छन्।
उनीसँग गरिएको कुराकानीमा आधारित दैनिकीः
मेरो घर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के मस्जिद टोल हो। म ४० वर्षको भएँ। दुई वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै अटो किनेर चलाउँदै थिएँ। कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनअघिसम्म यो सिलसिला जारी थियो। यस्तै मेरो दैनिकी थियो।
तर, अहिले मेरो दैनिकी फेरिएको छ। कोभिड-१९ पोजेटिभ देखिएपछि अहिले विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा मेरो दिन बितिरहेको छ। यहाँ पनि ठीकै छ। दिनमा चारपटक खाना खान्छु, कहिले चना हुन्छ त कहिले अण्डा विहान आउँछ। कहिले फलफूल, भात रोटी छिनछिनमा खानेकुरा आइरहन्छ। उज्यालो भएदेखि साँझसम्मै। डाक्टरले मनतातो पानी प्रशस्तै खानु भनेकाले आफैं तातोपानी तताएर खान्छु। कोठामै यसो एक्सरसाइज पनि गर्छु।
मसँगै कोरोना पोजेटिभ देखिएपछि छोरा, बहिनी, भाञ्जा र बहिनीज्वाइँ पनि कोरोना उपचार केन्द्रमा नै छन्। उनीहरुमध्ये बाबु, छोरा र भाञ्जा एउटा कोठामा छन् भने बहिनी र ज्वाइँलाई अर्को कोठामा राखिएको छ। सबैभन्दा पहिला कोरोना पोजेटिभ देखिएका मस्जिदमा बस्दै आएका जमातीहरुलाई चाहिं दक्षिणपट्टिको हलमा राखिएको छ।
हामी कसैलाई पनि केही भएको छैन। न ज्वरो, न रुघाखोकी न जीउ गल्ने न अरु कुनै स्वास्थ्यको समस्या केही नै छैन। कोरोना उपचार केन्द्रमा रहेका कसैलाई पनि केही लक्षण र समस्या छैन। हामीलाई रोग लागेको कुनै अनुभव नै भएको छैन। रुघासमेत कसैलाई लागेको छैन। म आएको एक हप्ता हुन लाग्यो टाउको पनि दुखेको छैन।
छोरो इन्डियाबाट आएपछि भने घरमा चटपटे खुब खाइयो। छोरालाई मनपर्ने भएकाले पनि घरमै दिनैपिच्छे चटपटे बनाएर खाइयो। त्यसपछि एकदिन पेट फुल्यो भनेर छोराले भन्यो। नजिकैको क्लिनकबाट इनो र एसिलक किनेर छोराले खायो। अहिले त त्यो पनि समस्या छैन। सायद चटपटेले थियो होला।
अस्पतालमा कुनै कुराको कमी छैन। डाक्टरहरुले हेरविचार गरिरहनुभएको छ। खानेकुराको कुनै समस्या छैन।
केही सुगरका बिरामी हुनुहुन्छ उहाँहरुका लागि औषधि चलाइएको छ। त्यो पनि सुगरकै। हामीले त औषधि भनेकै मनतातो पानी खाइरहेका छौ।
तर, अटोचालकले कोरोना फैलायो भनेर सुन्दा चित्त दुख्छ। गाँउमा हल्ला चलेको छ रे। मिडियामा पनि यस्तै खबर छ रे। के यो रोग कसैले जानेर फैलाएको हो? मानिसहरु यस्तो बेलामा पनि के के भनेर बस्छन्। हामी ठिक छौ, बरु संक्रमितको बारेमा अफवाह नफैलाइदिन आग्रह गर्दछु।
अनावश्यक कुरा गर्दा मन दुख्दो रहेछ। समाजिक सञ्जालमा के के लेखेर समुदायप्रति नै लाञ्छना लगाएकोमा पनि साह्रै दुःख लागेको छ। म भुठो कुरा गर्दिन। पहिला पनि म जहाँ जहाँ गए सवै कुरा भनेको छु। अहिले पनि मलाई अस्पतालमा राम्रो छ। झूठो बेलेर के पाउनु?
डाक्टरहरुले राम्रो गरेका छन्। कसैलाई अलिकति टाउकोसमेत दुख्दा पनि हेर्न आउनु हुन्छ। उहाँहरु मानवीय सेवामा लाग्नुभएको छ। यस्तो बेला ढाँटेर के गर्नु?
गाउँमा आवतजावतमा समस्या हुँदा गाँउलेले खान नपाउने हुन् कि भन्ने चिन्ता लागेको छ, यतिबेला। घरमा श्रीमती छन्। उनको परीक्षण गर्दा नेगेटिभ देखिएको छ। गाउँघरमा खानेकुराको व्यस्था भए यहाँ त केही छैन। हामी चाँडै निको भएर घर जान्छौं।