अपडेट 
२०७७ बैशाख १२, शुक्रबार १३:५६

कालिकोट : महाँवै गाउँपालिका–७ की स्थानीय ७३ वर्षीया बृद्धा जयरुपा अधिकारी दुई दिनदेखि तिला कर्णाली बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा छिन्। गाउँपालिकाले अलपत्र परेकालाई मंगलबार उद्धार गरेपछि उनी बाँकेको कोहलपुरबाट गाडीमा आएकी हुन्।

भोकै गाडी चढेकी अधिकारीले तीन दिनपछि पनि खाना खाएकी छैनन्। क्‍वारेन्टाइनमा बस्दाबस्दै चिसोले शरिर सुनिएको छ। टिनको छाना भएको खुल्ला कोठामा फलामको बेन्चमाथि पिफर्म बिछ्याएर सुतेकी उनले क्‍वारेन्टाइनको बसाई असहज भएको गुनासो गरिन्। बृद्धा अधिकारीले भनिन्, ‘मलाई घर पठाईदेउ, दमको बिरामी छु, अरुले छोएको खाँदिन। यहाँ बस्दाबस्दै चिसोले सुनिएँ। यस्तै भए क्‍वारेन्टाइनमै मर्छु होला।’

आफ्नै गाउँपालिकाको क्‍वारेन्टाइनमा बस्ने बताएकी उनलाई घर जान दिइएको छैन। अधिकारी जस्तै ५२ जना क्‍वारेन्टाइनमा छन्। उनीहरु सबैको हालत उस्तै छ। जुम्ला सिंजाकी शुशीला उपाध्यायले क्‍वारेन्टाइमा खान, बस्न र सुरक्षाको कुनै व्यवस्था नभएको बताइन्। ‘क्‍वारेन्टाइमा ओड्ने ओछ्याउने कपडा छैनन्। कोठाको ढोकामा चुकुल पनि छैन। रातभर त्रासमा बस्छौं’ उनले भनिन्, ‘दीर्घ रोगीलाई क्‍वारेन्टानमा बस्दा झन् समस्या छ।’

एउटै कोठामा खाँदिएर क्‍वारेन्टाइनमा बसेका युवा।

क्‍वारेन्टाइन व्यवस्थित नभएपछि खाँडाचक्र नगरपालिका ६ का एक युवा भागेर घर गएका छन्। क्‍वारेन्टाइनका कोठामा भेडा हुलेझैँ राखिएको जुम्लाका मनप्रसाद उपाध्यायले बताए। उनका अनुसार एउटै कोठामा २३ जनालाई त्रिपालमाथि पिफर्म बिछ्याएर सुत्ने व्यवस्था गरिएको छ। खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले पनि क्‍वारेन्टाइन व्यवस्थापनमा समस्या भएको बताए।

क्‍वारेन्टाइनमा बसेकालाई स्थानीय तहसँग समन्वय गरी सम्बन्धित ठाउँमा पठाउने तयारी गरिएको उनले जानकारी दिए। क्‍वारेन्टाइनमा बसेका व्यक्तिले ज्वारोसमेत नाप्न नदिएका सो नगरका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए।

Comment


Related News

Latest News

Trending News