अपडेट 
२०७७ बैशाख १२, शुक्रबार १४:०५

काठमाडौं ।  सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ। विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ। विपदबाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा बढाउनका लागि सरकारले पहल गरिरहेको छ। त्यसमा निजी क्षेत्रले पनि साथ दिएको छ।
 
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र श्री एयरलाइन्सका सुधिर मित्तल तथा महासंघका कार्यकारिणी सदस्य सुधिर आचार्यलगायत पहलमा शुक्रबार कोरोना भाइरसको परीक्षणका लागि महत्वपूर्ण मानिएको पिसिआर किटलगायत अत्यावश्यक सामग्री आइपुगेको हो। ती सामान आयातका लागि सरकारको पहलमा निजी क्षेत्रको वायु सेवा कम्पनी श्री एयरलाइन्सले चार्टड उडान गरेको थियो। 

सिंगापुरको टेमासेक फाउन्डेसनले नेपाललाई कोरोना परीक्षणका लागि उपलब्ध गराएको मेडिकल सामग्री तथा गंगालाल अस्पताललाई जरुरी रहेको सामग्री चार्टड उडानमा ल्याइएको महासंघका कार्यकारिणी सदस्य आचार्यले जानकारी दिए। 
सरकारलाई प्राप्त भएको तथा निजी क्षेत्रको पहलमा जम्मा गरिएको सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। विमानस्थलमा आइपुगेको सबै स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराइसकिएको आचार्यले जानकारी दिए। 

सिंगापुरको टेमासेक फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री दिने जनाएको थियो। सरकारले राहत सामग्री लिनको लागि सिंगापुरतर्फ जहाज पठाउन विविध कारणले समस्या भएको थियो। त्यही समस्याको बीचबाट उद्योगी व्यवसायीको पहलमा नै अत्यावश्यक सामग्री ल्याइएको हो। 

आचार्यका अनुसार कूल १० हजार थान पिसिआर किट ल्याइएको छ। उपलब्ध गराउने कम्पनीकाअनुसार ती सामानको मूल्य एक लाख ६० हजार अमेरिकी डलर बराबरको रहेको छ। कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक मानिएका सामग्री ल्याउन व्यवसायीले पहल गरेको हो। यस्तै डा. भगवान कोइरालाको अनुरोधमा एजी परीक्षण किटसमेत ल्याइसकिएको छ। मुटु रोगको उपचारमा ती सामग्री जरुरी पर्दछ। मुटु रोगका उपचार गर्ने अस्पतालका प्रयोगशालामा एजी किट सकिएपछि डा. कोइरालाको अनुरोधमा अत्यावश्यक सामग्री ल्याइएको हो। संकटको समयमा सबैले आफूले सकेको सहयोग गरौं भन्ने ध्येयका साथ आफूहरुले ती सामग्री ल्याएको कार्यकारिणी सदस्य आचार्यले जानकारी दिए। 

नेपाललाई प्राप्त भएको अनुदानको पिसिआर रिजेन्ट ल्याउन श्री एयरलाइन्सको जहाज बिहिबार सिंगापुर उडेको थियो। श्रीको बम्बार्डियर सिआरजे–७०० सिंगापुर गएको थियो। बिहीबार साँझ नै उक्त जहाज फर्कने भनिएपनि केही ढिला गरी आज बिहान आइपुगेको हो।  फाउन्डेशनले नेपाललाई अनुदान दिने यी रिजेन्ट नेपाल ल्याउनका लागि श्री एयरलाइन्सले ३३ प्रतिशत भाडा आफैं ब्यहोर्ने भएको छ। पूर्व अध्यक्ष मुरारका, वरिष्ठ उपाध्यक्ष गोल्छा र श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले ३३/ ३३ प्रतिशत भाडा तिर्ने गरी ल्याइएको हो।

अनुदानको किट नेपाल ल्याउनकै लागिमात्र तीन हप्ता लागेको बताइएको छ। ‘विगत १५ दिनको लामो प्रयासपछि सामान ल्याउन सफल भइयो, हामीलाई असाध्यै खुसी तुल्याएको छ’ कार्यकारिणि सदस्य आचार्यले भने। यस्तै महासंघका पूर्व अध्यक्ष मुरारकाले पनि विपद्को समयमा आफूहरुले जिम्मेवारी बोध गरेर सामान ल्याउन पहल गरेको जानकारी दिए।

Comment


Related News

Latest News

Trending News